Comments Add Comment

स्काउटको व्यापारिक भवनमा कांग्रेस सांसदको ‘बलजफ्ती’

करार सकिएपछि पनि न भवन छाड्छन् न त भाडा नै तिर्छन्

४ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका एक सांसदले नेपाल स्काउटको भवन जबर्जस्ती कब्जा गर्न खोजेको आरोप लागेको छ ।

dipak-khadka१० वर्षका लागि भाडामा लिएको भवनको करार सम्झौता सकिएपछि पनि भाडा नतिरी अटेर गरेर बसेपछि स्काउटले विधिसम्मत चल्न सूचना दिएको छ ।

संखुवासभा २ का सांसद दिपक खड्काको कम्पनी खड्काल्याण्डले लैनचौरस्थित नेपाल स्काउटको भवन दश वर्षका लागि लिजमा लिएको थियो । मूल सडकसँग जोडिएका सटरहरु रहेको भवनमा दर्जनौं पसल कबल छन् ।

१० वर्षअघि नेपाल स्काउटले प्रतिस्क्वायर फिट ४२ रुपैयाँको दरले करीव ७ हजार चार सय स्क्वायर फिट क्षेत्रफलको भवन खड्काल्याण्डसँग सम्झौता गरेको थियो । सम्झौताको अवधि गत भदौमा सकिएको स्काउट स्रोतले जनाएको छ ।

१० वर्षको बीचमा घरभाडा तेब्बरभन्दा बढी बृद्धि भइसकेकाले नेपाल स्काउटले खड्काल्याण्डसँगका सम्झौता अवधि सकिएपछि नयाँ भाडा लगाउन टेण्डर आह्वान गरेको थियो । तर, सांसद खड्काले भने आफ्नै कम्पनीलाई पुरानै भाडादरमा नविकरण गर्न स्काउट पदाधिकारीले दबाव दिएका छन् ।

स्काउटले आह्वान गरेको टेण्डरमा न्युनतम १२० रुपैयाँप्रति स्क्वायर फिट भाडा दर मागिएको छ । तर, सांसद खड्काले स्काउट पदाधिकारीलाई सो भवन आफूलाई पूरानै भाडादरमा नविकरण गराउन दबाव दिएका छन् ।

आफू कांग्रेसका शक्तिशाली सांसद भएकाले निहुँ नखोजी भवन नविकरण गर्न उनले पदाधिकारीहरुलाई दबाव दिएको स्रोतले जनाएको छ ।

सांसद खड्काले भने आफूले खड्काल्याण्ड कम्पनी छाडिसकेको बताए । ‘त्यो मेरै कम्पनी हो तर, अहिले म हेर्दिन, पसलवालाहरु अदालत गएका छन्,’ खड्काले अनलाइनखबरसँग भने, ‘स्काउटले नविकरण गर्नुपर्नेमा टेण्डर आह्वान गरेकाले समस्या भएको हो ।’

खड्काले त्यसो भने पनि उनको सांसद सम्पर्क कार्यालय स्काउटकै भवनमा छ, जहाँ कांग्रेसको चारतारे झण्डा पनि फहराएका छन् । भदौमा करार अवधि सकिएपछि उनले स्काउटलाई भाडा तिरेका छैनन् ।

पसल कवलहरुबाट स्काउटबाट लिएको भाडादरभन्दा तेब्बरसम्म भाडा उठाए पनि स्काउटलाई भने उनले भाडा नदिएको स्रोतले जनाएको छ । उनले टेण्डर निकालेकोमा आपत्ति जनाएका छन् ।

नेपाल स्काउटले भने १० वर्षपछि पनि पूरानै भाडादरमा बिना टेण्डर पूरानै कम्पनीलाई दिन नमिल्ने दावी गरेको छ । सांसद खड्काले धम्की दिएको र भाडा नतिरेको सम्बन्धमा स्काउटले खेलकुद मन्त्रालयलाई पनि जानकारी गराएको छ ।

स्काउटले टेण्डर आह्वान गर्न तीन सदस्यीय समिति गठन गरेको थियो । असोज २० गते गरेको टेण्डर आह्वानको आज कात्तिक ४ गते अन्तिम मिति हो ।

स्काउटले कात्तिक ५ गते टेण्डर खोल्ने कार्यक्रम रहे पनि अदालतबाट खड्काल्याण्डले अन्तरिम आदेश ल्याएकाले अर्को आदेश नभएसम्म नखोलिने समितिका संयोजक रामप्रसाद भट्टराईले बताए ।

उनले १० वर्षअघि ४२ रुपैयाँप्रति स्क्वायर फिट भाडामा लिएको कम्पनीलाई अहिले पनि सोही दरमा नविकरण गर्न नमिल्ने बताए । उनले भने, ‘दश वर्षमा बजारको भाडादर बढेको छ । प्रतिस्पर्धा नगराई पुरानै कम्पनीलाई दिन मिल्दैन । तर, उहाँहरुले हामीलाई नै देऊ भनिरहनुभएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment