
News Summary
Generated by OK AI. Editorially reviewed.- बंगलादेश, नेपाल, भूटान र भारतको उत्तरपूर्वका सातवटा राज्यबीच जलविद्युत्, स्वास्थ्य सेवा र सडक पूर्वाधारमा सहकार्य आवश्यक छ।
- प्राध्यापक मुहम्मद युनुसले क्षेत्रीय एकीकृत आर्थिक योजनाले धेरै फाइदा ल्याउन सक्ने बताएका छन्।
- नेपाल र बंगलादेशबीच जलविद्युत् र शैक्षिक क्षेत्रमा सहकार्य र सम्बन्ध विस्तार गर्न चाहन्छ।
२९ वैशाख, ढाका । बंगलादेश सरकारका प्रमुख मुहम्मद युनुसले जलविद्युत्का क्षेत्रमा आर्थिक सहकार्य गर्न जरूरी रहेको बताएका छन् ।
बंगलादेश भ्रमणमा रहेकी प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानासँगको भेटमा उनले यस्तो बताएका हुन् ।
युनुसले भने, ‘बंगलादेश, नेपाल, भूटान र भारतको उत्तरपूर्वीमा रहेका सातवटा राज्यबीचको एकीकृत आर्थिक योजना आवश्यक छ, यसबाट हामीले छुट्टाछुट्टै भन्दा सँगै भएर धेरै फाइदा लिन सक्छौँ’, उनले भने ।
नेपाल र बंगलादेशबीच जलविद्युत्को क्षेत्रमा दरिलो सहकार्य गर्न सकिने उनको भनाइ थियो । गत अक्टोबरमा बंगलादेश–नेपाल–भारतमाझ नेपालबाट बंगलादेशमा भारतीय ग्रीडमार्फत ४० मेगावाट विद्युत् ल्याउनका लागि त्रिपक्षीय सहमति भएको थियो ।
उनले बंगलादेशले यस क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तारमा प्रतिबद्धताका साथ काम गरिरहेको पनि उल्लेख गरे । ‘हामीले रङ्गपुरमा सुरु गर्न लागेको एक हजार शय्याको अस्पतालको सेवा नेपाल र भुटानबाट आउने बिरामीका लागि पनि लक्षित छ, क्षेत्रीय सहकार्यबाट स्वास्थ्य क्षेत्रमा समृद्धि हासिल गर्न सकिन्छ’, उनले भने ।
त्यस अवसरमा उपसभामुख इन्दिरा रानाले विभिन्न क्षेत्रमा द्विपक्षीय सहकार्यका लागि नेपालको इच्छुक रहेको उल्लेख गरेकी थिइन् । ‘नेपालका सबै सांसदहरु बंगलादेशसँग नजिक रहेर काम गर्न चाहना राख्नुभएको छ, हामी दुई देशबीचमा आर्थिक सहकार्य र नागरिकस्थरमा सम्बन्ध विस्तारमा गम्भीर छौँ।’
उनले हाल बंगलादेशका मेडिकल कलेजमा दुई हजार सात सयभन्दा बढी नेपाली विद्यार्थी रहेको उल्लेख गर्दै यहाँको गुणस्तरीय शिक्षाको प्रशंसा गरिन् । साथै उनले यसमार्फत दुई देशबीचमा शैक्षिक सहकार्य पनि गर्न सकिने सम्भावना औँल्याइन् ।
दुवै पक्षबाट भौतिक अन्तरआबद्धताका विषयमा छलफल भएको उपसभामुख रानाको सचिवालयले जनाएको छ । प्रमुख सल्लाहकार युनुसले दुई देशबीच सडक सञ्जाल विस्तारबाट नेपालले उल्लेख्य मात्रामा व्यापारिक लाभ लिन सक्ने धारणा राखे ।
प्रतिक्रिया 4