Comments Add Comment

लोभी पापीको जालझेलले धरासायी बन्दै रामेछापको धोवी बजार

वन र खानेपानीदेखि रंगशाला र सडकको नाममा समेत भ्रष्टाचार

ramechhap-dhobi-bajar
रामेछापको धोबी

२ मंसिर, रामेछाप । भ्रष्टाचार गर्नेमा ठूला नेता वन ठूला सरकारी अधिकारीमात्र हुदैनन् । खान पाए अलकत्रा पनि नछाड्ने भ्रष्ट प्रवृति गाउँ तहसम्म फैलिएको कुरुप नमूना बनेको छ रामेछापको धोबी बजार ।

कुनै बेला रामेछापको १ नं क्षेत्रको क्षेत्रीय सदरमुकामको रुपमा प्रस्तावित धोबी डाँडा स्थानीय तह पुनसंरचनामा लिखु गाउँपालिकाको पनि प्रस्तावित केन्द्र हो । तर गाउँपालिकाको प्रस्तावित केन्द्र भ्रष्टाचार र विकृतिले धरासायी बन्दै गएको प्रस्तावित गाउँपालिकाका अन्य गाउँका जनतालाई थाहा नहुन सक्छ ।

जुवातास र जाँडरक्सीको विकृत बजारका रुपमा धोबी पहिलेदेखिनै प्रचलित ठाउँ हो । तर पछिल्लो समय राज्यको बजेट कामै नगरि खाने लोभाी पापीका कारण धोबी एकपटक फेरि अभिशप्त बनेको छ ।

हावापानी र प्राकृतिक सौन्दर्यले धोबी रमणीय लेक हो । तर धोवी बजार र आसपासको क्षेत्रमा अहिले सबैतिर वेथिति र अनियमितताका घटनाहरु एकैपटक सार्वजनिक भएपछि धोबी धरासायी भएको बुझ्न सकिन्छ ।

ramechhap-dhobi-1

धोवी क्षेत्रमा गएका विकास निर्माणका कामहरु न समयमा सम्पन्न भएका छन् । न भनेको ठाउँमा काम भएको छ । न त विकास बजेटको उचित सदुपयोग नै भएको छ । धोवी आसपासमा अहिले सबैतिर मनपरितन्त्र छ ।

राज्य कोषदेखि स्थानीय समुदायको कोषको रकम समेत हिनामिना भएको छ । एक ठाउँको लागि गएको बजेट अर्काे ठाउँमा खर्च गर्न मात्र हैन रकम नै खर्च नगरी हिसाव किताव मिलाउने देखि लिएर अरुको किर्ते हस्ताक्षर गरेर सरकारी कोषको रकम हिनामिन समेत गरेको पाइएको छ ।

अनियमितता १: रंगशालाको रकम गायव

बिजुलीकोट र नागदह गासिको सीमा रहेको डाँडा हो धोबी । धोवीमा रामेछाप जिल्लाको निर्वाचन क्षेत्र नं १ अन्तर्गतको क्षेत्रीय रंगशाला निर्माणको लागि जिल्ला खेलकुद विकास समिति मार्फत गएको आर्थिक वर्षमा ५ लाख ५० हजार रुपैयाँ निकासा भएका थियो ।

ramechhap-rangashala
क्रमागत रुपमा सञ्चालन हुने सो योजना निर्माणको लागि २०७२ साल मंसिर २८ गते सोमबहादुर तामाङको अध्यक्षतामा १३ सदस्सीय उपभोक्ता समिति गठन भएको थियो । धोवीको फापरवारीमा रंगशाला निर्माण गर्ने निर्णयका साथ सो समिति गठन भएका हो ।

रंगशाला निर्माणको लागि गत वर्ष खेलकुद मन्त्रालयले जिल्ला खेलकुद विकास समिति मार्फत ५ लाख ५० हजार रुपैयाँ उपलब्ध गराएको थियो । फापरवारीमा खेलमैदान निर्माण गर्ने निर्णय भएपनि झटेश्वर माविका नजिकै रहेको सानो चौर खारेर सो रकम खर्च गरिएको छ ।

रंगशाला बनाउने भनिएको ठाउँमा बुट्यान र घँगारुका काँडा उम्रिएका छन् । तर विद्यालयको प्राङ्गण नजिकैको चौर खारेर खेलमैदान बनाइएको छ । उपभोक्ता समितिका अध्यक्ष तामाङले कसैसँग सल्लाह नै नगरी उपभोक्ता समितिलाई समेत थाहा नै नदिई डोजर लगाएर मैदान खार्न लगाएको उपभोक्ता समितिका पदाधिकारीहरुको आरोप छ ।

उपभोक्ता समितिका उपाध्यक्ष रहेका तुलसी श्रेष्ठ आफूलाई समितिमा राखेको थाहा नभएको बताउँछन् । निर्णय पुस्तिकामा आफ्नो नाममा गरिएको हस्तारक्षर समेत आँफूले नगरेको उनको भनाई छ । उपभोक्ता समितिका सदस्य भुपेन्द्र खड्का पनि आफूलाई समितिमा राखेको कुरा थाहा नभएको र आफ्नो नाममा गरिएको हस्ताक्षर किर्ते भएको बताउँछन् ।

समितिकै सदस्य रहेका लिलाबहादुर बस्नेतले पनि आफूलाई सदस्यमा राखेको कुरा थाहा नभएको बताए । उपभोक्ता समिति गठनको लागि गरिएको भेलामा उठाइएको निर्णय पुस्तिकामा गरेको हस्ताक्षर समेत किर्ते भएको स्थानीयको आरोप छ ।

विद्यालयको छेउमै खेल मैदान खारिएको भए पनि त्यसबेला विद्यालयसँग कुनै समन्वय नगरिएको झटेश्वर माविका प्रअ केवल तिमल्सिनाको भनाई छ । सामुदायीक वनको क्षेत्रभित्रि रहेकेा सो जग्गा विद्यालयले हकभोगको लागि माग गरी रहेको भए पनि बनले नदिएको तर एकाएक मैदान खारिएको उनले बताए ।

यस विषयमा घटनास्थलमा नै पुगी स्थानीयसँग छलफल गर्न खोज्दा स्थानीय भेला भए पनि उपभोक्ता समितिका अध्यक्ष सोमबहादुर भने सम्पर्कमा आउन चाहेनन् । उनी मोवाइल समेत बन्द गरेर बसेका थिए । पत्रकार आएको थाहापाएपछि उनी धोवी बजारबाट हिँडेको स्थानीयको आरोप छ ।

सबै पैसा जेसिबि मेशिनलाई

रंगशाला निर्माणको लागि गएको ५ लाख ५० हजार रुपैयाँको सबै काम जेसिबि मेशिन लगाएर खर्च गरिएको देखाइएको छ । जिल्ला विकास समिति रामेछापले तयार गरेको सो लागत स्टमेट र खर्चलाई जिविसका इञ्जिनियर सरोज आचार्यले प्रमाणित गरेका छन् । सो काम गरे वापत जेसिबि मेशिनका सञ्चालक शंकर थापाले एकमुष्ट ५ लाख ५० हजार रुपैयाँ बुझेको भरपाई गरिएको छ ।

अनियमितता २: जंगलमा कालोपत्रे

धोवी बजार क्षेत्रको एक किलोमिटर सडक पिच गर्नको लागि गत आर्थिक वर्षमा बजेट निकासा भयो । सडक डिभिजन मार्फत गएको सो बजेटबाट सडक पिच त गरियो तर धोवी बजारमा हैन, बजार भन्दा एक किलोमिटर टाढा सैपु तर्फ जाने सडकको सेपिलो जंगल क्षेत्रमा ।

pitch-road

बजार एकातिर पिच अर्काेतिर किन यसो गरिएको भन्दा स्थानीयवासीहरु राजनीतिक दलका प्रतिनिधिहरु जान्दछन् भन्ने जवाफ दिन्छन् ।

बजार क्षेत्रमा सोलिङ गरिएका ढुङ्गामा बच्चालडे भने टाउको फुट्ने अवस्था छ । तर एकान्त जंगलमा लगेर पिच गरिएको छ । त्यो पनि बलियो भए त हुन्थ्यो काम नसक्दै पिच उक्किन लागेको छ ।

नालि भत्किएको छ । नालि बनाउन प्रयोग गरिएको मसलामा सिमन्टको प्रयोग नै भएको छैन । त्यस माथि पर्खालमा पानी नहाल्दा सबै बालुवाको पर्खाल बनेको छ ।

राजनीतिक दलका प्रतिनिधिहरु बन्द कोठामा बसेर निर्णय गर्ने र त्यसको बारेमा कसैलाई जानकारी नदिनुको परिणति यस्तो भएको बिजुलीकोट गाविसका पूर्व गाविस अध्यक्ष समेत रहेको कमलबहादुर खड्का बताउँछन् ।

