+
+

पोलिसी भ्रष्टाचारदेखि पीटी भ्रष्टाचारसम्म

हिमाल पग्लँदैछ तर, भ्रष्टाचार शिखरमा चढ्दैछ

तुल खड्का तुल खड्का
२०७३ मंसिर २४ गते १४:०३

सार्वजनिक स्रोत, साधन,अधिकार र शक्तिको व्यक्ति लाभको लागी प्रयोग गर्ने खराब आचरण र गलत मनोदशाको समिश्रण नै भ्रष्टाचार हो । नियमतः, आचरण, सोच प्रदुषित हुँदो परिणाम भ्रष्टाचार हो ।

tul_khadkaनेपाल यतिबेला भ्रष्टाचारको महामारीसँग पौंठेजोरी खेल्दैछ । दिनप्रतिदिन भ्रष्टाचारका शिखरहरु निर्माण हुँदैछन् । एकातिर प्राकृतिक हिमशिखरहरु दैनानुदिन पग्लिँदैछन् भने अर्कोतिर कृत्रिम स्वरुपका कूरुपी भ्रष्टाचारका शिखरहरु बन्दैछन् ।

लाग्छ, कुनै दिन पर्यटक यहाँ मनोमहक प्राकृतिक दृष्य हेर्न होइन, भ्रष्टाचारको दृष्य हेर्न बोइङको प्लेनको टिकट काटेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने पो हुन् कि ? प्रार्थना गरौं, त्यो दिने कहिल्यै देख्नु नपरोस् ।

हामी कहाँ छौँ ?

भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय संस्था ‘ट्रान्सपरेन्सी इन्टरनेशनल’ले सन् १९९५ देखि प्रत्येक वर्ष भ्रष्टाचार सूचकांकको प्रतिवदेन सार्वजनिक गर्ने गर्छ । यो ‘करप्सन परसेप्सन इडेक्स’ प्रतिवेदन अनसार नेपालको अवस्था दयनीय छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनलले २०१५ मा प्रकाशित गरेको प्रतिवदेन अनुसार विश्वका १६८ मुलुकमा गरिएको सर्वेक्षण नेपाल २७ अंकका साथ १३० औं स्थानमा छ । नेपाल सन् २०१५ मा १२६ औँ स्थानमा थियो ।

हरेक दिन, हरेक रात, हरेक सयम हामी झन झन भ्रष्ट मुलुकमा दर्ज भैरहेका छौं । अहिलेसम्म हामी ११६ औँ स्थानभन्दा माथि उक्लन सकेका छैनौं ।

विश्व बैंक, वर्ल्ड इकोनोमिक फोरम, बर्टेल्सम्यान फाउन्डेसन, वर्ल्ड जस्टिस प्रोजेक्ट र ग्लोबल इनसाइटको सर्वेक्षणका आधारमा उक्त नतिजा सार्वजनिक हुने गर्दछ । नेपाल सन् २००४ देखि यस सूचिमा समावेश हुँदै आएको छ ।

यसै संस्थाका अनुसार विश्वका ६ अर्बभन्दा बढी मानिसहरु भ्रष्टाचारको भूमरीमा बाँचिरहेका छन् । वर्तमान तीव्र महाविकास र सूचना प्रविधिको वर्तमान युगमा भ्रष्टाचार केवल एउटा देशको मात्र समस्या भएन, यो क्रस बोर्डर इस्युका रुपमा अगाडि बढिरहेको छ । यसको न्यूनीकरण र नियन्त्रणका लागि विश्वव्यापी सहकार्यको जरुरी देखिन्छ ।

राजनीतिले नागरिकको विश्वास गुमाइसकेको हुन्छ । जनतामाझ वैधानिकता प्राप्त गर्ने हैसियत पनि पनि सकिइसकेको हुन्छ । जसको परिणामस्वरुप हामी उत्तरदायी राजनीतिक नेतृत्व निर्माणमा असफल हुन्छौं । केवल राजनीतिको अपराधीकरण र अपराधीकरणको राजनीतिकरण भै रहन्छ

नेपालमा कहाँ हुन्छ भ्रष्टाचार ?

पोलिटकल करप्सनः राजनीतिक भ्रष्टाचारको वेग यस्तो खतरनाक हुन्छ, जसले लोकतन्त्रलाई समेत कमजोर र देशको शासन प्रणालीलाई समेत निकम्बा बनाइदिन सक्दछ । यस्तो लेबलको भ्रष्टाचार आम नागरिकले पत्तो पाउँदैनन् । जसले राज्य सञ्चालनको मूल मियोमा पहुँच राख्छन्, त्यस वृत्तबाट यस प्रकारको दुशासन हुन्छ ।

जहाँ हाइलेबवलका ब्युरोक्रेट्सको समेत मिलेमतो हुन्छ । जहाँ सरकार न पारदर्शी हुन्छ, न जनउत्तरदायी । यसको पीडित सिंगै राज्य हुन्छ । ट्रान्सपरेन्सी इन्टरनेशलनका अनुसार नेपालमा सबैभन्दा बढी भ्रष्टाचार हुने क्षेत्र पनि राजनीतिक क्षेत्र हो । यसले कानूनको शासनको बर्खीलाप गरी व्यक्तिको शासनको आभास गराइदिन सक्छ । यसले लोकतन्त्र र कानूनको शासनलाई समेत कमजोर बनाई राज्यलाई नै कमजोर तुल्याइदिन्छ । र, यसको असरका कारण राजनीतिले नागरिकको विश्वास गुमाइसकेको हुन्छ । जनतामाझ वैधानिकता प्राप्त गर्ने हैसियत पनि पनि सकिइसकेको हुन्छ । जसको परिणामस्वरुप हामी उत्तरदायी राजनीतिक नेतृत्व निर्माणमा असफल हुन्छौं । र राजनीतिक संस्कारको विकास हुँदैन । केवल राजनीतिको अपराधीकरण र अपराधीकरणको राजनीतिकरण भै रहन्छ ।

ग्राण्ड करप्सन

यो नीतिगत तहमा हुने भ्रष्टाचार हो । जहाँ सबै वर्ग, क्षेत्र, र समुदायको पहुँच हुदैन । यसका सरकारको संलग्नता हुन्छ । सार्वजनिक शक्ति, स्रोतसाधान र अधिकारको चरम दुरुपयोग गर्दै व्यक्ति हितका लागि प्रयोग गरिन्छ । यस तहको भ्रष्टाचार सुरक्षित भ्रष्टाचार हो, जसका बारेमा कोही कसैले बोल्न र भन्न सक्दैनन् । यस्तो करप्सनलाई वैध मान्ने गरिन्छ । जसलाई भ्रष्टाचार नियन्त्रण गर्न बनेको ऐन, नियम र संस्थाहरुको कार्यक्षेत्रभित्र पारिएको हुँदैन । तर, यसको पीडित राज्य र नागरिक दुवै हुन्छन् ।

झण्डै आधाभन्दा बढी भ्रष्टाचारको हिस्सा ओगटेको निजी क्षेत्रलाई कानुनको दायरामा ल्याउन सकिएको छैन

प्राइभेट करप्सन

फट्याइँ गर्नेहरुलाई यो खुब कायदाको करप्सन हो । नेपालको सन्दर्भमा हेर्ने हो भने भ्रष्टाचार नियन्त्रण गर्न बनेका ऐन,नियम र संस्थाको कार्यक्षेत्र सार्वजनिक क्षेत्रमा मात्र तेर्सिएको छ । झण्डै आधाभन्दा बढी भ्रष्टाचारको हिस्सा ओगटेको निजी क्षेत्रलाई कानुनको दायरामा ल्याउन सकिएको छैन ।

निजी क्षेत्रको अचाक्ली मूल्यवृद्धि, अखाद्य वस्तुको विक्री वितरण, कालोबजारी, सिन्डीकेट जस्ता निजी क्षेत्रमा हुने भ्रष्टाचारका चरम रुप हुन् ।

सार्वजनिक सेवा लिन जाँदा कुनै सेवाग्राही जति पीडित हुन्छ, त्योभन्दा दोब्बर पीडित उसले दैनिक जीवनका उपभोग्य सामान खरिद गर्दा पीडित हुनुपर्छ । नाना र खानामा उसले चरम मूल्य तिर्नु पर्दछ । बजारमा एकै सामानको मूल्य फरक-फरक रेटमा हुन्छ । बार्गेनिङ पावर कम भएका गा्रहकहरु नराम्रो तालले ठगिन्छन् । यस प्रकारको भ्रष्टाचार कसले हेर्ने ? जो नेपालमा अस्वाभाविक रुपले बढिरहेको छ ।

पिटी करप्सन

यो तल्लो स्तरमा हुने करप्सन हो । जसलाई ग्राउण्ड लेवल करप्सन पनि भनिन्छ । यसको असर र प्रभाव तत्काल देखिन्छ । जसको पीडित पनि छुटिन्छ र देखिन्छ । यसको असरबाट आम सेवाग्राही पीडित हुने गर्दछन् । यसको असर सेवाग्राहीमा पर्दछ । यो सामान्य प्रकृतिको हुन्छ । यो करप्सनमा सेवा प्रदायक र सेवा प्रापकको बीचमा अपवित्र सम्बन्धबाट हुने गर्दछ ।

भने कहिलेकाँही अपवित्र सम्बन्ध नभएर एकतर्फी सेवाग्राहीले छिटो काम वापतको सेवा तिर्नु पर्दछ । नेपालको सन्दर्भमा जिल्लास्थित सरकारी कार्यालय र क्षेत्रीय कार्यालयहरुमा यस्तो हुने गर्छ । यो करप्सन अदृश्य रुपमा दिनप्रतिदिन भै रहने भ्रष्टाचार हो ।

दोषी को ?

भ्रष्टाचार राज्य विरुद्धको अपराध हो भनी जानीजानी गर्ने हामी र हामीहरु दोषी । यस्तै म र महरु दोषी । कानून बनाउने त्यसको कार्यान्वयन नगर्ने तपाई र तपाईहरु दोषी । हामी जहिले पनि एकतर्फीरुपमा भ्रष्टाचार गर्नेमात्र दोषी देख्छौँ, तर भ्रष्टाचार गर्ने र गराउने उत्तिकै दोषी हुन्छन् । घुस लिने र दिने उत्तिकै जिम्मेवार छन् ।

कसैलाई छिटो काम गरेबापतको अतिरिक्त शुल्क लिनुपरेको छ, कसैलाई अपुग प्रमाण, अपुग प्रकृया र अपुग मापदण्ड ढाकछोप गर्न अतिरिक्त शुल्क तिर्नुपरेको छ । यी दुवै उतिकै जिम्मेवार र दोषी भागी छन् ।

भ्रष्टाचार विरुद्ध चर्को भाषण गर्ने र भ्रष्टाचारको कार्यक्रम डलरको पाउमा होटेलका कुनामा गर्ने तपाईहरु दोषी । भ्रष्टाचार यत्रतत्र सर्वत्र छ भन्ने सूचना दिन नमान्ने मान्यवर दोषी । व्यक्तिको प्रगतिको मापदण्ड सदाचारिता नबनाएर आर्थिक उपार्जनलाई प्रमुख मापदण्ड तोकिदिने त्यो नेपाली समाज दोषी । अभाव, अपर्याप्तता, निरपेक्ष र सापेक्ष गरिबी दोषी ।

सबैभन्दा आचरण दोषी । सामाजिक मनोदशा दोषी । भ्रष्टाचारलाई मलजल गर्ने र भ्रष्टाचारीलाई लुकाउने दोषी । आदि इत्यादि दोषी ।

असर

यसको चौतर्फी असर निकै भयावह हुन्छ । राजनीतिक, आर्थिक, समाजिक र सांस्कृतिक क्षेत्रमा यसको असर देखा पर्छ । देशको आर्थिक विकास सुस्त र धीमा गतिमा हुन्छ । लोकतन्त्र कमजोर भई राज्य सञ्चालन प्रकृयामा गतिविधिहरु अवाञ्छित भई अपारदर्शी संस्कारको विकास हुन्छ ।

विकासको लाजमर्दो तरिकाले गला रेटिन्छ । सेवाग्राही सेवाबाट बन्चित हुनुपर्छ । विमूख हुनुपर्छ । सुशासन टुहुरो भई बर्बराउन थाल्छ ।

कानूनको शासन ठूलालाई चैन, सानोलाई ऐनका रुपमा परिभाषित हुन्छ । कानूनको जंगलमा न्याय हराउने डर हुन्छ । नागरिक आर्थिक तथा विकासात्मक लाभको हिस्साबाट बञ्चित हुनुपर्दछ ।

नेपालको सन्दर्भमा हेर्ने हो भने दशक विति सक्दा पनि सडक बन्दैनन् । पुल बन्दैनन् । भवनहरु बन्दैनन् । कयौँ भवन, पुल र सडक निर्माणको दशक बितिसक्दा ज्युँका त्युँ छन् । शिक्षामा असर, स्वास्थ्यमा असर, विकासमा असर, राजेगारीमा असर, समाजको चौतर्फी महाविकासमा असर ।

भ्रष्टाचार, कुनै एक पात्र, संस्था र संगठनले न्यूनीकरण गर्न सक्ने अवस्थामा छैन । यसका लागि बहुरुपी पात्र, संस्था र संगठनहरुको बीचमा सहकार्य, समन्वय र सम्झदारी हुनुपर्छ

अबको बाटो

नेपाली समाजले राणाशासनको विरुद्धमा लड्ने हिम्मत गर्‍यो । राजका विरुद्धमा आन्दोलन चर्काउने साहस गर्‍यो । एक दलीय पञ्चायतका विरुद्ध सडकमा उत्रिन आँट गर्‍यो । प्रजातन्त्र प्राप्तिका लागि ज्यानको आहुती दिन तत्पर भयो । दश वर्षे सशस्त्र युद्ध पनि स्वीकार गर्‍यो । मुलुकमा शासन व्यवस्था परिवर्तन गर्न बाध्य बनाएको गर्भिलो इतिहास सुरक्षित छ । यद्यपि ल्याइएको र प्राप्त गरिएको शासन व्यवस्थाको सञ्चालन, व्यवस्थापन र परिचालन कसरी गर्‍यौं भन्ने कुरा अर्को पाटो हो ।

यसको मतलव हामी परिवर्तन, प्रगति र प्राप्तिका लागि निरन्तर लडिरहयौँ । एक पुस्ताले पूरा जीवन सडकमा जाँदै कोठामा फर्किँदै आˆनो पुस्ताको अन्त्य गर्‍यो ।

यतिका विघ्न बाधा र अडचन अनि कुशासन र अन्यायका विरुद्धमा लड्न तयार हुने हामी भ्रष्टाचार विरुद्धको लडाइँमा कहिले लाग्छौं होला ? भ्रष्टाचारी प्रवृत्ति र संस्कृतिप्रति कहिले प्रहार गर्छौं होला ? जुन दिनसम्म भ्रष्टाचारीलाई गाउँबाट, बस्तीबाट, शहरबाट र मुलुकबाट लखेट्ने संस्कृतिको विकास हुँदैन, तबसम्मका प्रयासहरु निर्थक हुने जस्तो लाग्छ ।

भ्रष्टाचार, कुनै एक पात्र, संस्था र संगठनले न्यूनीकरण गर्न सक्ने अवस्थामा छैन । यसका लागि बहुरुपी पात्र, संस्था र संगठनहरुको बीचमा सहकार्य, समन्वय र सम्झदारी हुनुपर्छ । सामाजिक जागरण र सचेतनाको स्तर जुन दिन बढ्छ, त्यो दिन समाज सम्वृद्धितर्फ उन्मूख हुन्छ ।

आज (सन् २०१६ डिसेम्बर ९) मनाइँदै गरेको भ्रष्टाचार दिवसको नारा ‘भ्रष्टाचार विरुद्धको सहकार्यः सुशासनका लागि अपरिहार्य’ भन्ने नाराको सार नै भ्रष्टाचारको न्यूनीकरण र नियन्त्रणका लागि सहकार्यको जरुरी रहेको छ । यो कुनै एकल प्रयासबाट सम्भव नहुने भएकाले यसका लागि बहुल प्रयासको आवश्यका पछए ।

भ्रष्टाचार र सुशासनको सम्बन्ध मुसा र विरालोको जस्तो सम्बन्ध हुने गर्छ । जहाँ दुवै एकै साथ समान हैसियतमा रहन सक्दैनन् । भ्रष्टाचारले सुशासनलाई सिध्याउने ध्याउन हुने गरेको हुन्छ भने सुशासनले भ्रष्टाचारको अनुपस्थिति खोजेको हुन्छ ।

भ्रष्टाचारलाई नियन्त्रण गर्ने गतिला पार्टनरसीपको आवश्यकता पर्दछ । जुन दिनसम्म भ्रष्टाचारीहरु अख्तियार, अदालत र भ्रष्टाचार सम्बन्धी ऐन कानूनसँग मात्र डराएर पुग्छ, त्यो दिनसम्म रत्तिभर भ्रष्टाचार घट्न सक्दैन । यसका लागि अब सामाजिक जागरणको थालनी हुुनुपर्दछ ।

नागरिक समाज सशक्त हुनुपर्छ । युवाहरु संगठित भएर यसको विरुद्धमा ऊर्जा खर्च गरिदिनुपर्छ । पत्रकारले भनिदिनु पर्दछ । लेखिदिनुपर्दछ । बोलिदिनु पर्दछ । पीडित पक्षले सम्बन्धित निकायमा सूचना प्रवाह गरिदिनु पर्दछ ।

भ्रष्टाचाररहित समाजका लागि नानीबाबुहरुलाई त्यसको पाठ पढाउन थाल्नुपर्छ । अब महेन्द्रमाला होइन, भ्रष्टाचार विरुद्धको माला पढाउन थाल्नुपर्छ ।

हामीले मुलुकलाई सम्वृद्ध, समुन्नत र सुशासनको गन्तव्य तर्फ अग्रसर गराउनको लागि असल भाव चयन गयौँ, तर त्यसका लागि आवश्यक पर्ने गृहकार्य गर्न सकिरहेका छैनौं  । मन, वचन र कर्मका साथ भनौ आजैको दिनदेखि भ्रष्टाचार विरुद्धको अभियानमा हाम्रो पनि ऐक्यवद्धता छ ।

(लेखक अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय सुर्खेतमा कार्यरत छन्)

लेखकको बारेमा
तुल खड्का

राजनीतिशास्त्र र द्वन्द्व व्यवस्थापनमा स्नातकोत्तर गरेका लेखक राजनीतिक र प्रशासनिक विषयमा रूचि राख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?