Comments Add Comment

प्रिय पुस्तक : ‘भगवद् गीता’देखि ‘काठमान्डु फिभर’सम्म

geeta_1140‘मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन’

कालोपाटीमा चकले लेख्दै म्याडमले भन्नुभो, “प्रस्तुत पंक्ति देवकोटाको मुनामदन भन्ने कृतिको हो । मुनामदन एकदम चर्चित किताब हो । त्यो पढ्नेहरू सबै रुन्छन् । उनले मुनामदन लगायत थुप्रै राम्रा किताब लेखेको हुनाले उनलाई महाकवि भनिन्छ । ‘उद्देश्य के लिनु उडी छुनु चन्द्र एक’ भन्ने उक्ति पनि उनैले लेखेका हुन् ।”

म्याडमले त्यसरी पढाइरहँदा देवकोटा मेरो मनमा हिँड्न थाले । ‘मुनामदन’ पढ्ने रहर लाग्यो ।

दुई-चार दिन मनमा देवकोटा हिँडिरहे, मुनामदन हिडिरह्यो ।

‘मुनामदन’ पढेपछि मलाई कुनै नयाँ बाटोमा हिँड्दा पनि ल्हासामा हिँडे जस्तो लाग्न थाल्यो । यसरी मैले पढेको पहिलो पुस्तक मुनामदन बन्यो

एकदिन बुवालाई सोधेँ, “मुनामदन कस्तो किताब हो ?”

बुवाको जवाफ थियो, “झ्याउरे लयमा सरल भाषामा लेखिएको कविताको किताब हो ।”

धक मान्दै भए पनि किताब हेर्न मन लागेको भनेर मुख फोरेँ । बुवाले ‘पुस्तक ठूलो छ, तैँले पढ्न सक्दैनस्’ भन्दै दिनुभो ।

बुवाले ठूलो भनेर दिए पनि मलाई भने पुस्तक ठूलो लागेन । सबै कुरा बुझिएनन् होला, तर बुझे जस्तै लाग्यो । पढ्दै गर्दा कतिबेला रोएछु पनि । म्याडमले सबै रुन्छन् भनेकोले रुनुपर्छ भन्ने सोचेर रोएँ वा साँच्चिकै मार्मिक लागेर रोएँ, थाहा भएन ।

पाठ्यपुस्तक बाहेक अन्य पुस्तक पढ्न हुन्न भन्ने चलन गाउँमा भए पनि हाम्रो घरमा भने त्यस्तो थिएन । हजुरबुवाका पालादेखि नै पढ्ने/लेख्ने संस्कार रहेछ । कति पुराना पुस्तक धमिरा र धैँसोले खत्तम पारे । धुवाँले काला भएका कति अझै छन् ।

पढिसकेपछि बुवालाई किताब फर्काएँ । बुवाले सोध्नुभो, ‘पूरै पढिस् त ?’ अँ, पढेँ भनेँ ।

बुवा मुसुक्क हाँस्नुभो मात्र । के बुझिस् भनेर सोधेको भए मसँग जवाफ थियो/थिएन कुन्नि ! पुस्तक पढ्दै गर्दा रोएको कुरा मुखसम्म आएर पनि बुवालाई भनिनँ । डर र लाज लाग्यो ।

‘मुनामदन’ पढेपछि मलाई कुनै नयाँ बाटोमा हिँड्दा पनि ल्हासामा हिँडे जस्तो लाग्न थाल्यो । यसरी मैले पढेको पहिलो पुस्तक मुनामदन बन्यो ।

मलाई लाग्छ, गीता ज्ञानको अनन्त भण्डार हो, जसलाई जसरी पनि व्याख्या गर्न सकिन्छ । गीतामा कृष्णले अर्जुनलाई दिएको उपदेशले उत्साहको सञ्चार गर्‍यो । गीतामा युद्धको कारण छ । मानवताको बोध छ । जीवनको रस छ । पुस्तक पढ्दै गर्दा ‘म’ र ‘आफू’ भन्ने धारणाको विकास भयो

बुवा कहिले पाल्पा तानसेन त कहिले तम्घास गइरहने भएकोले मुना लगायत अरू पत्रिका र किताबहरु ल्याइदिनुहुन्थ्यो । सधैं भन्नुहुन्थ्यो, ‘स्कूलका किताब मात्रै पढेर हुन्न ।’

मैले चार कक्षा पढ्दै गरेको बेला नै ‘गीता’ पढेँ । किताबको महत्व बुझेर हैन, गुरुलाई पाठ बुझाउन । दाइ, म र गाउँका अरु साथीहरू संस्कृत पढ्न मन्दिरको पौवामा जम्मा हुन्थ्यौं । त्यतिबेला श्रीमद्भागवत गीता र दुर्गा सप्तषतीका पूरै श्लोक कन्ठस्थ पारेर सुनाउनपर्थ्यो । गीता पढ्दा पनि श्लोक घोक्नुसँग सम्बन्ध रह्यो, अर्थ बुझ्नतिर लागिएन ।

पछि गीताको चर्चा र महिमा चारैतिर सुन्न थालेँ र त्यसको व्यावहारिकता र दर्शनको खोजमा लागेँ । मलाई लाग्छ, गीता ज्ञानको अनन्त भण्डार हो, जसलाई जसरी पनि व्याख्या गर्न सकिन्छ । गीतामा कृष्णले अर्जुनलाई दिएको उपदेशले उत्साहको सञ्चार गर्‍यो । गीतामा युद्धको कारण छ । मानवताको बोध छ । जीवनको रस छ । पुस्तक पढ्दै गर्दा ‘म’ र ‘आफू’ भन्ने धारणाको विकास भयो । सांसारिक मोह र सम्बन्धका कुरा पनि छन् । किताबले आफैं केही सिकाउँदैन, एकलव्यले ढुंगालाई गुरु मानेर धनुर्विद्या सिके जस्तो किताबबाट आफूले ज्ञान लिने हो । गीता हिन्दु धर्मग्रन्थ भनिए पनि सबैले पढ्नैपर्ने पुस्तक हो ।

निस्सारता र निराशावाद कतिले रुचाउँदैनन्  । अझै कतिले त त्यसरी लेखिनै हुन्न भन्ने पनि तर्क राख्छन् । तर, मलाई त्यस्तो लाग्दैन । साहित्य भनेको सकारात्मक पाटो मात्रै पनि त होइन । साहित्य समाजको दर्पण हो भन्नेहरूले नै साहित्य सकारात्मक विषयमा मात्रै लेखिनुपर्छ भनेको सुन्दा दंग पर्छु । मलाई सोध्न मन लाग्छ, ऐनाले अनुहारलाई राम्रो बनाएर देखाउँछ कि जस्ताको तस्तै ? साहित्य समाजकै घटना-परिघटना भएकोले समाजलाई यथारुपमा अभिव्यक्त गर्नुपर्छ भन्ने लाग्छ ।

नेपाली आख्यानमा ‘शिरीषको फूल’ एकदम मन परेको किताब हो । कसैले त यसलाई कागजको फूल पनि भने । ‘शिरीषको फूल’ मार्फत पारिजातले पुरुष संवेदनालाई चिमोटेकी छन् । नारीले पुरुषको मनोभावना अभिव्यक्त गर्ने कत्रो आँट ! जसमा उपन्यासकार सफल पनि भइन् ।

मैले पारिजातका कविता, नाटक, कथा, उपन्यास सबै पढेको छु । म जहिल्यै साधारण पाठकीय दृष्टिले पढ्छु । ‘शिरीषको फूल’ले पारिजातको समग्र साहित्यिक उँचाइमा आधा उँचाइको हिस्सा ओगट्छ जस्तो लाग्छ । उपन्यासमा कला र सौन्दर्य अवर्णनीय छ । पात्र र परिवेश त्यस्तै छ ।

पहिलो चोटि नौ कक्षामा पढेको थिएँ । त्यतिबेला त्यो किताबले छोएन । पढ्नका लागि मात्रै पढेँ, केही बुझिएन । किताबको जतनसम्म भएन, त्यसै हरायो ।

घमन्डी केटीहरू आफूलाई आम केटीहरुभन्दा पृथक् राख्न सक्छन् र जस्तोसुकै दुर्गम परिस्थितिमा पनि त्यसमा कायम रहन्छन्

त्यसको दुई–तीन वर्षपछि तानसेनमा एउटा पुस्तक पसलमा त्यो किताब भेटेँ र किनेकै दिन पढेँ । किताबले बेस्सरी तान्यो । त्यसको महिना दिनपछि फेरि पढेँ । यति धेरै मन पर्‍यो, त्यतिबेलाको मिठास कुनै शब्दमा अटाउँदैन ।

सकमबरी मेरी प्रिय पात्र बनी  । बरीकै नाममा मैले कति कविताहरू पनि लेखेँ । ऊ वास्तविक दुनियाँमा छे जस्तै लागेर चोक र गल्लीहरूमा खोज्दै हिँडे । बरी यस्ती पात्र हो, उसको अस्तित्वको लडाइँ नै गजबको छ । जो समाजभन्दा फरक छे । निर्भीक र स्वतन्त्र छे । निकै घमन्डी पनि छे । बरीसँग किताबमा संगत गरेसँगै मलाई घमन्डी केटी मन पर्न थाल्यो । मभित्र धारणा बन्यो, घमन्डी केटीहरू आफूलाई आम केटीहरुभन्दा पृथक् राख्न सक्छन् र जस्तोसुकै दुर्गम परिस्थितिमा पनि त्यसमा कायम रहन्छन् ।

अहिले पनि शहरमा झम्म परेका शिरीषका बोटसँगै भुइँमा खसेका नीला फूल देख्दा बरी यतै कतै छे कि भनेर उसको सुनौलो मुडुलो टाउको खोज्न पुग्छु ।

‘शिरीषको फूल’ पढ्दा त्यसको भूमिकाले पनि तान्यो । शङ्कर लामिछानेले उल्लेख गरेको पारिजातसँगको सम्बन्धको व्याख्याले धेरै दिनसम्म हृदयमा झङ्कार पैदा गरिरह्यो । लामिछानेलाई पढ्ने मन भो । चाहेको बखत पढ्न नपाउँदा उनको लेखनको प्यासले धेरै समय छट्पटिएँ पनि ।

shekhar-bikalp
शेखर विकल्प

त्यतिबेला पाल्पामा साहित्यिक पुस्तकहरु पाइए पनि सबै पाइँदैनथ्यो । साझा प्रकाशनको बिक्री शाखामा ‘एब्स्ट्राक्ट चिन्तन प्याज’ धुइँपत्ताल खोजे पनि पाउन सकिनँ । पछि काठमाडौं गएको मौकामा भेटेँ । उनका अरू तीन कृति पनि पढेँ । ओहो ! लामिछाने त गजब रहेछन् । शैलीमा नविनता, प्रयोगमा विशिष्टता । जीवन र समाजप्रतिको उनको धारणामा म नतमस्तक भएँ । लामिछानेसँगै मैले अरू निबन्ध पनि पढेँ । महाकवि देवकोटालाई अझ धेरै पढेँ । उनको ‘के नेपाल सानो छ’ निबन्धले मस्तिष्क हल्लाइसकेको थियो ।

देवकोटालाई निबन्धकारका रुपमा मात्रै हेरे पनि उनको उँचाइ कम्ती छैन । तर, उनलाई कवि भन्नु नै प्रिय लाग्छ । काव्यिक उँचाइ नाप्न उनको ‘पागल’ नै काफी छ । देवकोटाको लेखन विराट छ । उनको चेतना र ईश्वरप्रतिको विद्रोह भयंकर छ ।

कविताकै कुरा गर्दा भूपी शेरचनको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ कविताको शीर्षक नै सिंगो कविता जस्तो लाग्छ । दश कक्षासम्म पढ्दा मलाई छन्दका बाहेक कविता नै होइनन् जस्तो लाग्थ्यो । भूपी र गोपालप्रसाद रिमाललाई पढेपछि गद्यमा झन् शक्ति हुँदो रै’छ भन्ने लाग्यो । मेरो सिद्धान्त नै बदलियो । छन्दमा छिटफुट कविता लेख्ने म त्यसपछि त गद्यमा स्वच्छन्द भएर रमाउन थालेँ ।

रिमालको कविताको उँचाइ जति छ, नाटकमा पनि उनी कम लागेनन् । उनको ‘मसान’ नाटक पढेपछि मथिंगल मात्र हल्लिएन, केही दिन प्रेम र श्रद्धाप्रति नै वितृष्णा जाग्यो । मसान नाटकले समाजमा मानवीय संवेदना र दृढ विश्वासलाई गरेको अन्तर्घात छताछुल्ल पारेको छ ।

भावना र विचारलाई गणितमा मापन गर्न सकिन्न । छन्दमा असीम दर्शन पोखिएको कृति हो, लेखनाथ पौड्यालको ‘तरुण तपसी’ खण्डकाव्य । बाँधमा बाँधेर बगाउँदा भावना संकुचित हुन्छ भन्नेलाई दह्रो झापट दिने किताब हो जस्तो लाग्छ यो ।

लेखकहरू किन स्खलित हुन पुग्छन् भन्ने प्रश्न विचारणीय छ । तर पनि उनीसँग मेरो कुनै गुनासो छैन

राजनीतिमा आफ्नै ग्रेटवाल निर्माण गरेका बीपीलाई साहित्यमा हेर्दा पनि उत्तिकै सशक्त लाग्छ । उनको राजनीतिकभन्दा पनि साहित्यिक व्यक्तित्व प्रिय लाग्छ मलाई । जेल जीवनलाई उनले कस्तो गजबले सदुपयोग गरिदिए । उनका सबै पुस्तक छामेको छु । यौन मनोविज्ञानलाई गहिराइमै पुगेर छोएका छन् । उनका उत्तिकै बलशाली किताबमध्ये सुम्निमा अझ गजब लाग्यो । सुम्निमा पढ्दै गर्दा हरेक मान्छेले एकपटक आफैंलाई प्रश्न गर्छ, आफ्नै सतित्व र आफूभित्र निदाएको सुषुप्त आकांक्षालाई ऐनामा हेर्न खोज्छ ।

आख्यानमा त्यस्तै मन परेको पुस्तक सरुभक्तको ‘पागल बस्ती’ हो । उनले पागल बस्ती मार्फत प्रेमलाई कारण बनाएर कत्रो संसार निर्माण गरेका ! उपन्यास पढ्दै गर्दा स्वैरकल्पना जस्तो लाग्दैन । तर, अहम को सन्दर्भमा उनको प्रयोग भने सन्देहपूर्ण छ । विन्दु कुकुर एउटा पशु भएर पनि नारी पात्र जस्तो लाग्छ । मार्था हरेकको कलेज लाइफ ठोक्किने युवती भएर देखा पर्छे । सरुभक्तको उँचाइ यसबाहेक उनका अरु कृतिमा भेट्न सकिनँ । लेखकहरू किन स्खलित हुन पुग्छन् भन्ने प्रश्न विचारणीय छ । तर पनि उनीसँग मेरो कुनै गुनासो छैन ।

समसामयिक लेखनमा मन परेको पुस्तक हो कुमार नगरकोटीको कथाकृति ‘मोक्षान्त: काठमान्डु फिभर’ । अखबारमा एक-दुई टुक्रा चाखेको थिएँ उनको स्वाद, किताबै समाएपछि भने गहिरो प्रभाव पार्‍यो । उनका सबै किताब पढेको छु । उनका पात्रहरू पनि अद्भूत हुन्छन् । उनले पात्रलाई क्यारमबोर्डभित्र घरि क्विन र घरि स्ट्राइकर बनाउन सक्छन् ।

एटा पाठकलाई पूर्व मेचीबाट साझा बसमा चढाएर फ्रान्सका गल्ली हुँदै नाइल नदीको किनार पुगेर बंगाल हुँदै महाकाली काटेर पाटनका गल्लीमा लगेर उतारिदिन्छन् । उनलाई कमले रुचाउँलान्, तर रुचाउनेले संसारको महँगो वस्तुभन्दा बढी रुचाउँछन् । काठमान्डु फिभर पढेपछि त्यस्ता फिक्सन डिजाइनरलाई भेट्ने रहर जाग्यो । झल्याकझुलुक तस्बिर देख्दा पनि अजीव गेटअपमा देखिने लेखकप्रति कौतुहल थियो, हैन यी लेखक चाहिँ छन् कस्ता ?

नभन्दै रहर पूरा भइगयो ।  ती लेखक ०७० को एक मध्य दिनमा देखा परे थिएटर भिलेज, लाजिम्पाटमा । प्रिय लागेका लेखक भेट्दा झन् गजब लागे । म गदगद भइगएँ । उनलाई पहिलो चोटि भेट्दा सोधेको थिएँ, ‘कसरी पो लेख्न सकिन्छ यस्तो ?’

बुढा मुसुक्क हाँसे मात्रै । पछि कुरामा कुरा हुँदै जाँदा ‘अध्ययन नै ठूलो कुरा हो लेखनलाई’ भन्ने पाएँ । त्यसपछि पनि ती लेखक भेटिए दुई-तीन चोटि । तर, हृदयको तीन खण्ड खाली नै रह्यो  । देवकोटा, पारिजात र शंकर दाइ भेटिन बाँकी नै रहे ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment