Comments Add Comment

प्रचण्ड र बाबुरामले एउटै मञ्चबाट भने- हामी मिल्नुको विकल्प छैन

पार्टी छाडेको १६ महिनापछि बाबुराम र प्रचण्ड एउटै मञ्चमा !

prachand-and-baburam-at-chacha-program-7

११ पुस, काठमाडौं । माओवादीबाट डा. बाबुराम भट्टराई अलग भएको १६ महिनापछि सोमबार प्रचण्ड र बाबुराम दुबै नेताहरु पहिलोपटक एउटै मञ्चमा देखिए । उनीहरु एउटै मञ्चमा मात्रै देखिएनन्, फेरि एक हुने संकेत पनि दुबै नेताले गरे ।

माओवादी अध्यक्ष प्रचण्ड र नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले सोमबार एउटा सार्वजनिक कार्यक्रममार्फत फेरि एकै ठाउँमा आउने संकेत गरेका हुन् । उनीहरुले आफूहरु एकअर्काका परिपूरक भएको भन्दै हालसम्मका उपलब्धी रक्षाका लागि प्रचण्ड र बाबुराम मिल्नुको विकल्प नभएको बताए ।

बाबुराम र प्रचण्डलाई एउटै मञ्चमा उभ्याउने संयोग माओवादीका स्वर्गीय नेता सांसद भक्ति पाण्डेको किताब ‘चाचा जी’को सार्बजनिकीकरण कार्यक्रममा जुरेको हो ।

प्रदर्शनीमार्गस्थित पुलिस क्लबमा आयोजित कार्यक्रममा प्रचण्ड र बाबुराम दुबैले आफूहरुबीच व्यक्तिगत वैमनश्यता नभएको भन्दै फेरि पनि एकै ठाउँमा उभिने परिस्थिति बनेको बताए ।

prachand-and-baburam-at-chacha-program-6

प्रचण्डले भने- उहाँ र म एकै ठाउँमा उभिने स्थिति आयो

कार्यक्रममा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने, ‘संविधान जारी भएलगत्तै बाबुरामजी अलग हुन हतार गर्नुभयो, अहिले संविधान कार्यान्वयनको चुनौति छ । अहिले परिस्थिति यस्तो बन्यो कि फेरि पनि उहाँ र म एकै ठाउँमा उभिने स्थिति आयो । हामी एकै ठाउँमा उभिन नसक्ने हो भने परिवर्तन उल्टिने खतरा छ । एक हुनुको विकल्प छैन ।’

प्रचण्डले अघि भने, ‘प्रचण्ड र बाबुराम मिल्नुपर्छ भन्ने भक्ति पाण्डेको अन्तिम चाहना थियो, संयोग नै हो हामी छुटेपछि आज एकै ठाउँमा छौं, त्यो पनि भक्ति पाण्डेकै सन्दर्भमा ।’

प्रचण्डले बाबुरामसँग आफ्नो दिनहुँ छलफल हुने गरेको भन्दै पहिलेकोजस्तै राम्रो सम्बन्ध हुन थालेको बताए । ‘हामीवीच दिनहुुँ छलफल भइरहेको छ, हाम्रा पक्षधरहरुले धेरै बिगारेनन् भने हामीबीच सहकार्य हुन सक्छ । अहिलेको स्थितिमा उहाँको र मेरो एउटै धारणा छ ।’

प्रचण्डले थपे- ‘माओवादी कमजोर भयो भनेर धेरै सल्बलाए । संविधान नरहेर के भयो र ? माओवादी त जाने हो नि भनेर विरोधीहरु धराप थापेर बसेका छन्, प्रचण्डले भने, ‘०४७ त फर्किन्न, आउने त ०७४ साल नै हो ।’

बाबुरामले पनि भने – मिल्नुको विकल्प छैन

baburam-bhattarai

कार्यक्रममा बाबुराम भट्टराईले हालको उपलब्धी गुम्न नदिन प्रचण्डसँग मिल्नुको विकल्प नभएको बताए । प्रचण्डसँग व्यक्तिगत रुपमा आफ्नो कुनै दुश्मनी नरहेको, तर अलग हुन परिस्थितिले बाध्य पारेको बताए ।

प्रचण्डलाई जवाफ दिँदै डा. भट्टराईले भने – ‘मैले हतार गरेको होइन । परिस्थति नै त्यस्तो थियो । मैले प्रचण्डलाई सजिलो बनाइदिएको हुँ । यो उपलब्धि गुम्न नदिन हामी मिल्छौं । मिल्नुको विकल्प छैन ।’

तर, डा. भट्टराईले पुरानो कार्यशैलीले मिलनविन्दु नभेटिने भन्दै उनले आ-आफ्नो ठाउँबाट नयाँ प्रयोग गर्नुपर्ने बताए । ‘पुरानो माओवादीले चल्दैन, आ-आफ्नो ठाउँबाट नयाँ प्रयोग गरौं,’ डा. भट्टराईले भने ।

त्यसअघि बोलेका माओवादी नेता दीनानाथ शर्माले प्रचण्ड र बाबुराम अलग भएर गल्ती गरेको भन्दै मिल्न आग्रह गरेका थिए ।

तत्कालीन विद्रोही नेकपा मसालका संयोजक शर्माले प्रचण्ड नेतृत्वको माओवादीसँग आफूले ०५७ सालमा एकता गरेको स्मरण गर्दै भने, ‘माओवादीसँग आजकै दिन हामीले एकतामा हस्ताक्षर गरेका थियौं । यत्तिका लागि मात्रै हामी एकतामा आएका थिएनौं । तपाईंहरुले गल्ती गर्नुभयो । मिल्नुस् ।’

त्यसअघि भक्ति पाण्डेका छोरा विश्वदीप पाण्डेले पनि आफ्ना बुवाको अन्तिम चाहना प्रचण्ड र बाबुरामबीच एकता होस् भन्ने रहेको कार्यक्रममा जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment