Comments Add Comment

निरन्तर उपेक्षाको परिणामः जितविहीन नेपाली महिला क्रिकेट

nepali-womens-cricket-team
१७ मंसिर, काठमाडौं । एक समय थियो नेपाली क्रिकेटमा पुरुषको तुलनामा महिला टोलीको स्तर निक्कै माथि थियो । एशियाली स्तरको प्रतियोगितामा नेपाल एशोसियट मुलुकहरुमध्ये सधैं उत्कृष्ट मानिन्थ्यो ।

तर घरेलु क्रिकेटमा महिला टोलीलाई निरन्तर उपेक्षा गरिँदा अन्तर्राष्ट्रिय सहभागितामा उल्लेख्य प्रदर्शनको अपेक्षा गर्नु पनि निरपेक्ष हुन जान्छ ।

थाइल्याण्डमा भएको एसिया कप महिला टि-ट्वाटी क्रिकेटमा नेपाल जितबिहीन भयो । चार टेष्ट टोली सम्मिलित प्रतियोगितामा नेपालको प्रदर्शन बिर्सनलायक रहँदा महिला क्रिकेटमा नेपाल ओरालो लाग्दै गरेको प्रतबिम्बित हुन्थ्यो ।

प्रतियोगिताका लागि नेपालले मात्र दुई साताको प्रशिक्षण गरेको थियो । नेपाली क्रिकेटको सर्बोच्च संस्था नेपाल क्रिकेट संघ क्यान निलम्बनमा रहँदा अन्तर्राष्ट्रिय सहभागिताको जिम्मा लिएको आइसीसीले टोलीलाई बन्द प्रशिक्षणमा बोलाउनै ढिला गर्‍यो ।

टेष्ट राष्ट्रका टोलीबिरुद्धको खेलका लागि नेपालको प्रशिक्षण मुस्किलले १५ दिनको थियो । त्यसअघि आइसीसी महिला विश्वकपको एसियाली छनौटका लागि पनि नेपालको तयारी पर्याप्त थिएन ।

vinay-kumar-jhaक्रिकेट विश्लेषक तथा अम्पाएर बिनयकुमार झा नेपालको प्रदर्शन कमजोर रहनुमा तयारीको अभावलाई नै मुख्य मान्छन् । उनी भन्छन्, ‘हामीले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुनुअघि पर्याप्त तयारी गर्न सकेनौं, वास्तवमा महिला क्रिकेटप्रति कसैको सहानुभुतिनै भएन ।’

उनले थपे, ‘त्यसमा पनि २/३ बर्षदेखि घरेलु प्रतियोगिता नै भइरहेको छैन भने कसरी राम्रो प्रदर्शनको अपेक्षा गर्न सकिन्छ ?’

६/७ बर्षअघिसम्म नेपाल एशोसियट मुलुकहरुमा उत्कृष्ट मानिन्थ्यो । अन्तर्राष्ट्रिय प्रतियोगितामा खाली हात हुनुपरेको थिएन ।

तर, अहिले समय फेरिएको छ । त्यतिबेला नेपालले सजिलै हराउने टोलीहरुले नेपाललाई हराउन थालेका छन् । दुई महिनाअघिको विश्वकप छनौटमा नेपाल थाइल्याण्डसँग दुवै खेलमा पाराजित भयो भने हङकङलाई पनि नेपालले जित्न सकेन । केहि बर्षअघिसम्म निक्कै कमजोर मानिने चीनलेसमेत नेपाललाई कडा टक्कर दियो ।

बिश्लेषक झा भन्छन्, ‘महिला क्रिकेटलाई गरिएको उपेक्षाको प्रतिफल हो यो । हामीले महिला क्रिकेटमात्र हेर्ने संरचनाको बिकास नगरेसम्म महिला क्रिकेटको अवस्था यही हुन्छ ।’

टेष्ट टोलीहरुसँग जितको अपेक्षा नगरिएपनि एशियाकपमा नेपालले थाइल्याण्डको चुनौति पनि सामना गर्न सकेन ।

दुई महिनाअघि हार व्यहोरेको थाइल्याण्डबिरुद्ध नेपालले बदला लिन सक्थ्यो । तर झनै खस्किएको प्रदर्शन गर्‍यो । ‘लगातारको हारका कारण खेलाडीहरु मनोबैज्ञानिक दबावमा परे’ बिश्लेषक झा भन्छन्, ‘त्यसमा पनि थाइल्याण्डले घरेलु मैदानको फाइदा लिएको थियो ।’

प्रतियोगिताको अन्तिम खेलमा नेपालले भारतबिरुद्ध खराव कीर्तिमान कायम गर्‍यो । अन्तर्राष्ट्रिय क्रिकेटमा अहिलेसम्मकै सबैभन्दा न्यून योगफल बनाउने क्रममा नेपालले मात्र २१ रन जोड्न सक्यो । १२१ रनको लक्ष्य पछ्याएको नेपाल २१ रनमै अलआउट भयो । प्रतियोगिताको दोस्रो खेलमा नेपालले श्रीलंकाबिरुद्ध २३ रन बनाएको थियो । जवाफमा श्रीलंकाले ४ ओभरमै खेल सकाएको थियो ।

प्रतियोगिताभर नेपाली टोलीले कुनै खेलमा पूरा इनिङ खेल्न सकेन । यस्तोमा नेपालको सहभागिता अन्य टोलीका खेलाडीहरुलाई उनीहरुको अन्तर्राष्ट्रिय सफलता थप्न सहयोग पुर्‍याउनु रहृयो । बिश्लेषक झा का अनुसार ‘यो प्रतियोगिता मात्र चार टोलीबीचको प्रतिस्पर्धा हो । नेपाल र थाइलयाण्डलाई त प्रतिनिधि टोलीको रुपमा मात्र समावेश गराइएको हो ।’

प्रतियोगिताको पाँच खेलमा नेपालकी ओपनर ज्योति पाण्डेले ४३ रन बनाइन् । यो कुनैपनि नेपाली ब्याट्सवुमनले बनाएको सबैभन्दा ठूलो रन योगफल हो । उनले थाइल्याण्ड र श्रीलंकाबिरुद्ध समान १६/१६ रन बनाएकी थिइन् ।

nepali-womens-cricket-team
नेपालकी कप्तान क्षेत्रीले प्रतियोगिताको पाँच खेलमा ४ विकेट लिइन् । उनले भारतबिरुद्ध २ र बंगलादेश तथा श्रीलंकाबिरुद्ध एक एक विकेट लिइन् ।

थाइलयाण्डबिरुद्ध बनाएको ६३ रन नेपालको सबैभन्दा उच्च योगफल हो । नेपालले पाकिस्तानबिरुद्ध ४७, बंगलादेशबिरुद्ध ४१, श्रीलंकाबिरुद्ध २३ तथा भारतबिरुद्ध २१ रनमात्र बनाउन सक्यो ।

हङकङमा भएको आइसीसी महिला विश्वकपको एशियाली छनौटका क्रममा प्रशिक्षक राजु बस्न्यातले खेलाडीमाथि दुर्व्यबहार गरेको समाचार सार्वजनिक भएपछि खेलाडी तथा प्रशिक्षक बस्न्यात केहि दबावमा परेका हुनसक्छन् । भलै आरोपको खेलाडी र प्रशिक्षक दुवैले खण्डन गरिसकेका छन् र आइसीसीले पनि प्रशिक्षकलाई सफाइ दिइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment