+
+

बालुवाटार बैठकमा देउवा र मधेसी मोर्चाका नेताहरुबीच चर्काचर्की

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष १२ गते २०:५७

mao-nc-morcha

१२ पुस, काठमाडौं । संविधान संशोधन विधेयक सहितका विषयमा सहमति खोज्ने प्रधानमन्त्री प्रचण्डले बोलाएको सत्तापक्षको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर दउवा र मधेसी मोर्चाका शीर्ष नेताहरुबीच चर्काचर्की भएको छ ।

बालुवाटारमा बसेको बैठकमा कांग्रेस सभापति देउवा आक्रमक रुपमा प्रस्तुत भएका थिए । उनले मधेसी मोर्चाले सहमति जनाएपनि नजनाएपनि चुनावको मिति घोषणा गर्ने बताए ।

त्यसअघि बोलेका प्रधानमन्त्री प्रचण्डले भने स्थिति जटिल रहेको भन्दै संविधान संशोधन विधेयकसँगै चुनावको प्रक्रियालार्इ अघि बढाउने प्रस्ताव राखेका छन् । तर, देउवाले भने मोर्चा सहमतिमा आए उनीहरुले भने अनुसार स्थानीय तह वा निकायको चुनाव गर्न आफूहरु सहमत भएको तर, चुनावको मिति भने कुनै हालतमा घोषणा हुने बताएका छन् ।

तर, मधेसी मोर्चाका नेताहरुले भने संविधान संशोधन नभएसम्म चुनाव हुन नसक्ने अडान लिए । उनीहरूले तीनबुँदे सहमति अनुसार संविधान संशोधन अघि बढाउन दबाव दिएका छन् ।

बैठकमा सहभागीहरूका अनुसार मधेसी मोर्चाका नेताहरुले बोलिरहँदा देउवा प्रत्येकसँग वाद प्रतिवाद गर्थे । रामसपाका महासचिव केशव झाले भने, ‘आज देउवाको प्रस्तुती एकदमै आक्रमक थियो । उहाँहरु अरु नेताहरुसँग मात्र होइन, मैसँग पनि वादप्रतिवाद गर्न थाल्नुभयो ।’

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले यो संविधान आफूहरुले नमानेको भन्दै संशोधन नभएसम्म चुनाव हुन नसक्ने बताए । उनी बोलिरहँदा देउवाले ‘त्यही भएर त हामीले बिचको बाटोको निकास खोजेका हौं’ प्रतिवाद गरेका छन् ।

रामसजाका महासचिव केशव झाले स्थानीय तहको पुनर्संरचना एमालेकरण भएको भन्दै मान्न नसकिने बताए । स्थानीय तहको चुनाव गरे पछाडि फर्किनु सरह हुने भन्दै संविधान संशोधन गरौं, त्यसपछि तीनै तहको चुनाव एकै पटक गरौं भने ।

लगतै देउवाले तीनै तहको चुनाव एकै पटक हुन सक्दैन, स्थानीय चुनाव कुनै हालतमा हुन्छ भनेका छन् ।

तमसपाका अध्यक्ष महेन्द्र यादवले प्रमुख विपक्षी एमालेले संघीयताविरुद्ध षड्यन्त्र गरिरहेको भन्दै कांग्रेस र माओवादीमाथि एमालेको बोली बोलेको आरोप लगाए ।
कांग्रेस सभापति देउवाले बीचमा त्यसको प्रतिवाद गरे । आफूहरु एमालेसँग लडिरहेको भन्दै उनले संघीयता मधेसी मोर्चालाई भन्दा डोटी डडेलधुराका जनतालाई बढी चाहिएको बताए । उनले भने, बरु तपाईहरु संघीयताको विपक्षमा जान सक्नुहुन्छ । तर, म सक्दिनँ ।’

राजेन्द्र महतोले निर्वाचन शब्द सुन्नै नचाहने बताए । उनले संशोधन तत्काल अघि बढाउन माग गरे । देउवाले उनलाई पनि बीचमै रोकेर देउवाले भने, हामी पनि त्यही त भनिरहेका छौं । एमालेले मान्दैन भने बलपूर्वक प्रक्रियामा जान पनि हामी तयार छौं ।’

मधेसी मोर्चाका एक नेताका अनुसार देउवाले मधेसी मोर्चाका हरेक नेताले राखेको धारणामा प्रतिवाद गर्दा कृष्ण सिटौला र विमलेन्द्र निधिले भने परिस्थितिलाई सहज बनाउने प्रयास गर्थे । तर, देउवा भने निकै आक्रामक रुपमा प्रस्तुत भए ।

बैठकको अध्यक्षमा प्रधानमन्त्री प्रचण्डले संशोधन र चुनावको विधेयक अघि बढाउनेमा सहमति देखिएको भन्दै निष्कर्ष सुनाए । तर, मिति घोषणामा सहमति हुन सकेन भन्नासाथ देउवाले चुनावको मिति त घोषणा गर्दैपर्छ, दबाव छ भनेका छन् ।

लगतै उपेन्द्र यादव, हृदयेश त्रिपाठी, राजेन्द्र महतोसहितका मधेसी मोर्चाहरुले गर्नुस् न त हामीले रोकेका छौं भन्दै जंगिएका छन् । देउवाले तपाईहरु जानुस्, हामी दुई दल बस्छौं भनेपछि मधेसी मोर्चाका नेताहरु बालुवाटार बैठकबाट बाहिरिएका छन् ।

बैठकपछि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भने एमाले र मधेसी मोर्चासँग थप छलफल गरेर स्थानीय निर्वाचन, संविधान संशोधन, महाअभियोग लगायतका विषयलाई सहमतिका साथ टुंगाउन पहल भइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?