Comments Add Comment

सप्तरी प्रहरी प्रमुखबिरुद्ध पत्रकार आन्दोलित

patrakat-aandolan

१७ मंसिर, सप्तरी । भारतीय योगगुरु रामदेवको जिल्ला भ्रमणका क्रममा भारतीय पत्रकारलाई सहजै प्रबेश दिने तर नेपाली पत्रकारमाथि भने हातपातमा उत्रेको भन्दै सप्तरीका प्रहरी प्रमुखबिरुद्ध स्थानीय पत्रकारहरु आन्दोलन सुरु गरेका छन् ।

मंसिर ११ गते रामदेव सप्तरीको छिन्नमस्ता आउँदा सप्तरी प्रहरी प्रमुख एसपी दिवेश लोहनीले भारतीय पत्रकारलाई सहजै प्रवेश दिएका थिए भने नेपाली पत्रकारहरुमाथि आफैंले हातपात गरेका थिए ।

एसपीले नेपाल पत्रकार महासंघ शाखा सप्तरीका कार्यसमिति सदस्य चन्दन यादव र रासस सम्वाददाता अरुण यादवलाई हातपात गर्दै अन्य पत्रकारसँग समेत दुव्र्यबहार गरेका थिए ।

घटनाको बारेमा स्थानीय प्रशासन मार्फत उपप्रधान एवं गृहमन्त्रीलाई ज्ञापन पठाउँदै एसपी लोहनीको सरुवा गर्न ४८ घण्टाको अल्टिमेटम दिएपनि कसैले चासो नलिँदा पत्रकारहरु आन्दोलित भएका हुन् ।

एसपी लोहनीको सरुवाको माग गर्दै नेपाल पत्रकार महासंघ सप्तरीको अगुवाईमा शुक्रबार बिहान निकालिएको पत्रकारहरुको बिरोध जुलुसले राजविराज नगरको परिक्रमा गरेको छ । टाउकोमा कालोपट्टी बाँधेका पत्रकारहरुले पत्रकार कुट्ने एसपी लोहनीलाई सरुवा गर, प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर जस्ता नारा लगाएका थिए ।

रुपनी मोडबाट निकालिएको पत्रकारहरुको बिरोध र्‍याली नगरको बिभिन्न भाग परिक्रमा गर्दै स्थानीय शिब मन्दिर प्राङ्गणमा समापन भएको थियो । र्‍यालीलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ सप्तरीका कार्यबाहक अध्यक्ष श्रवणकुमार देवले एसपीको सरुवा नभएसम्म आन्दोलन जारी रहने बताए ।

पत्रकारहरुले शनिबार राजविराजमा प्लेकार्डसहित प्रदर्शन गर्ने भएका छन् भने आइतबार बिहान मैनबत्ती जुलुस प्रदर्शन गरी पेशागत संघ-संगठनसँग अन्तर्क्रिया गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment