Comments Add Comment

प्याकेजमै डिल गर्ने प्रचण्डको प्रस्ताव, एमालेले भन्योः संशोधन फिर्ता लिनुस्

7-party-meet
प्रमुख सात दलको बैठक

११ पुस, काठमाडौं । संसदको अवरोध अन्त्यको प्रयासमा सभामुख ओनसरी घर्तीले बोलाएको प्रमुख सात दलको बैठक ठोस सहमति विना नै सकिएको छ । तर, नेताहरूले संसदको आगामी बैठकसम्म सहमति खोज्न औपचारिक र अनौपचारिक सम्वाद जारी राख्ने बताएका छन् ।

संविधानसभा भवन नयाँबानेश्वरमा भएको बैठकमा प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओली अनुपस्थित भए । एमालेबाट उपाध्यक्ष भीम रावल थिए ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले संविधान संशोधनलगायत अहिले उठिरहेका विषयलाई ‘प्याकेजमै डिल गरौँ’ भन्ने प्रस्ताव राखेका छन् ।

तर, एमाले नेता रावलले भने संशोधन फिर्ता लिनु पर्ने अडान राखेका छन् । ‘संशोधन प्रस्तावले विवाद सिर्जना गरेर अहिलेको अवस्था निम्त्याएको’ भन्दै उनले भने, ‘राष्ट्रियता, स्वाधीनता, स्वतन्त्रता र राष्ट्रिय अस्मितामा आँच पुग्न लागिरहेको बेला विवाद उत्पन्न हुने ढङ्गबाट आएको संशोधनको प्रस्ताव फिर्ता लिनुको विकल्प छैन, फिर्ता लिनुस् ।’

बैठकपछि नेताहरूले समस्याको समाधान दिन वार्तालाई औपचारिक र अनौपचारिक हिसाबले निरन्तरता दिने बताएका छन् । कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले वार्ता र छलफलका आधारमा सबै समस्या समाधान गर्न औपचारिक र अनौपचारिक छलफललाई निरन्तरता दिने सहमति भएको जानकारी दिए ।

माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले संविधान संशोधनको प्रस्ताव सहमति र प्रक्रियाका आधारमा अघि बढेपछि मात्रै निर्वाचनको मिति घोषणा गर्नु उपयुक्त हुनेबारे बैठकमा छलफल भएको जानकारी दिइन् । संसद्को अवरोध हटाउने, निर्वाचनको घोषणा गर्नेलगायत विषयमा एकमुष्ट सहमति खोज्ने विषयमा छलफल भएको उनको भनाइ थियो ।

राप्रपाका सचेतक दिलनाथ गिरीले राप्रपाले संसद्को गतिरोधलाई स्थगन गर्ने, आन्दोलनका मागलाई सम्बोधन गर्ने तथा स्थानीय तहको निर्वाचन गर्ने तीन विषयमा दलहरुको ध्यानाकर्षण गराएको जानकारी दिए ।

सरकारले मधेस मधेसकेन्द्रित दलको माग सम्बोधन गर्न भन्दै संविधान संशोधन विधेयक संसदमा दर्ता गराएको छ । तर, एमालेले भने संशोधन राष्ट्रघाती भएको भन्दै टेबल नै गर्न नदिने अडानसहित संसद अवरुद्ध गर्दै आएका छन् ।

सभामुख घर्तीले भने अहिले देखिएका समस्या समाधान गर्न दलबीच एकता र सहमति कायम गरेर अघि बढ्न दलहरूलार्इ आग्रह गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment