Comments Add Comment

पुस ७ देखि नारायणगढ-मुग्लिन सडक दैनिक चार घण्टा अवरुद्ध हुने

वैकल्पिक बाटो प्रयोग गर्न सडक आयोजनाको सुझाव

Muglin-Narayangadh-Road-Block१ पुस, चितवन । तराईलाई राजधानीसँग जोड्ने मुख्य नाका नारायणगढ-मुग्लिन सडक खण्ड स्तरोन्नतिका लागि दैनिक ४ घण्टा बन्द गरिने भएको छ । सडक मर्मतका लागि पुस ७ गतेदेखि दैनिक ४ घण्टा सवारी साधन आवत-जावत रोकिन लागेको हो ।

दशैं अघि पनि यो सडक दैनिक चार घण्टा बन्द गरिएको थियो । आगामी पौष ७ गतेदेखि बिहान ११ बजेबाट ३ बजेसम्म पूर्णरुपमा सवारी साधन रोकेर निर्माण कार्यलाई तीव्रता दिने नारायणगढ-मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवले जानकारी दिए ।

‘विभिन्न कारणले यो सडक निर्माणमा समस्या आएको छ’ यादवले भने, ‘दुईघण्टा पहाड फोर्ने र दुई घण्टा सफा गर्ने काम हुने भएकाले पौष ७ गतेदेखि हरेक दिन ४ घण्टा सडक बन्द हुन्छ, ।’

सडक निर्माणका क्रममा काठमाडौंबाट आउने सवारी साधनहरु मुग्लिनमा रोकिनेछन् भने नारायणगढतर्फ दासढुंगामा रोकिनेछन् । सडक स्तरोन्नतिका कारण आवागमन बन्द गर्नुपरेको स्पष्ट पार्दै आयोजनाले उक्त अवधिमा सकभर वैकल्पिक बाटो प्रयोग गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।

baikalpik-marga

सडक फराकिलो पार्ने काम भैरहेकाले पश्चिमतर्फ जाने गाडीहरुलाई सिद्धार्थ राजमार्ग र पूर्वतर्फ जाने गाडीहरुलाई त्रिभुवन राजपथलाई विकल्पका रुपमा प्रयोग गर्न सुझाइएको छ ।

विश्व बैंकको पैसा, भारतीय कम्पनीलाई ठेक्का

भूकम्प र नाकाबन्दीका कारण लक्ष्यअनुरुप काम हुन नसकेको नारायणगढ-मुग्लिन सडकखण्ड विस्तार कार्य पछिल्लो समय तीव्र गतिमा अगाडि बढाइएको छ ।

विसं ०७२ वैशाखदेखि थालिएको सडक स्तरोन्नति ०७४ भदौमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको छ । विश्व बैंकको दुई अर्ब ९० करोडको आर्थिक सहयोगमा सो सडकको पुनर्निर्माण थालिएको हो ।

आँपटारीदेखि दासढुङ्गासम्म भारतीय बीएलए तथा नेपाली श्रेष्ठ निर्माण कम्पनीले ठेक्का लिएको छ । त्यसपछिको सिमलतालसम्म भारतीय उड हिल तथा नेपाली लामा निर्माण कम्पनीले ठेक्का लिएको छ । त्यस्तै सिमलतालदेखि मुग्लिनसम्म भारतको सुपि्रम र नेपाली रौताहा निर्माण कम्पनीलाई ठेक्का दिइएको छ ।

यस सडक खण्डमा दैनिक आठ हजारभन्दा धेरै गाडी आवत-जावत गर्छन् । जीर्ण र साँघुरो भएकाले यो सडकखण्ड अत्यधिक दुर्घटना हुने क्षेत्रमा पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment