Comments Add Comment

वीर अस्पतालमा टिकट काट्न लाइन बस्नु नपर्ने

२ मंसिर, काठमाडौं । सरकारी स्वामित्वको वीर अस्पतालमा घण्टौं लाइनमा उभिएर टिकट काट्नुपर्ने अवस्थाको अन्त्य भएको छ । अस्पतालले ‘क्यू सिष्टम’ लागू गरेसँगै लाइनमा उभिनुपर्ने समस्याबाट बिरामी र कुरुवा मुक्त भएका हुन् ।

bir-hospital-ticket-counter
वीर अस्पतालको टिकट काउन्टर अगाडि भेला भएका विरामी र तिनका आफन्तहरु । फाइल तस्वीर

ओपीडिको टिकटका लागि अस्पतालमा डिजिटल डिस्प्ले बोर्ड राखिएको छ । टिकट काट्नका लागि कुपन लिनुपर्नेछ । त्यसपछि कुपनमा भएको नम्बर डिजिटल डिस्प्लेमा आएपछि विरामीले टिकट काट्न सक्ने व्यवस्था गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

कुपन लिएका विरामीका लागि बस्नका लागि कुर्सीहरुको व्यवस्था गरिएको छ, डिजिटल डिस्प्लेमा आफ्नो नम्बरको पालो नआउनजेल बिरामीले त्यहाँ आराम गर्न सक्ने छन् ।

यसअघि कुपन सिष्टम नहुँदा बिरामी घण्टौं लाइनमा बस्नुपर्ने बाध्यता थियो । जसका कारण विरामीहरुले ठूलो समस्या बेहोर्नु परेको थियो । वीर अस्पतालमा विरामीको चाप अत्याधिक हुँदा घण्टौं लाइन बस्दा समेत टिकट नपाउने समस्या रहेको थियो ।

स्वास्थ्यमन्त्री गगन थापा नियुक्त भएसँगै उनले वीरअस्पतालको अनुगमन गरेका थिए । उनले मोबाइलमा शौचालयको तस्वीर देखाएर यस्तो अवस्था नदेखाउन भनेका थिए । थापाले सरकारी अस्पतालमा हुने चापलाई मध्यनजर गर्दै सर्वसुलभ स्वास्थ्य पहुँचका लागि काम गर्न निर्देशन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment