Comments Add Comment

अाजदेखि विषादीमुक्त तरकारी तथा खाद्यान्न प्रयोग सप्ताह

Kalimati-tarkari-bazzar
१८ मङ्सिर, ललितपुर । कृषि विभाग, बाली संरक्षण निर्देशनालयले शनिबारदेखि यही मङ्सिर २५ गतेसम्म विषादी प्रयोगमुक्त सप्ताह मनाउँदै छ ।

निर्देशनालयले  किसान, व्यापारी, उपभोक्ता लगायत सरोकार भएकाहरुलाई सचेत गर्ने उद्देश्यले सप्ताह मनाउन लागेको बताएको छ ।

नेपालमा भित्रिने विषादीमध्ये ८५ प्रतिशत तरकारी प्रणालीमा आधारित सघन खेती भएका स्थानमा प्रयोग भइरहेको निर्देशनालयका कार्यक्रम निर्देशक डिल्लीराम शर्माले बताए । उनले भने, “विभिन्न अध्ययनले विषादीको मात्रा तरकारी बालीमा बढी हुने गरेको देखाएको छ ।” गत वर्ष नेपालमा चार सय ५४.६ टन विषादी आयात भएको थियो ।

निर्देशनालयले उपभोक्ता र व्यापारी दुवैलाई सचेत गर्न दुई वर्ष पहिलेदेखि कालिमाटीमा फलफूल तथा तरकारीको अवशेष विश्लेषण सुरु गरेको थियो । शर्माले भने, “हामीले सुरु गर्दा तरकारी र फलफूलमा विषादीको मात्रा बढी पाइए पनि अहिले कम भएको छ ।”

सन् १९८४ मा भारतको भोपालमा विषादीको चुहावटबाट २० हजारको मृत्यु भएको स्मरण गर्दै विश्वभर सन् १९९८ देखि विषादी प्रयोगमुक्त दिनका रुपमा डिसेम्बर ३ लाई मनाउने गरिएको हो । नेपालमा भने यसलाई मनाउन लागिएको यस पटक चौंथो वर्ष हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment