Comments Add Comment

पैंताला चिसो भइराख्छ ? घरेलु विधि अपनाउनुस्

home-remedies-for-cold-feet३ मंसिर, काठमाडौं । जाडो मौसममा शरीरमा चिसो गढेर सताउने गर्छ । त्यसमा पनि चिसो पैंताला हत्तपत्त नतात्दा निकै असहज हुन्छ । रक्त सञ्चार राम्रोसित नहुने व्यक्तिहरुमा पैंताला नतात्ने समस्या हुन्छ ।

तपाईंको पैंताला त्यतिबेला चिसो हुन्छ, जब पर्याप्त अक्सिजनको अभावमा खुट्टामा रक्त सञ्चार कम हुन्छ । रक्त सञ्चार राम्ररी हुनासाथै शरीर फेरि तात्न थालिहाल्छ ।

लामो समयसम्म खुट्टा चिसो हुने समस्याले शरीरमा रक्तअल्पता, मुटुरोग, थाइरोइड, मधुमेह, खुट्टा काँप्ने रोग लगायतका समस्या निम्त्याउन पनि सक्छ । खुट्टाको रङमा परिवर्तन आएमा, खुट्टाका मांसपेशी कडा भएमा, छालाका छिद्र खुलेमा, हातखुट्टा कडा भएमा, छोएको थाहा नभएमा तुरुन्तै चिकित्सकसँग सम्पर्क गर्नुपर्छ ।

चिसो मौसममा यत्तिकै पनि सबैको हातखुट्टा चिसो हुन्छ । अझ त्यसमा कुुपोषण, अत्यधिक धूमपान तथा मद्यपानले पैंतालालाई चिसो बनाउन योगदान गर्छ । पैंताला निरन्तर चिसो भइरहेमा चिकित्सकको परामर्श लिनु उचित हुन्छ । अन्यथा, सामान्य अवस्थामा घरेलु उपचारले पनि समस्या निर्मुल गर्छ ।

तातो तेलको मालिस

पैंतालामा तेलको मालिस नै खुुट्टालाई तातो बनाएर रक्त सञ्चार प्रवाहलाई प्रभावकारी बनाउने अचुक उपाय हो । हरेक दिन पैंतालामा तेलको मालिस गरेमा खुट्टालाई बलियो बनाउनुका साथै हामीलाई विभिन्न रोगबाट बचाउँछ ।

– तोरीको तेल, तिल वा नरिवलको तेललाई हल्का तताउने ।

– यसलाई चिसो पैंतालामा मज्जाले दल्ने । करिब दश मिनेटसम्म पैंताला, कुर्कुच्च र औंलाका वरिपरि मसाज गर्ने ।

– मसाजपछि खुट्टामा तुरुन्तै सुती कपडा बेर्ने वा मोजा लगाउने ।

– राति सुत्नुभन्दा केही बेर अगाडि दिनहुँ यो प्रक्रिया अपनाउने ।

हाइड्रो थेरापी (तातो पानीको मसाज)

घरैमा हाइड्रोथेरापी गरेमा चिसो पैंतालालाई तातो बनाउन सकिन्छ । यसको लागि चिसो र तातो दुवै खालको पानी चाहिन्छ । किनकि तातो पानीले रक्त सञ्चारलाई तीव्र बनाउँछ भने चिसो पानीले विभिन्न रोगका लक्षण हटाउन मद्दत गर्छ ।

–  दुई वटा बाटामध्ये एउटामा चिसो पानी र अर्कोमा तातो पानी हाल्ने ।

– करिब दुई मिनेटसम्म चिसो पानीमा पैंताला डुबाइराख्ने ।

–   त्यसपछि एक मिनेटसम्म तातो पानीमा डुबाउने ।

– पैंतालालाई आराम नमिलेसम्म  यो प्रक्रियालाई करिब बीस मिनेटसम्म दोहोर्याइराख्ने ।

– त्यसपछि पैंतालालाई सुख्खा बनाएर सुतीको मोजा लगाउने ।

पैंताला डुबाउनुअघि उक्त पानीमा अदुवाको केही थोपा रस, रोजमेरी, पुुदिनाको प्रयोग गर्न पनि सकिन्छ ।

खुट्टाको व्यायाम

निरन्तर व्यायाम गर्दा पनि खुट्टामा रक्त सञ्चार प्रवाह प्रभावकारी बनाएर पैंताला तताउन सकिन्छ । खुट्टाको व्यायाम यसरी गर्न सकिन्छः

तरिका नम्बर १

– कुर्कुच्चाको भाग उठाउँदै औंलाको सहारामा करिब एक मिनेट सीधा उभिने । विस्तारै पैंतालालाई भुइँमा राख्ने ।

–  यो प्रकृया दश मिनेटसम्म दोहार्याउने ।

तरिका नम्बर २

– कुर्सीमा बसेर पैंतालालाई पहिले घडीको सुई घुम्ने दिशामा र त्यसपछि उल्टो तरिकाले करिब दशदेखि बीस मिनेटसम्म घुमाउने ।

तरिका नम्बर ३

–  भुइँमा रुमाल वा कपडाको टालो झारेर त्यसलाई खुट्टाको औंलाले च्यापेर टिप्ने । यो प्रक्रिया केही समय दोहोर्याइराख्ने ।

फिटकीरी

पैंतालाको स्याहार गर्ने अर्को सजिलो उपाय भनेको फिटकिरीको प्रयोग हो । जाडो मौसममा हात–खुट्टा चिसो हुनुमा म्याग्नेसियम तत्वको कमी पनि प्रमुख मानिन्छ । फिटकिरीले शरीरलाई म्याग्नेसियम प्रदान गर्छ ।
–       एक बाटा तातो पानीमा एक चौथाइ फिटकिरी मिसाएर घोल्ने ।
–       अब त्यो पानीमा खुट्टालाई १५–२० मिनेट डुबाइराख्ने ।
–       यो प्रक्रिया हप्तामा कम्तीमा दुई पटक दोहो¥याउने ।

अदुवा

अदुवाले शरीरको रक्त सञ्चार तीव्र गर्न मद्दत गर्नुका साथै चिसो लाग्नबाट जोगाउँछ । साथै अदुवाले रगत जम्न समेत दिँदैन ।

–  एक चिया चम्चा काटेको अदुवालाई दुई कप पानीमा करिब १० मिनेट डुबाएर राख्नुस् । अब त्यसमा अलिकति मह मिसाएर दिनमा २\३ पटक सेवन गर्नुहोस् ।

– एक भाँडो पानीमा अलिकति अदुवा हालेर त्यसलाई केही समय उमाल्नुस् । त्यसलाई सेलाउन दिनुस् । अब सो घोलमा करिब १५ मिनेट आफ्नो खुट्टालाई डुबाउनुस् ।

– अदुवा प्रयोग गरिएका औषधिको सेवनले पनि तपाईँलाई फाइदा गर्छ ।

ग्रीन टी

चिसो पैंतालाको उपचारका लागि ग्रीन टी पनि लाभदायक मानिन्छ ।  दैनिक ग्रीन टीको सेवनले शरीरमा राम्ररी रक्त सञ्चार गराउँछ ।

– दैनिक २/३ कप ग्रीन टीको सेवन गर्ने ।

– एउटा ठूलो भाँडामा तातो पानी हालेरमा त्यसमा ग्रीन टीको ३\४ वटा ब्याग दश मिनेटसम्म भिजाउने । त्यो पानीमा करिब दश मिनेट खुट्टा डुबाएर राख्दा पनि चिसो पैंतालालाई राहत मिल्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment