Comments Add Comment

भूकम्प पीडितबाट पैसा उठाएर नेता र हाकिम हेलिकोप्टरमा सरर…

एक एक हजार रुपैयाँ नदिए गाउँमा अनुदान नपाइने धम्की

helicoptor-ma-samsad

२२ मंसिर,ओखलढुंगा । भूकम्प पीडितको अनुदान रकमबाट हेलिकोप्टर चढेर तिनै पीडितलाई अनुदान बाँड्न सांसद र सरकारी कार्यालयका प्रमुखहरु गाउँतिर लागेपछि व्यापक आलोचना भएको छ ।

अनुदान वितरणमा जानै नपर्ने सांसद र हाकिमहरु पीडितको पैसामा हेलिकोप्टर सयर गरिरहेका छन् । अनुदान शिविरका लागि नोट ढुवानी गर्ने निहुँमा प्रति लाभग्राही १ हजारको दरले पैसा उठाइएको छ ।

जनताको सहमतिमै पैसा उठाएको भनिए पनि सांसदहरु आफूले खल्तिबाट पैसा दिए जसरी जनतालाई अनुदान बाँड्न पुगेका छन् ।

शनिवारदेखि कालिका र पलापु गाविसबाट शिविर खडा गरेर अनुदान वितरण गरिएको छ । यो क्रम रँगनी, टार केराबारी, गाम्नाङ, फुलबारी लगायतका गाविसमा बिस्तार हुनेछ ।

गाउँमै शिविर राखेर अनुदान वितरण गर्ने भन्दै जिल्लाको सात गाविसमा पहिलो किस्ता वितरण गरिएको थिएन ।

ती गाविसमा अनुदान शिविर राख्ने दबाव बढेपछि बैंकका कर्मचारीहरुले हेलिकप्टरमा पैसा ढुवानी गरेमात्र लान सकिने जनाएका थिए । तर हेलिकप्टरका लागि लाग्ने ढुवानी खर्च र शिविर व्यवस्थापनका लागि भन्दै राजनीतिक दल र गाविस सचिवको मिलेमतोमा लाभग्राहीबाट पैसा उठाइएको हो ।

एउटै गाविसबाट कम्तिमा ३ लाख भन्दा बढी रकम उठाइएको छ । सो रकम हेलिकप्टरको भाडा बाहेक कुन कुन शीर्षकमा खर्च गरिएको भन्ने सार्वजनिक गरिएको छैन ।

शनिबारदेखि सोमबारसम्म पलापुमा सञ्चालित शिविरमा मात्रै ७ सय ६६ जना कालिका र पलापुका लाभग्राहीले पहिलो किस्ता ५० हजार लिएका छन् । सो संख्या अनुसार प्रति लाभग्राही १ हजारले गुणन गर्ने हो भने ७ लाख ६६ हजार रकम उठाइएको छ ।

को को चढे हेलिकप्टर ?

शनिबार पलापुमा अनुदान वितरण शिविर उद्घाटन गर्ने भन्दै राजधानीबाट सो क्षेत्रबाट निर्वाचित कांग्रेस सांसद रामहरि खतिवडा, एमाले समानुपातिक सांसदि हर्कबोल राई मनाङ एयरको हेलिकप्टर चढेर पलापु आइपुगेका थिए ।

उनीहरुलाई पलापुमा छाडेर सोही हेलिकप्टरले सदरमुकामबाट पैसा सहित सिडिओ, डिएसपी, भिबोर बैंकका शाखा प्रबन्धक र गैरसरकारी संस्थाका कर्मचारी लिएर पलापु पुगको थियो । कार्यक्रम सकिएपछि हेलिकप्टरबाटै सांसद खतिवडा, कांग्रेस जिल्ला सभापति प्रदिप सुनुवार, गैससकर्मी इश्वर चर्मकार र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका प्रमूख हेम गुरुङ काठमाडौं गएका थिए ।

मंगलबार फुलबारीमा शुरु भएको अनुदान वितरण शिविरमा पनि नेता र कर्मचारीबीचमा हेलिकप्टर मोह घटेको देखिएन । सोमबार बिहानसम्म शिविरको सम्पूर्ण व्यवस्थापन फुलबारीमा गरेर एमालेका जिल्ला सदस्य तीर्थ सुवेदी बेलुकी सदरमुकाम आइपुगे ।

मंगलबार बिहान नेता सुवेदी सिमि्रक एयरको हेलिकप्टर चढेर सिडिओ एकदेव अधिकारी, प्रहरीका डिएसपी मिलन केसी, स्थानीय विकास अधिकारी यज्ञबहादुर खत्री र टुरिजम डेभलपमेन्ट बैंकका सिइओ फुलबारी पुगे ।

मंगलबारै सांसद रामहरि खतिवडा र प्रदिप सुनुवार अर्को फिस्टेल एयरको हेलिकप्टर लिएर फुलबारी आइपुगे । खतिवडाले आफूले ल्याएको फिस्टेल एयर भने विकास राणा भन्ने साथीले गाउँ पुगेर दुई बजेभित्र फर्किनका लागि भन्दै निशुल्क उपलब्ध गराएको बताए । पलापुमा आउँदा जाँदाको हेलिकप्टर भाडा भने स्थानीयले तिरेको स्वीकारे ।

क्षेत्र नम्बर १ का सांसद यज्ञराज सुनुवार भने हेलिकोप्टरमा देखिएनन् । उनी जिल्लास्तरीय राहत तथा पुननिर्माण समन्वय समितिका संयोजक हुन् । उनले सरकारले अनुदान वितरणमा चासो नदिएकाले ती ठाउँसम्म लैजान पहल गरे पनि आफू हेलिकोप्टरमा नगएको पत्रकारहरुलाई बताए ।

अत्यावश्यक र असम्भव ठाउँमा बाहेक आफूले कहिल्यै हेलिकोप्टर प्रयोग नगरेको उनले दावी गरे ।

bhukampa-pidit

गाउँमै शिविर किन ?

ओखलढुंगाको ५० गाविस र १ नगरपालिकामा दशैं अघि पहिलो किस्ता अनुदान वितरण गर्ने कार्यक्रम शुरु भएको थियो । ४३ गाविस र १ नगरपालिकाका लाभग्राहीले सदरमुकाममा रहेका विभिन्न बैंकबाट अनुदान रकम लिएपनि रगनी, पोकली, गाम्नाङटार, टारकेरावारी, कालिका, पलापु र फुलबारी गाविसबासीलाई गाउँमै शिविर सञ्चालन गरि वितरण गर्ने भनि रोकेको थियो ।

दुर्गम गाउँका लागि गाउँमै शिविर राख्ने भनिएपनि त्यो भन्दा टाढाका लाभग्राहीले सदरमुकाममै आएर अनुदान लिदा समेत दलका नेताको दबाबमा अनुदान रोकिएको थियो । ‘बैंकमा आएर हामी यहीँबाट पैसा लान्छौ भन्ने लाभग्राही आउँदा समेत नेता र गाविस सचिवले नदिनु भनेर जानकारी गराए ।’ सदरमुकामस्थित एक बैंकका प्रबन्धकले भने, ‘यो लाभग्राहीको इच्छा भन्दा नेताको स्वार्थमा भएको देखियो ।’

राष्ट्रिय वाणिज्य बैंकका शाखा प्रबन्धक सुमन आचार्यका अनुसार गाउँमा वितरण गर्न लगिएको रकम फिर्ता गर्नुपर्ने भएमा हेलिकप्टर नै प्रयोग गर्नुपर्नेछ । हाल अनुदान वितरण गरिएको गाविस भन्दा टाढाका भूकम्प पीडितले शिविरको विषयलाई लिएर असन्तुष्टि जनाएका छन् ।

नागरिकमाथि लाखापाखा

नेताको गाउँमा शिविर राखेर अनुदान बाँड्ने तर टाढाको लागि सदरमुकाम बोलाउने कामले दोश्रो दर्जाको नागरिक सरह व्यवहार भएको रानीवनका यादव सुवेदीले बताए । गाउँमा शिविर राख्न दबाव दिने नेताहरु अहिले हेलिकप्टर चढ्न लालायित भएकोले समेत यसमा राजनीतिक स्वार्थ मिसिएको सरोकारवालाको आरोप छ ।

पीडितबाटै पैसा असुलेको विषयमा सिडिओ एकदेव अधिकारीले भने आफूलाई स्पष्ट रुपमा जानकारी नभएको बताए । उनले यसको व्यवस्थापन गाविस सचिवले स्थानीय स्तरमै गरेको बताए । ‘गाविसको प्रशासनिक खर्च र स्थानीयबाटै यसको व्यवस्थापन गरिएको भन्ने सम्म जानकारी पाएको छु ।’, अधिकारीले भने, ‘अरु के कसरी गरेको छन् सबै थाहा भएन ।’

कालिका र पलापु गाविस सचिव इश्वर ढुंगानाले प्रति लाभग्राही एक हजार उठाएको स्वीकारे । तर गाविस तहको राजनीतिक दलको साझा सहमतिमा स्वेच्छाले रकम उठाएको उनले बताए । ‘वाडै पिच्छे संयोजक बनाइएको छ । संयोजक मार्फत सबैले पैसा उठाएर दिएका हुन् ।’ ढुंगानाले भने, ‘यसमा हाम्रो कुनै करकाप छैन ।’

भूकम्प पीडितले भने गाविस सचिव र नेताले पैसा नदिएमा गाउँमा शिविर आउन नसक्ने बताएको कारण पैसा दिएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment