+
+

सीमांकनको विरोधमा कहाँ के भयो ? उप्रधानमन्त्री महरा बाटैमा रोकिए

राजधानीमा एमालेका युवाले सरकारी गाडी तोडफोड गरे

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर १५ गते १९:१९
uml-protest
नयाँबानेश्वरमा एमाले कार्यकर्ताहरुको निशानामा परेको सरकारी गाडी

१५ मंसिर, काठमाडौं । संविधान संशोधन प्रस्तावको विरोधमा बुधबार पश्चिम नेपालमा आन्दोलन चर्किएको छ । दाङ, प्यूठान, रोल्पा, कपिलवस्तु, अर्घाखाँची, रुपन्देही, नवलपरासी, गुल्मी र पाल्पा जिल्लामा आन्दोलन उठेको छ । यसैक्रममा रोल्पाबाट दाङ झर्दै गरेका उपप्रधानमन्त्री कृष्णबहादुर महरा पुनः रोल्पातिरै फर्किन बाध्य भएका छन् ।

प्यूठानमा उपप्रधानमन्त्रीलाई अवरोध

सीमांकन हेरफेरको विरोधमा बुधबार प्यूठान बन्द गरिएको थियो । ५ नम्बर प्रदेशमा रहेको प्यूठानलाई संशोधनमार्फत् ४ नम्बर प्रदेशमा गाभिएपछि प्यूठानबासीले संघर्ष समिति गठन गरी आन्दोलन गरेका हुन् ।

puthan-banda
प्यूठानमा गरिएको विरोध प्रदर्शन

एकहप्ता अघिदेखि सांकेतिक विरोध प्रदर्शन गर्दै आएका उनीहरुले बुधबार जिल्ला बन्दको घोषणा गरेका थिए ।

ब्यक्तिगत कामको सिलसिलामा गृहजिल्ला रोल्पा पुगेका उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महरा प्यूठान बन्द भएका कारण वीचबाटोबाट पुनः रोल्पा नै फर्किएका थिए । महरा होलेरीको बाटोबाट दाङ हुँदै जिल्लाबाट बाहिरिएका थिए ।

प्यूठान बन्दका कारण सदरमुकाम खलंगासहित विजुवार, बाग्दुला लगायतका बजार क्षेत्र बुधबार सुनसान रहे । शिक्षण संस्था, यातायात सबै ठप्प हुँदा जनजीवन अस्तव्यस्त बन्यो ।

सत्तारुढ नेपाली कांग्रेसका पूर्वसांसद मुक्तिप्रसाद शर्मा नेतृत्वको संयुक्त संघर्ष समितिले प्यूठानको आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको छ ।

रोल्पामा पनि विरोध

रोल्पामा निकालिएको मोटरसाइकल र्‍याली । तस्वीर: जीबन डाँगी
रोल्पामा निकालिएको मोटरसाइकल र्‍याली । तस्वीर: जीबन डाँगी

यसैगरी रोल्पामा पनि सीमांकन हेरफेरको विरोधमा आन्दोलन देखा परेको छ । बुधबार रोल्पालीहरुले सदरमुकाम लिवाङमा मोटरसाइकल र्‍याली निकाले ।

पत्रकार जीवन डाँगीका अनुसार खुल्लामञ्चबाट सुरु भएको मोटरसाइकल र्‍याली रेउघा हुँदै पुनः टुँडिखेलमा आएर कोणसभामा परिणत भएको थियो ।

संशोधित सीमांकनको विरोधमा बिहीबार रोल्पा र प्यूठानको सीमा क्षेत्र चतुर्भूजमा दुबै जिल्लाको संयुक्त जनसभा गर्ने घोषणा गरिएको छ ।

गुल्मी, अर्घाखाँची र पाल्पामा बन्द घोषणा

संविधान संशोधन प्रस्ताव दर्ताको विरोधमा गुल्मीमा अनिश्चितकालीन बन्द घोषणा गरिएको छ ।

बन्दमा सत्तारुढ कांग्रेस र माओवादी केन्द्र तथा प्रमुख प्रतिपक्षी एमाले लगायत सबै दलहरुले समर्थन जनाएका छन् ।

गुल्मी उद्योग वाणिज्य संघको पहलमा तम्घासमा भएको सर्वपक्षीय भेलाले अनिश्चितकालीन जिल्ला बन्दको घोषणा गरेको छ ।

गुल्मीमा भएको विरोध प्रदर्शन
गुल्मीमा भएको विरोध प्रदर्शन

आन्दोलनकारीले बुधबार बिहानैदेखि विरोध प्रदर्शन गर्दै सदरमुकाम तम्घाससहितका प्रमुख बजार, यातायात र शिक्षण संस्था ठप्प पारेका थिए ।

पाँच नम्बर प्रदेशका पहाडी जिल्लाहरुलाई चार नम्बरमा राखिएको विरोधमा अर्घाखाँची जिल्लामा पनि अनिश्चितकालीन बन्द आह्वान गरिएको छ । उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठका अनुसार जिल्लामा क्रियाशील सबै राजनीतिक दलहरुको समर्थनमा बन्द आह्वान गरिएको हो ।

बन्दका कारण बुधबार लामो तथा छोटो दुरीमा चल्ने गाडीहरु चल्न सकेनन् भने पसल, उद्योग, कलकारखाना, शिक्षण संस्था सबै ठप्प रहेको पत्रकार विष्णुकुमार आलेले जानकारी दिए ।

पाल्पामा आउँदो १८ गते जिल्ला बन्द आह्वान गरिएको छ । आन्दोलनको स्वरुप तय गर्न बुधबार बिहान पाल्पा सदरमुकाम तानसेनमा सर्बदलीय सर्बपक्षीय बैठक बसेको थियो ।

सो बैठकमा माओवादी केन्द्रका प्रतिनिधि भने सहभागी भएनन् ।

तराईका दाङ, रुपन्देही र नवलपरासी पनि आन्दोलित

पाँच नम्बर प्रदेश टुक्राइएको विरोधमा दाङमा बुधबार एक घण्टा चक्काजाम गरिएको थियो । एमाले निकट युवा संघको अगुवाइमा बिहान १० बजेदेखि ११ बजेसम्म चक्काजाम गरिएको हो ।

butawal-banda-3
बुटवलमा गरिएको विरोध प्रदर्शन

पाँच नम्बर प्रदेश टुक्राइएको विरोधमा एमाले निकट अनेरास्ववियुले रुपन्देहीको बुटवलमा प्रदर्शन गर्दै चक्काजाम गरेको छ । चक्काजामका कारण बुधबार दिनभर गाडीहरु चल्न सकेनन् । उनीहरुले सडकमा टायर समेत बाले । भैरहवामा मध्यान्ह १२ बजेदेखि १ बजेसम्म चक्काजाम गरिएको थियो ।

संशोधन प्रस्तावको विरोधमा नवलपरासीका बर्दघाट, सुनवल, भुमही लगायतका स्थानमा स्थानीयले प्रदर्शन गरेका छन् । प्रदर्शनका कारण पूर्वपश्चिम राजमार्ग ठप्प भयो । तर, सदरमुकाम परासीमा भने प्रदर्शन भएको छैन ।

काठमाडौंमा एमालेका युवाको तोडफोड

काठमाडौंको नयाँबानेश्वरमा प्रदर्शनमा उत्रिएका एमाले निकट युवासंघ र अनेरास्ववियुले सरकारी गाडीमा तोडफोड गरे । उनीहरुले सडकमा टायर बालेर यातायात अवरुद्ध पारे ।

टाउकोमा कालोपट्टी बाँधेर प्रदर्शनमा उत्रिएकाहरुले संविधानको संशोधन विधेयकसमेत जलाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?