Comments Add Comment

त्रिदेशीय साझेदारी आवश्यक-प्रधानमन्त्री दाहाल

इण्डिया फाउन्डेसनको कार्यक्रममा कसले के भने ?

Prachanda१८ कात्तिक, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको समृद्धि र विकासका लागि नेपालसहित भारत र चीनबीच त्रिदेशीय साझेदारी तीनवटै देशको हितका लागि आवश्यक रहेको दोहोर्‍याएका छन् ।

भारतका राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणको अवसर पारेर इण्डिया फाउण्डेशनको आयोजना एवं नीति अनुसन्धान फाउण्डेशन र नेपाल सेन्टर फर कन्टेम्पोररी स्टडीजको सहआयोजनामा सम्पन्न कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।

बुधबार पहिलो दिनको कार्यक्रममा दुई देशका प्रवुद्ध व्यक्तित्वहरु सहभागी थिए । ‘फष्ट बाइल्याटरल डाइलग नेपाल एण्ड भारतः एक्सप्लोरिङ्ग न्यू भिष्टास’ विषय सेमिनार उद्घाटन गर्दै प्रचण्डले त्रिदेशीय साझेदारीबाट तीनवटै देशले लाभ हासिल गर्न सक्ने बताए । उनले भने,”त्रिदेशीय साझेदारीबाट हामी सबैको हित छ ।”

भारत र चीनजस्ता उदीयमान शक्तिको बीचमा रहनु नेपालका लागि अवसर हो भन्दै त्यसबाट लाभ लिन सकिने प्रधानमन्त्रीले औंल्याए । उनले भने,”आर्थिक समृद्धितर्फ दु्रत गतिमा बढिरहेका भारत र चीनबाट नेपालले लाभ लिन सक्छ ।”

दुई देशको विकास नेपालका लागि उचित पाठ भएको प्रचण्डको भनाइ थियो । भारतसँग नेपालको देश देशबीचको मात्र नभई जन-जनबीचको सम्बन्ध रहेको भन्दै सम्बन्धलाई अझ सुदृढ र सशक्त बनाउन गम्भीरताका साथ लागेको प्रधानमन्त्रीले बताए ।

भारतबाट नेपालले उच्च प्रविधि, दक्ष जनशक्तिको प्रसारको आशा व्यक्त गर्दै प्रधानमन्त्रीले नेपाल अवसरको उर्वर भूमी भएको बताए । यसको सदुपयोगका लागि भारतको सहयोग अनिवार्य भएको उनले स्पष्ट पारे ।

नेपाल र भारतको इतिहास गौरवशाली घटनाले भरिएको विवेचना गर्दै विगतका सुन्दर क्षणलाई फर्काउन दुवै देशको दायित्वमा प्रचण्डले जोड दिए ।

शान्तिका अग्रदूत बुद्धका साथै महान् चिन्तकहरूको जन्मभूमिमा गरिबी र गम्भीर समस्याहरुसँग जुध्नुपर्ने अवस्था आएको भन्दै दुवै देश मिलेर परिवर्तन र समृद्धिको मार्ग निर्माण गर्नुपर्ने प्रधानमन्त्रीले बताए ।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले नेपालको शान्ति र विकासमा भारतले विगतमा गर्दै आएको सहयोगका लागि धन्यवाद व्यक्त गरे । भविश्यमा भारतीय सहयोग अझ प्रभावकारी हुने दाहालको विश्वास थियो । भारतसँग बढ्दो व्यापार घाटा कम गर्न भारतीय पक्षबाट पहकदमी हुने उनले आशा व्यक्त गरे ।

दुई देशका प्रबुद्ध समुदायले द्विपक्षीय हितका लागि वृहत छलफल गरी निष्कर्ष निकाल्ने दाहालको विश्वास थियो । उनले सरकारीस्तरमा मात्र नभई जनस्तरसम्म सम्बन्ध र द्वीपक्षीय हितको विषय प्राथमिकतामा पर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्राध्यापक लोकराज बरालले नेपाल र भारतबीचको सम्बन्ध राष्ट्रपति प्रणव मुखर्जीको भ्रमणले अझ प्रगाढ बनाउने बताए ।

सेमिनारका कन्भेनर पूर्व प्रमुखनिर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले दुई देशको सम्बन्ध प्रगाढ बनाउन सबैले आ-आफ्नो स्थानबाट भूमिका खेल्नुपर्ने बताए । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको भ्रमणले सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

नीति अनुसन्धान प्रतिष्ठानका प्रबन्ध निर्देशक दीपक अधिकारीले आपसी छलफल र बहसले दुई देशको हितका लागि उचित निष्कर्ष निकाल्ने उद्देश्य राखेको बताए ।

कार्यक्रममा पूर्वराजदुत डा. जयराज आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाललाई र बीजेपीकी नेपाल अध्यक्ष नलिनी ज्ञवालीले बीजेपी महासचिव राम माधवलाई ‘टोकन अफ लभ’ प्रदान गगरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment