Comments Add Comment

प्रधानमन्त्री कार्यालयको प्रगतिः फोन उठाउने काम गरियो !

मुख्यसचिवले दैनिक २० जनाका दरले भेटघाट गर्नुभो !

Pm-office१० मंसिर, काठमाडौं । तपाईले आफ्नो दैनिकी वा बार्षिकी लेख्ने गर्नुभएको छ ? पछिल्ला दिनहरुमा दैनिकी नलेख्ने वा लेख्न नभ्याउने कतिपयले बार्षिकी पनि लेख्ने गरेका छन् । एक बर्षमा के कति प्रगति गरियो ? के–के गर्न सकिएन ? त्यसको समीक्षा गरिएको हुन्छ बार्षिकीमा ।

विश्वास गर्न गाह्रो होला, प्रधानमन्त्री कार्यालयको बैशाखदेखि असारसम्मको तीन महिने प्रगति विवरणमा प्रमुखताका साथ लेखिएको छ, ‘मुख्य सचिवको सचिवालयबाट मात्र दैनिक करिब २ सय ७५ फोनका दरले तीन महिनामा करिब २० हजार पटक टेलिफोन उठाउने र फोन गरियो ।’

यस्तो विषयलाई कुन अर्थमा प्रधानमन्त्री जस्तो कार्यकारी कार्यालयको प्रगति विवरणमा पर्न गयो ?

यस्तै अर्को नम्बरमा भनिएको छ, ‘मुख्यसचिवले दैनिक करिब २० जनाका दरले तीन महिनामा १६०० सँग भेटघाट गर्नुभयो ।’ यो प्रगति पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पालामा प्रधानमन्त्रीको कार्यालयले हासिल गरेको हो ।

तीन महिनामा दैनीक करिब ७ वटाका दरले एक हजार गुनासा भएका थिए, त्यस उपर टेलिफोन गरि समस्या समाधानका लागि जोड दिइएको कुरा पनि प्रधानमन्त्री कार्यालयको प्रगति विवरणमा उल्लेख छ ।

यतिसम्म की विभिन्न व्यक्ति र संस्थाबाट मुख्य सचिव समक्ष मासिक करिब १५ वटा शुभकामना मन्तव्य\सिफारिस आदि दिन माग हुन्छ र निकायलाई त्यस्ता शुभकामना उपलब्ध गराइन्छ । त्यस्ता विषयलाई पनि प्रधानमन्त्री कार्यालयले गर्वको विषय बनाएर प्रगति ठानिरहेको छ ।

गत बैशाखदेखि असारसम्म मुख्य सचिवलाई विभिन्न संचारमाध्यममा आएका समाचारका बारेमा जानकारी गराइयो र त्यसको आवश्यकता अनुसार मुख्य सचिवले निर्देशन, छानवीन गर्न निर्देशन दिए । तीन महिनामा २ सय ५० वटा यस्ता निर्देशनहरु गएका थिए, प्रधानमन्त्री कार्यालयले यही विषयलाई पनि प्रगति ठानेर आफ्ना वेभसाइटमा गर्वका साथ उल्लेख गरेको छ ।

प्रगति विवरणमा लेखिएको छ, ‘मख्य सचिवबाट तीन महिनामा १५ वटा विदेशी निकायसँग भेटघाट भयो ।’ त्यो भेटले के भयो त ? यस्ता विषयमा केही नलेखी भेट भयो मात्र लेखिएको छ ।

‘विहान सिरक पल्टाएर विस्तारै उठेँ, कपडा लगाएँ, ढोका खोलेँ, हरेक सिँडीहरुमा टेक्दै बाथरुम पुगेँ…. ’ भने जस्तै देशको कार्यकारी निकाय प्रधानमन्त्रीको कार्यालयको प्रगति प्रतिवेदनमा उल्लेख छ ।

तीन महिनामा प्रधानमन्त्रीको कार्यालयले यतिमात्र गरेन, फ्याक्स मार्फत प्राप्त पत्रहरु सम्वन्धित शाखा\महाशाखामा पठायो र मुख्य सचिवले दिएको निर्देशन अनुसार कामको प्राथमिकता तोक्ने काम प्रधानमन्त्रीको कार्यालयले गरेको छ ।

प्रधानमन्त्री कार्यालयभित्र विभिन्न महाशाखाहरु छन् । त्यसमध्ये आन्तरिक प्रशासन सुधार महाशाखाको सबैभन्दा महत्वपूर्ण सुधारको काम हेर्नुस्, ‘क्षमता विकास कार्यक्रमअन्र्तगत २२ जना कर्मचारीहरुलाई हलुका सवारी चालक तालिम प्रदान गरिएको ।’ यस्ता विषयलाई समेत प्रगती मानिएको छ । प्रधानमन्त्री कार्यालयको वेभसाइटमा राखिएको प्रगतिविरणको ९ नम्बर पृष्ठमा यी विषय उल्लेख छ ।

प्रधानमन्त्रीको कार्यालयको मुख्य उपलब्धी यस्तो पनि छ की, ‘क्षेत्रीय विकासमा क्षेत्रीय प्रशासनको कार्यालयको भूमिका विषयक छलफल कार्यक्रम आषाढ महिनामा पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालय धनकुटामा गरियो ।’

के गर्‍यो, जनताका लागि ?

तीन महिनामा प्रधानमन्त्रीको कार्यालयले गरेको प्रगतिलाई ३२ पृष्ठ लामो प्रतिवेदनमा उतारिएको छ । तर उक्त प्रतिवेदनको कुनैपनि पानामा जनताको दैनिकी सहज गर्न के गरियो भन्ने उल्लेख छैन । कार्यालयको दैनिक प्रशासनिक काम बाहेक कुनै पनि थप काम नभएको प्रतिवेदनमा उल्लेख छ ।

प्रधानमन्त्री कार्यालयले ठूला विकास आयोजनाको कामको अनुगमन गरि सहजीकरणमा जोड दिन्छ । तर प्रतिवेदनमा त्यस्ता विषय उल्लेख गरिएको छैन । राष्ट्रिय गौरवका आयोजनाहरु तोकिएको समयमा सम्पन्न हुन नसक्दा नागरिकको दैनीकी कष्टकर बन्दै गइरहेको विषयमा समेत प्रतिवेदनको ध्यान पुगेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment