Comments Add Comment

‘छाउघर’मा छाउपडीको व्यथा

काठमाडौं । रजस्वलाको बेला छाउगोठमा बसेकी अछामकी एक किशोरीको गत शनिबार मृत्यु भएको खबर आएपछि छाउपडी प्रथा एक पटक फेरि बहसको विषय बन्यो । सुदूरपश्चिम क्षेत्रमा कायम यो प्रथा समाजको कलंक भन्दै विभिन्न टीकाटिप्पणी प्रकट भए । यो ताजा उदाहरण रहिरहँदा छाउपडीकै विषयमा राज सरगमको उपन्यास छाउघर सार्वजनिक भएको छ ।

book-launch-chhaugharमंगलबार राजधानीमा हास्य अभिनेता हरिवंश आचार्य, लेखक अमर न्यौपाने र पूर्व मिस नेपाल माल्भिका सुब्बाले पुस्तक लोकार्पण गरे ।

सामाजिक अभियन्ता समेत रहेकी माल्भिकाले आफू महिनावारी हुँदा घरपरिवारमा खेप्दै आएको व्यक्तिगत भोगाइ सुनाउँदै पुस्तकले त्योभन्दा दर्दनाक पाटोलाई संवेदनशील रुपमा चित्रण गरेको बताइन् । महिनावारीको बेला बार्नु नपर्ने लिम्बू परिवारबाट बिहे गरेर नेवार समुदायमा गएपछि पाँच वर्षयता भेदभाव झेल्नुपरेको उनको भनाइ थियो ।

महिनावारी भएको बेला चोखोनितो बार्नुपर्छ भन्ने रुढीवादी सोचका कारण हरेक महिना दास जस्तो बाँच्नुपर्दा श्रीमानसँग गुनासो गर्थेँ,’ उनले सुनाइन् छोराको पास्नीको बेला भने महिनावारी भए पनि पहिलो पटक बच्चालाई खाना खुवाउने आमाको हक उपयोग गर्न कसैलाई नभनी पूजामा सहभागी भएँ । मलाई पितृदोष लागेन, कुल पनि रिसाएनन् । उपन्यासमा मुख्य पात्र कलाले २२ दिन एकलास गोठमा सास्तीपूर्ण रुपमा बस्नुपरेको कथा पढ्दा आफ्नो भोगाइ सामान्य लागेको उनले बताइन् ।

अर्का वक्ता न्यौपानेले पुरुष लेखकले महिलाको मनोविज्ञान बुझ्न सक्दैनन् भन्ने धारणालाई राजले उपन्यासमा १२ वर्षीया किशोरीको भोगाइ लेखेर गलत साबित गरेको बताए । उनले छाउघरलाई थोरै पात्र, सानो कालखण्ड र सानो परिवेशमा लेखिएको शक्तिशाली उपन्यासको संज्ञा दिए ।

यस्तै, हरिवंशले टेलिभिजन कार्यक्रम बनाउने क्रममा केही वर्षअघि सुदूरपश्चिमका जिल्लाहरुमा पुग्दा देखेका छाउपडी सम्बन्धी नमीठा अनुभव सुनाए । उनले छाउपडी प्रथा रहेका ठाउँहरुमा पुरुषले भन्दा पनि महिलाहरुले नै आफ्ना छोरीबुहारीलाई छाउगोठमा बस्न प्रोत्साहित गरेको देखेका रहेछन् ।

आधुनिक महिलाहरुमा पनि अन्धविश्वास देखेँ,’ उनले सुनाए, ‘रजस्वला भएको बेला घरदेखि अलग्याएर गोठमा राखिँदा धेरै किशोरी मरेकोले छाउघर खासमा मान्छे मार्नका लागि बनाइएको मृत्युघर जस्तो बनेको छ । उनले कानुनी रुपमै अघि बढेर छाउगोठ भत्काइयो भने मात्रै आउँदो पुस्ताले छाउपडीबाट छुटकारा पाउन सक्ने बताए ।

पुस्तक लेख्दाको आफ्नो अनुभव सुनाउँदै लेखक राज सरगमले आफ्नो समुदायमा देख्दै आएको रुढीवादी प्रचलनबारे धेरै अध्ययन गरेर छाउघर तयार पारेको बताए ।

प्रकाशक अजित बरालले यो उपन्यासमा एउटी किशोरी २२ दिनसम्म छाउघरमा बस्दाको मनोदशा चित्रण गरिएको भन्दै यसले रजस्वालालाई हेर्ने आम मानिसको दृष्टिकोण समेत बदल्ने बताए ।

छाउघरले यस वर्षको गोठाले किशोर पाण्डुलिपि पुरस्कार पनि प्राप्त गरेको थियो । फाइनप्रिन्ट बुक्सले प्रकाशन गरेको पुस्तकको मूल्य तीन सय रुपैयाँ राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment