Comments Add Comment

यसरी बन्यो बिदेशमा साझा नेपाल चिनाउने नेपाल हाउस !

nepal-house-1final

मेलवर्न । अष्ट्रेलियामा भएका नेपाल फेस्टिबलमा मुख्य आकर्षणका रुपमा २०१४ देखि नेपाल हाउस हुने गरेको छ । पहिलोपटक २०१४ मा सिड्नीमा नेपाल हाउस बनाइएको थियो ।

यसपटक सिड्नी र मेलवर्नका दुबै फेस्टिबलमा आ-आफ्नै कला र शैलीका नेपाल हाउस बने । सिड्नीमा बनेको नेपाल हाउसकी निर्माता टिमकी एक पत्रकार सुधीरा शाहका अनुसार, ‘नेपाल हाउसभित्र पस्दा आफैलाई गौरवको अनुभूति हुन्थ्यो ।’

सिड्नीको नेपाल हाउसमा आकर्षणको ठूलो फोटो थियो- कालापत्थरमा यात्रा गरिरहेको एक यात्रुको । साधारणतया एक मानिस जत्तिकै अग्यो यो फोटो राखिएको ठाउँमा बेला-बेला हिमपातको अनुभूति हुने गरी व्यवस्था गरिएको थियो । कालापत्थरमा उभिएको यात्रुको मुहारमा नेपाल फेस्टिभलको आगन्तुकले आफ्नो अनुहार राख्न मिल्थ्यो ।

kala-pathhar-in-nepal-house

व्रिटिश गोर्खाकी अवकाश प्राप्त स्वास्थ्यकर्मी रुकमिणी देवानको एकल संकलनका भूतपूर्व गोर्खा सम्बन्धी सामाग्रीहरु आकर्षणको अर्को कुनामा थिए ।

गैरआवासीय नेपाली संघ अष्ट्रेलियाकी नेतृ प्रतिज्ञा अधिकारीले नेपाल हाउसमा राखिएका साहसिक पर्यटनसँग सम्बन्धित सामानहरु भाडामा ल्याएकी थिइन् । संगीत सामग्रीदेखि दहि मथ्ने ठेकीसम्मको व्यवस्था नेपाल हाउसभित्र थियो । केही सामाग्री यसपटक नेपालको पर्यटन वोर्डले पठाइदिएको थियो ।

nepal-house-2-final

मेलवर्नको नेपाल हाउसको कथा अर्कै छ । नेपाल फेस्टिबल हुनुभन्दा एक हप्ता अगाडिदेखि नेपाल हाउसभित्र सजाइने सामाग्रीहरुको संकलन सुरु भएको थियो । स्वयंसेवामा खटेका मेलवर्नका गौतम लामिछानेले अनलाइनखबरलाई भने, ‘हामी एक हप्ता अघिदेखि नेपाल हाउसभित्रका सजावट सामाग्री संकलनमा जुट्यौं ।’

उनका अनुसार नेपाली महावाणिज्यदूतावासबाट गौतम वुद्धको मूर्ति ल्याइएको थियो । स्थानीय राजनीतिज्ञ राजु शाक्यको घर ब्राउनसिटबाट स्वर्ण जडित मच्छिन्द्रनाथको मूर्ति ल्याइयो ।

nepal-house-4

स्वयंसेवक गौतमका अनुसार करिब एक घण्टा टाढा टार्नेटस्थित अरुण चित्रकारको निवासबाट काल भैरबको मूर्तिसहित काठ र पितलका मुकुण्डोहरु ल्याइएको थियो । सनसाइनस्थित पसलबाट लाखे पोशाक र ढोलक ल्याइयो ।

सहनाई र पञ्चेबाजा अनि मादल कहाँबाट अाइपुगे ? संकलनमा खटेका गौतम लामिछाने भन्छन्, ‘कोबक निवासी दीपक आचार्य, सनसाइन निवासी माया सुवाल र प्रेष्टन निवासी सुवास बस्नेतले मादलहरु दिनुभयो । हामीले रिजर्वर निवासी तारा गैरेसँग पञ्चेबाजा र गोविन्द गैरेसँग सहनाई माग्यौं ।’

nepal-house-3

नेपाल हाउसका भित्ताहरुमा सजिएका पोष्टरहरु काठमाडौंबाटै प्रकाशन गरेर ल्याइएको थियो । पोष्टरहरुको चयन तथा डिजाइन रञ्जन वैद्य, उज्जवल खनाल, अरुण चित्रकार र उगेन्द्र रेग्मीले गरेका थिए । नेपाल हाउसभित्र मादल र वर्कसप सञ्चालन गरिएको थियो जहाँ गैरनेपाली र बच्चाहरु निकै रमाएका थिए ।

‘हाम्रो घरभित्र आउने र झ्यालबाट चिहाउने सबैका लागि नेपाल हाउस स्मरणीय भयो । दर्शक खुसी हुँदा हामी थकित हुने गरी खटेको खटाई बिर्सियौं,’ स्वयमसेवक गौतमले भने, ‘मेलवर्नका सामाजिक अगुवा शेष घले, चन्द्र योञ्जनलगायतले अभिभावकत्व गरेकाले यहाँको हाम्रो समाज निकै मिलनसार छ । हामी सबै मिलेर घर-घरबाट एउटा-एउटा चिज ल्यायौं र साझा घर बनायौं- नेपाल हाउस ।’

उनलाई अब केही वर्षभित्रै एकदिने अस्थायी नेपाली घर होइन साँच्चैको नेपाली घर बन्ने विश्वास छ ।

nepal-house-5

नेपाल हाउसको निर्माणको नेतृत्व गरेका रञ्जन वैद्यले अनलाइनखबरसँग भने, ‘हामीले सोचे जस्तै बन्यो । नेपाल फेस्टिबलको नेपाली हाउस ।’

उनका अनुसार कम्तिमा दुई हजार दर्शक नेपाल हाउसभित्र आए । र, पाँचसय उनलाई स्वयंसेवकहरुले त्यहाँ राखिएका बस्तुबारे जानकारी दिए ।

स्याण्ड मोडेलबाटै बनाउन चाहे पनि फेडेशन स्क्वायरको इञ्जिनियरिङ अवस्थितिमा यो सम्भव नभएको उनको भनाइ थियो ।

nepal-house-6

के प्रत्येक पटक फेस्टिबलमा एक दिनका लागि मात्र नेपाली घर देख्न पाइने हो ? त्यो होइन ।

मेलवर्नमा नेपाली समुदायको आफ्नै घर निर्माणमा नेतृत्व गरिरहेका वोम योञ्जन भन्छन्, ‘हामीसँग दुई लाख पचास हजार डलर रकम जम्मा भइसकेको छ ।’ जसमध्ये ५० हजार डलरचाहिँ भिक्टोरियाका लागि नेपालका अबैतनिक महाबाणिज्यदूत चन्द्र योञ्जनले प्रदान गरेका हुन् ।

उनका अनुसार आगामी वर्ष २०१७ को मध्यतिर हामीसँग आफ्नै स्वामित्वको सामुदायिक घर हुने छ ।

अष्ट्रेलियामा नेपाली घरको परिकल्पना केही वर्षभित्र भिक्टोरियामा पूरा हुँदैछ जहाँ पक्का नेपाल हुनेछ । मन्दिर, मस्जिद, चैत्य, गुम्बा हुनेछन् ।

अगुवा वोम योञ्जनको भाषामा- जन्मेदेखि वृद्धावस्थासम्मका सबै नेपाली संस्कार गर्न मिल्ने नेपाली घर बन्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment