३० कात्तिक, काठमाडौं । एशियाली फुटबल महासंघले आयोजना गरेको प्रतियोगितामा पहिलो पटक फाइनलमा स्थान बनाएको नेपाली टोली उपाधि जित्ने लक्ष्यसहित आज मकाउबिरुद्ध उत्रँदैछ ।
मलेसियामा जारी एएफसी सोलिडारिटी कपको फाइनलमा नेपालले आज मकाउसँग खेल्दैछ । मलेसियाको कुचिङस्थित सारावाक स्टेट रंगशालामा नेपाल र मकाउबीचको खेल आज साँझ सवा पाँच बजेदेखि सुरु हुनेछ ।
मकाउलाई पराजित गरी नेपाल एक बर्षको बीचमा अन्तर्राष्ट्रिय प्रतियोगिताको हृयाटि्रक गर्ने अभियानमा छ । यसअघि नेपालले गत माघमा बंगलादेशको बंगबन्धु गोल्डकप र भारतमा सम्पन्न साग गेम्स अन्तर्गत फुटबलमा स्वर्ण जितेको थियो ।
नेपालले मकाउसँग यसअघि ५ पटक खेलेको छ । जसमा तीन खेल नेपालले जितेको छ भने एक खेल बराबरीमा सकिएको छ । एक खेलको नतिजा मकाउको पक्षमा थियो ।
फाइनल अघिको पत्रकार सम्मेलनमा पनि नेपाली प्रशिक्षक ग्योतुकी कोजु टोलीको प्रदर्शनप्रति विश्वस्त देखिएका थिए । उनले खेलाडीले निक्कै मेहनत गरेको र आफुहरु उपाधि जित्न यहाँ आएको बताएका थिए ।
नेपालले समूह चरणमा एक जित र एक बराबरीको नतिजा निकाल्दै सेमिफाइनलमा स्थान बनाएको थियो । सेमिफाइनलमा लाओसलाई पेनाल्टीमा तीन शून्यले हराउँदै नेपाल उपाधि नजिक पुगेको थियो । नियमित र अतिरिक्त समयमा २-२ को बराबरी भएपछि खेल पेनाल्टीमा पुगेको थियो ।
यता मकाउले सेमिफाइनलमा ब्रुनाइलाई पेनाल्टीमै हराएर फाइनलमा स्थान बनाएको थियो ।
सेमिफाइनलसम्मको लक्ष्य लिएर मलेसिया आएको मकाउको टोलीका प्रशिक्षकले फाइनल दवावरहित भएर खेल्ने बताए । उपाधि जित्न सके यो मकाउ फुटबलका लागि ठूलो उपलब्धि हुने उनको धारणा थियो ।
प्रतिक्रिया 4