अनियमितता ३: प्रहरी चौकी

dhobi-police

बिजुलीकोट र नागदह गाविसको सिमानामा पर्ने धोवी बजारमा इलाका प्रहरी कार्यालय छ । बजार क्षेत्रमा व्यक्तिको घर भाडामा लिएर बसेको प्रहरीलाई व्यवस्थित बनाउन नेपाल सरकारको लागानिमा अत्याधुनिक पक्कि भवन निर्माण भएको छ ।

२ वर्ष अघि नै पुरागर्नुपर्ने सो भवनको काम ठेकेदार कम्पनिले समयमा नै नगरिदिँदा अहिले पनि प्रहरी भूकम्पको कारण जिर्ण बनेको छाप्रे घरमा नै कोचिएर बस्न वाध्य छ ।

police-building

इलाका प्रहरी कार्यालय धोवीका प्रमुख हरिकृष्ण के.सी. भवन निर्माणको काम पुरा नभएकोले प्रहरी आफ्नो भवनमा सर्न नपाएको बताउँछन् । रंगरोगन तथा अन्य केही फिनिसिङको काम बाँकि रहेको उनले बताए ।
अनियमितता ४: कवुलियती वन अरुकै धन

वनको साविकको अवस्थामा सुधार गरी त्यसबाट आयआर्जन गर्नको लागि विपन्न समुदायका उपभोक्तालाई कवुलियती वन सरकारले हस्तान्तरण गर्ने गर्दछ । तर धोवी बजार नजिकैको कवुलियती वन भने ढुङ्गा झिक्न प्रयोग गरिएको छ ।

ramechhap-kabuliyat-ban

कवुलियति वनबाट ढुङ्गा झिक्न कतैबाट अनुमति लिएको छैन । धोवी बजारमा नै इलाका वन कार्यालय छ । इलाका वन कार्यालयको आँगनबाट देखिने गरी ढुङ्गा निकालिएको छ । वन कार्यालयकै आँगनबाट ढुङ्गा बोकेर ट्रक र ट्याक्टर गुड्छन् तर त्यसमा वन कर्मचारीको कुनै ध्यान पुगेको छैन ।

अनियमितता ५: खानेपानीको मुहानमै घप्ला

बिस्तारै शहरीकरण भइरहेको धोवी बजारमा खानेपानीको हाहाकार छ । स्थानीयहरु खानेपानीलाई तेल झै बचत गर्छन् । गतसाल आएको भूकम्पले खानेपानीको मुहान विगारेपछि पानीको अझ समस्या भयो ।

सो मुहान मर्मतको लागि जिविसले गतसाल १ लाख रुपैयाँ उपभोक्ता समितिलाई पठायो । तर त्यो रकम आएको र खर्च भएको बारे समेत समितिका अध्यक्ष बाहेक अरुलाई थाहा नभएको उपभोक्ता समितिका सचिव साजनकुमार तामाङ बताउँछन् ।

‘मुहानमा केही टालटुल गर्ने काम त भएको छ । कति पैसा आयो, कति खर्च भयो । समितिमा छलफल भएको छैन । बैठक बोलाउन भन्दा अध्यक्षले बैठक समेत बोलाएका छैनन् । काम गर्ने मानिसहरु पनि पैसा पाएको छैन भन्दैछन्’ उनले भने ।

अनियमितता ६: घुम्ती कोषमा घोटाला

अनियमितता एक ठाउँमा मात्र हैन ठाउँठाउँमै छ । गरिबी निवारण कोषले विपन्नहरुको आय आर्जनको लागि भनेर स्थानीय समुदायमा दिएको रकम समेत अगुवा र टाठाबाठाले नै मासि दिएका छन् ।

सामुदायीक संस्थाको घुम्ति कोषमा रहेको पैसा मखमली सामुदायीक संस्था नागदह ८ धोवीका अध्यक्ष अम्बरबहादुर खड्का आफैले चलाएका छन् । सबैलाई पालैपालो लगानी गरी घुम्ती कोषमा फिर्ता गर्नुपर्ने सो कोषको ५० हजार भन्दा बढी रकम अध्यक्ष आफैले मासेका छन् ।

रकम फिर्ता गर्न ताकेता गर्दा समेत उनले कोषमा रकम फिर्ता नगरेको गरिवी निवारण कोषको साझेदार संस्था जनशक्ति विकास कार्यक्रम गोल्माटारका निर्देशक रोशन पाखि्रन बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment