सिड्नी । नेपाली हिन्दु समाज अष्ट्रेलियाले सिड्नीमा पशुपतिनाथको मन्दिर निर्माण अभियान सुरु गरेको छ ।
नेपाली हिन्दु समाज अष्ट्रेलिया सन् २०११ देखि सिड्नीमा बैदिक सनातन धर्म, संस्कार र सँस्कृति संरक्षण अभियानमा क्रियाशिल छ । सो संस्थाले स्थापनाकालदेखि नै नेपाली कला, धर्म, सँस्कृति, चाडपर्व र परम्परा भित्रका मूल्य मान्यता एवं महत्वलाई निरन्तरता दिँदै आइरहेको छ ।
अष्ट्रेलियामा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदाय तथा वैदिक सनातन ॐ कार परिवारहरुको समेत सहभागिता र सहयोग जुटाई पशुपति नाथ मन्दिर स्थापनाको अभियान सुरु गरिएको समाजका अध्यक्ष सुर्य गौतमले जानकारी दिए ।
‘नेपाली कला र नेपाली गौरवतालाई विश्वमा चिनाउने उद्देश्य राखेर निकट भविश्यमा नै अष्ट्रेलियाको सिड्नी क्षेत्रमा हाम्रो आस्थाको केन्द्र भगवान पशुपतिनाथको मन्दिर निर्माण गर्छौं,’ उनले भने ।
सोही अभियान अन्तर्गत गर्ने ग्रान्भिलमा ‘ॐकार भजन सन्ध्या’ कार्यक्रम आयोजना गरिएको छ । सो कार्यक्रम नेपाली हिन्दु समाज अष्ट्रेलिया, ॐकार ध्वनी परिवार र ग्रान्भिल नेपाली कम्यूनिटी क्लबको सयुक्त हातेमालोमा डिसेम्वर महिनाको १८ तारिख आइतबारका दिन ग्रान्भिल यूथ एण्ड कम्यूनिटी रिक्रियसन सेन्टरमा गरिएको थियो । दिउँसो ३ बजेदेखि साँझ साढे सात बजेसम्म चलेको कार्यक्रममा ८ हजार अष्ट्रेलियन डलर संकलन भएको थियो ।
कार्यक्रमको शुरूमा भारतको दिल्लीबाट आएकी योगा शिक्षिका ज्योती आनन्दबाट योग अभ्यास गराइएको थियो ।
त्यसपछि नेपालबाट अष्ट्रेलियाको भ्रमणमा रहेका सगरमाथा टेलिभिजनमा ‘ॐकार भजन’ कार्यक्रम सञ्चालन गर्दै आएका मुकुन्द शर्माले ठूलो संख्यामा उपस्थित भक्तजनसामु भजन सन्ध्या कार्यक्रमलाई अघि बढाएका थिए ।
कार्यक्रममा ग्रान्भिल नेपाली कम्यूनिटी क्लवका अध्यक्ष राम रूवालीले पशुपतिनाथ मन्दिर निर्माणको आवश्यकताबारे प्रकाश पारेका थिए ।
कार्यक्रममा हिन्दु समाज अष्ट्रियाले स्थापनाकालदेखि अहिलेसम्म गरेको कामको वृत्तचित्र देखाइएको थियो ।
हिन्दु समाज अष्ट्रियाको स्थापनाकालदेखि अहिलेसम्म योगदान पुर्याएका बिशिष्ठ ६ जना ब्यक्तित्वहरु भिमप्रसाद पौडेल, जानकी पौडेल -संयुक्त), शंकर गुरूङ, नारायण भट्ट, श्याम घिमिरे, पि्रती शर्मा घिमिरे र मुकुन्द शर्मालाई प्रमाणपत्रले सम्मान समेत गरिएको थियो ।
नेपाली हिन्दु समाज अष्ट्रेलियाको सचिव प्रन्चना शर्माले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।
प्रतिक्रिया 4