+
+

कथाः दोस्रो लोग्नेको खोजी

वैकुण्ठ ढकाल वैकुण्ठ ढकाल
२०७३ मंसिर २५ गते १०:०५

‘अँ साँच्ची, तिम्रो बटौलीको साथीको चाहिँ के छ खबर ?’

‘बिजोग छ, एउटा राम्रो केटा खोजिदिनु भन्दै थिई । हेर्नु न, मैले कहाँबाट कसरी खोज्दिनु ? सक्नुहुन्छ भने तपाईं सहयोग गरिदिनु न !’

‘भइहाल्छ नि, मसँगै बिहे गर्नु भनिदेऊ न त ।’

‘नजिस्कनु न, मैले सिरेस्ली भनेकी ।’

वैकुण्ठ ढकाल

‘विवाहित मान्छेलाई अब मैले के भनेर लोग्ने खोजिदिनु नि ?’

‘हो, मेरी साथी विवाहित हो । ३२ वर्षकी भइन् । दुई छोरीकी आमा हुन् । असल स्वास्नी पनि हुन् । तर, लोग्नेको खोजीमा छिन् । एउटा असल लोग्नेको खोजी गरेर उपकार गरिदिनु छ ।’

‘हेल्लो म्याडम, तपाईं होशमा हुनुहुन्छ ? यो कुरा सुरमै गरिरहनुभएको छ कि बेसुरमा ?’

‘महासय, तपाईंलाई कुनै कन्फ्युजन भयो र ? म पूर्ण होसहवासमै छु । मन मष्तिष्कबाटै बोलिरहेछु । सायद तपाईं मुखले बोल्ने भएकाले, मनको कुरा बुझ्न सक्नुहुन्न । मनको बोली सुन्नुस्, हृदयको गहिराइ बुझ्नुस् ।’

‘ओके म्याडम, तपाईं होसहवासमै हुनुहुँदो रहेछ । माफ पाऊँ, मैले तपाईंको दर्शन अझै पनि बुझ्न सकिनँ ।’

‘हो, तपाईं लोग्नेमान्छेहरु दर्शन बुझ्नुहुन्न । महिला भनेको योनी, स्तन र पाठेघर मात्रै हो भन्ने ठान्नेहरुलाई के भनौं । अझ तपाईं महासयले त महिलालाई सन्तान उत्पादनको कारखाना मात्रै त बुझ्नुभएको होला । त्यो पनि हैन भने महिला पुरुषको वीर्यदानी मात्रै त होला नि हैन ?’

‘ओ, हेल्लो ! तपाईंको साहित्य झन् एकदमै क्लिष्ट र दुरुह भयो, कृपा गरी सरल भाषामा बुझाइदिनुस् न !’

‘हो, तपाईं बुझ्नुहुन्न । स्तन भनेको मातृत्व, योनी भनेको सृष्टि हो भन्ने बुझ्न धेरै समय लाग्छ । अनि विवाह भनेको दुई व्यक्तिबीचको उच्चतम समझदारीको संस्था हो । त्यहाँ माया, विश्वास, सम्मान, सहअस्तित्व, सेवाभाव यी र यस्ता अनेकौं आयाम हुन्छन् । विवाह बलात्कारलाई वैधानिकता दिने संस्था हैन भनेर तपाईंले हेक्का राख्नुपर्‍यो ।’

मलाई अहिलेसम्म पनि श्रीमानसँग त्यो सम्बन्ध राख्न नपरे हुन्छ भन्ने जस्तो लाग्छ । त्यही दिनदेखि रातसँग डराउँछु, पुरुषसँग पनि डर लाग्छ

‘यसमा मैले कहिले असहमति जनाएँ र मैले ?’

‘हो, तपाईं पनि आम पुरुष नै हो । मुखले असहमति नजनाउने तर व्यवहारमा माया, विश्वास, सम्मान, सहअस्तित्व र सेवाभावलाई नस्विकार्ने ?’

फोन काटियो, ब्यालेन्स सकिएछ ।

– नाम पूजना । उमेर २८ वर्ष । दुई सन्तानकी आमा । तौल अहिले ४५ किलो । देखभेट अहिलेसम्म भएको छैन । तर, ‘फोनफ्रेन्ड’ भएको तीन वर्ष भइसक्यो । सबै विषयमा हल्काफुल्का कुरा मात्रै भइरहन्थ्यो । सम्बोधन तँ, तिमी, तपाईं, हजुर सबै चल्थ्यो ।

मोबाइल चार्जमा हालेर ओछ्यानमा पल्टिएको मात्रै थिएँ, मोबाइलको स्क्रिन बल्यो । पाल्पाली ठिटो कलिङ ! अर्थात् उनै पूजना शर्मा । उनले आफू ब्राह्मण समुदायको भनेकोले मैले नै थर शर्मा बनाइदिएको । म विवाहित पुरुष भएकोले महिलाको नम्बर पाल्पाली ठिटो भनेर सेभ गरेको थिएँ ।

म घरधन्दा सकेर कोठामा पुगेको मात्रै थिएँ, मेरा लोग्ने बनेका लोग्नेमान्छेले झम्टिए । डराएर ढोका नजिकै पुगेकी मात्रै थिएँ, उनले नै गड्याम्म ढोका बन्द गरेर आग्लो हाले

उनको श्रीमान् महिनैपिच्छे रेमिट्यान्स पठाउने विदेशमा छन् । तर, मैले फोन गर्दा आफ्नो अनुकूलतामा मात्रै फोन उठाउने समझदारी गरेकी छन् उनले । अहिलेसम्म समझदारीमा पूर्ण वफादार थिइन् । तर, आज आफैं फोन गरिन् । दुई पटकसम्म उठाइनँ । तेस्रो पटकमा उठाएँ ।

‘वाह, महासय वाह, विवाह संस्थाको बारेमा कुरा त पचाउन नसक्नेसँग मैले अरु के अपेक्षा राख्न सक्छु र !’

‘त्यसो हैन, मेरो मोबाइलमा ब्यालेन्स सकियो ।’

‘ठीक छ, मैले एक पटकलाई पत्याइदिएँ । मेरो मोबाइलमा आज टन्न ब्यालेन्स छ, नसकिँदासम्म कुरा गर्छु । तर, आज म प्रस्तोता र हजुर श्रोता हुनुपर्छ । म अरुको हैन, आफ्नै नितान्त निजी कुरा गर्छु । जुन कुरा मैले जीवनमा भोगेँ, तर कसैलाई पनि भन्न सकिनँ । भन्न जरुरी पनि ठानिनँ ।’

‘जो आज्ञा, मलाई तपाईंको शर्त मञ्जुर छ । तर, कुरा सुन्दासुन्दै निदाउँछु कि, चेक पनि गर्दै गर्नुहोला ।’

तपाईले सोध्नु हुन्थ्यो नि, सुहागरात कस्तो भयो ? कुरा त्यहीँबाट सुरु गर्छु –

मेरा शरीरका वस्त्रहरु सबै छोडाए, आफू त पहिल्यै जन्मँदा जस्तै भएका थिए । खै तपाई लोग्नेहरु यसलाई नै सुहागरात भन्नुहुन्छ कि ? सम्भोग पनि भनेको सुनेको छु । तर, व्यवहारमा कत्तिको हुँदो हो सम + भोग, यस्सै भन्न सक्दिनँ ।

म १८ वर्षकी मात्रै थिएँ, बा-हजुरबाको रहर भनूँ वा दबावले बिहे गर्न बाध्य भएँ । हजुरबालाई नातिनीको कन्यादान गरेर स्वर्गको ढोका खुला गर्नु थियो । बा र हजुरबाको दबाव, आमाको याचनाले पग्लिएँ । स्कूल पढ्दापढ्दै बिहेको मण्डपमा बसेँ । खै, हाम्रोतिर बेहुलीका साथ लगाएर साथीहरु पठाउँथे । त्यो कारणले म तीन दिन बाँचेँ, बलात्कारबाट । चौथो दिन मेरो साथी बनेर आएकी बहिनी घर फर्किई । त्यसपछि मलाई बचाउने कोही भएनन् ।

म घरधन्दा सकेर कोठामा पुगेको मात्रै थिएँ, मेरा लोग्ने बनेका लोग्नेमान्छेले झम्टिए । डराएर ढोका नजिकै पुगेक मात्रै थिएँ, उनले नै गड्याम्म ढोका बन्द गरेर आग्लो हाले । हामी बस्ने घर छुट्टै थियो, सासू-ससुरा अर्कै घरमा । छोराको बिहे गर्ने बेला भयो भनेर सासू-ससुराले छुट्टै घर बनाइदिएका । करप्प समाउँदा म त पिटिक्कै भाँचिए जस्तो भएँ । रोइकराइ गरेँ । भाग्न खोजिरहेँ । तर, म बाघको मुखमा परेको सानो पाठो भएँ । कसैगरी पनि फुत्किन सकिनँ । रुनुको बदलामा मैले झापड भेटेँ । महासय ! सुहागरातको क्रममै लोग्नेको पिटा खान पाउने म जस्तो भाग्यमानी अर्को कोही होला ? नहोस् त्यस्तो कोही । मेरा शरीरका वस्त्रहरु सबै छोडाए, आफू त पहिल्यै जन्मँदा जस्तै भएका थिए । खै तपाई लोग्नेहरु यसलाई नै सुहागरात भन्नुहुन्छ कि ? सम्भोग पनि भनेको सुनेको छु । तर, व्यवहारमा कत्तिको हुँदो हो सम + भोग, यस्सै भन्न सक्दिनँ ।

त्यो दिन म एक पटक मात्रै लुटिएँ । भोलिपल्ट दुई पटक । पर्सिपल्ट तीन पटक ।

संयोगवश त्यसपछि चार दिन मैले छुट्टी पाएँ । अर्थात् पर सरेँ । प…र हामी सुत्ने र सासू-ससुरा सुत्ने घरबाट पर । गोठमा सरेँ । पर सर्दा बलात्कारबाट बचे पनि जाडोबाट बच्न साह्रै कठिन भयो ।

त्यसकै प्रभाव होला, सायद मलाई अहिलेसम्म पनि श्रीमानसँग त्यो सम्बन्ध राख्न नपरे हुन्छ भन्ने जस्तो लाग्छ । त्यही दिनदेखि रातसँग डराउँछु, पुरुषसँग पनि डर लाग्छ ।

हुन त अहिले हामीबीच चाँडोमा एक वर्ष र ढिलोमा दुई वर्षमा भेट हुन्छ । यसबीचमा मेरो आठ वर्षकी छोरी र डेढ वर्षको छोरो भएको छ । डेढ वर्षको हुँदा पनि छोरोले बाबुको मुख देखेको छैन ।

अब केही महिनामा म फेरि लुटिन्छु । पछिल्लो समय मलाई शारीरिक दुःख केही छैन । तर, मनमा सुहागरातका नाममा भएको लुटाहा रात घुमिरहन्छ । आफूलाई चाह नभए पनि लोग्नेका लागि तयार भइदिनुपर्छ । उनले जतिबेला भन्यो, त्यतिबेलै । तर, मलाई दुखेसो छैन । लोग्नेले त्यो बेलामा आफ्नो मात्रै स्वार्थ पूरा गरे पनि अरु कुरामा कुनै समस्या छैन ।

हजुरबाको स्वर्ग जाने ढोका खुला गरिदिन र बुबाको नाकमा रहेको इज्जत जोगाउन अनि राम्रोसँग घर गरेर खाएस् है छोरी भन्ने आमाको आदेश शिरोपर गरिरहेकी छु । धर्म निर्वाह गरिरहेछु ।

आफू पनि तीन दशकको यात्रामा छु, लोग्ने पनि चार दशकको यात्राबाट उकालो लागिसकेका छन् । अब कति नै बोक्नु पर्ला र ४५ किलोको मान्छेले ९० किलोको भारी !

पूजनाको शर्त विपरीत बोलेँ म, ‘ए त्यसो भए हजुरबालाई स्वर्ग पठाउने नातिनीले  साथीलाई चाहिँ नर्क पठाउन लोग्ने खोज्दिन लागेकी त ?’

बूढाबूढी र छोरीहरु एक महिना राम्रैसँग हाँसीखुसी बसे । त्यसपछि विदेश गएका श्रीमानले फोनमा अनेकौं लाञ्छना लगाए । पैसा पठाउन छाडे । कोठा भाडा तिर्न त परै जाओस्, बिहान-बेलुका खाने अन्न समेत भएन

ओ मिस्टर ! सबै विषयलाई त्यसरी सामान्यीकरण नगर्दै वेश होला । मेरो र उनको विलकुल फरक छ, परिस्थिति । जैविक आवश्यकता परिपूर्तिमा उनीहरुबीच कुनै समस्या छैन । मभन्दा केही वर्षअघि हो उनी वैवाहिक सम्बन्धमा जोडिएकी । उनको सुहागरात मेरो जस्तो पीडादायी भएन । सुखद, सुमधुर र स्मरणीय रह्यो रे । उनको त्यो कुराले मलाई डाह लाग्छ । तर, उनले जब दोस्रो सन्तानको रुपमा छोरी नै जन्माइन्, अनि समस्या सुरु भयो । विदेशबाटै लोग्नेले हप्काए । को-कोसँग लागिस् अनि छोरी भयो भन्नसम्म पछि परेनन् । जबकि बिरामी वा यस्तै के-के शीर्षकमा बिदा थपीथपी साथीको महिनावारी रोकिएपछि मात्रै विदेश उडेका थिए उनका लोग्ने ।

जेठी छोरी आमासँग र कान्छी छोरी बाबुसँग दुरुस्तै मिल्छे । विदेशबाट आएर छोरीको अनुहारमा आफ्नै अनुहार देखेपछि लाञ्छना त केही लगाएनन् । मीठो बोलीले फकाइफुल्याई गरेर बुटवलमा कोठा लिएर सुखसँग राख्छु, अब उतै घर बनाउने, घर नबनाउन्जेल मात्रै कोठामा बस्ने हो भनेछन् । छोरीहरुलाई पनि राम्रो स्कूल पढाउने भनेछन् । उसले पनि पत्याइन् । भैंसी, खसीबाख्रा सबै बेचिन् । खेतबारी पनि बिक्री भएर पैसा जति लोग्नेको पोल्टामा पर्‍यो । घडेरीका लागि अलिकति पैसा पुगेन भनेपछि उसले आफ्ना सबै गहना पनि लोग्नेलाई बुझाइछ ।

बूढाबूढी र छोरीहरु एक महिना राम्रैसँग हाँसीखुसी बसे । त्यसपछि विदेश गएका श्रीमानले फोनमा अनेकौं लाञ्छना लगाए । पैसा पठाउन छाडे । कोठा भाडा तिर्न त परै जाओस्, बिहान-बेलुका खाने अन्न समेत भएन । गाउमा खेतीकिसानी र पशुपालन गरेर राम्रोसँग छोरीहरुको पालपोषण गरिरहेकी साथीको के हाल भयो ? सम्झँदा पनि आङ सिरिङ्ग हुन्छ ।

कामका लागि पूरै बुटबल बजार चहारिन् । पढाइ छाडेर बिहे गरेकी बिचरीसँग न त हातमा सर्टिफिकेट भयो, न त कुनै सीप नै । जागिर खोज्न निस्किँदा पनि आफन्तहरुले उनका बूढालाई भ‘का नभ’का कुरा लगाएर उचालिरहे ।

लोग्ने भनाउँदो, आफन्त र बजारियाका कुरा सुनेर विदेशबाटै तँ अब आफ्नो बाटो लाग्, म मेरो बाटो लाग्छु भन्न थाले । अब उनीहरु कानुनी रुपमा मात्रै लोग्ने-स्वास्नी बाँकी छन् ।

यसर्थ उनलाई सामाजिक सुरक्षाका लागि पनि लोग्ने चाहिएको छ । माया, विश्वास, सम्मान, सहअस्तित्व, सेवाभाव स्विकार्ने । कुमार केटो हैन, एकल पुरुष वा विदुर भए वेश हुन्छ ।

पुरुष महोदय, मेरी साथी शारीरिक आवश्यकता मात्रै पूरा गर्नका लागि लोग्नेको खोजीमा छिन् भन्ने अर्थमा नबुझ्नुस् ।

त्यसकै लागि हो, मैले यहाँसमक्ष मेरो नितान्त निजी कुरा सेयर गरेको । बलात्कारलाई वैधानिकता दिने संस्था स्विकारेको उदाहरण बनेको ।

टुँट टुँट गर्दै फोन काटियो । म नि:शब्द भएँ ।

कस्तो संयोग, पूजनाको मोबाइलको ब्यालेन्स पनि मेरो जस्तै सकियो सायद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?