+
+

एक गुमनाम क्रान्तिकारीः कमाण्डर बनेर देश बनाउन हिँडेथे, डकर्मी बनेर घर बनाउँदै छन्

कमरेड सन्तोषको कहानीः के सोचेँ पहिले, के भयो अहिले ?

 दिनेश थापा दिनेश थापा
२०७३ पुष १३ गते २०:२७

dhubra-parajuli

१३ पुस, सिन्धुपाल्चोक । कर्णदासले गाएको गीत उनले सायदै सुनेका होलान् । ‘देखेर सपना टुट्नुभन्दा नदेखेकै जाती हुन्थ्यो’ भन्ने गीतको बोल कमरेड सन्तोषको जीवनमा कताकता मेल खाइरहेको छ । सपनाहरु टुटे त के भयो, उनले जीवन जिउने क्रममा हरेश भने खाएका छैनन् ।

एउटै मीठो सपनाले हुनुपर्छ, उनले ‘कठिन’ बाटो समातेका थिए । जीवनकै स्वणिर्म उमेर, हृष्टपुष्ट पाखुरा, सांसारिक इच्छाले निम्त्याएका लोभलाग्दा रहरहरु थिए । सबै कुरा थाती राखेर ‘मुलुक’ बनाउन हिँडेको एक सिपाही थिए- कमरेड सन्तोष ।

उनै कमरेड सन्तोष हुन् आजका ध्रुव पराजुली । सबै सपना टुटे पनि कर्म गरेर खाने सपनाले उनलाई नयाँ बाटोमा हिँडाएको छ । दसवर्षे माओवादी युद्धका बेला पूर्वी सिन्धुपाल्चोक मात्र होइन, पूर्वी नेपालका धेरै जिल्लामा मिसाइल थिए कमरेड सन्तोष । एक खुङ्खार क्रान्तिकारी कमाण्डरका रुपमा उनी जनताको मनमा त्रास र आशका रुपमा पुगेका थिए ।

कमाण्डरबाट डकर्मीमा

पहिलेको त्रास र आशको अहिले केही अंश बाँकी छैन । आफ्नै सपनाहरुको बनिबास लागेको अवस्थामा नयाँ जीवन खोज्दै गरेको अवस्थामा भेटिए उनै सन्तोष, तर ध्रुव पराजुलीको रुपमा ।

त्योभन्दा पनि ठूलो परिवर्तन चाहिँ बन्दुक बोक्ने छापामार कमाण्डरबाट गैंती बोक्ने डकर्मीका रुपमा उनी भेटिए ।

मुलुक फेरियो । व्यवस्था फेरियो । उनको पार्टी माओवादी पनि फेरियो । तर, आफैं फेरिन सकेनन् कि ? त्यसो त उनी माओवादीको शक्तिशाली केन्द्रीय सदस्य भइसकेका नेता हुन् । केन्द्रीय सदस्य पनि अहिलेको जस्तो चार हजार सदस्यभित्र पर्ने होइन, ९९ सयभित्रकै केन्दीय समितिमा थिए ।

आखिर एउटा सपनालाई मनमा सजाएर मुलुक बदल्न हिँडेको योद्धा किन गुमनाम छ, एउटा सिकर्मीका रुपमा ? उनको एउटै जवाफ छ- ‘मुक्ति, स्वतन्त्रता र स्वाधीनताका लागि लडेकै हो, नेतृत्वले माओवादी आन्दोलन नै विघटन गरेपछि के गर्नु ?’

युद्धका एक जना सिपाही, विभिन्न युद्धमोर्चा सम्हालेका कमाण्डर, ०५७ सालदेखि पार्टी केन्द्रीय सदस्य हुँदै पछिल्लो पटक पोलिटब्युरो सदस्य समेत भए धु्रव पराजुली । लडाइँमा अग्रस्थानमा जान प्रतिस्पर्धा गर्ने एउटा योद्धा थिए उनी ।

युद्धमोर्चामा ‘शहीद’ बन्नुलाई अवसर ठान्ने एउटा मान्छे । दस वर्षसम्म युद्धको मैदानमा कहिल्यै नथाकेका उनी यतिबेला थाकेका छन्, र त राजनीतिबाट विश्राम लिएका छन् ।

सिन्धुपाल्चोकमा घरानिया माओवादीहरुले उनलाई उठ्नै नसक्ने गरी पटकपटक धरापमा पारे । उनीभन्दा धेरै जुनियर कमाण्डहरु आज काठमाडौंका सडकमा करोडका गाडी हुँक्याउँदै सत्तास्वाद चाखिरहेका छन् । माओवादीको आडमा रक्तचन्दन र सेतो सिमलको फूल बेचेर उनका धेरै कार्यकर्ता करोडपति बने ।

देश बनाउन सकेनन्, घर बनाउँदै छन्

dhubra-parajuli-1

भुइँचालोले थेत्तरो बनाएको आफ्नो गाउँ साँगाचोकमा भेटिएका पराजुलीले भर्खरै माटो मुछे । त्यही मुछेको माटोले नै कमसेकम उनको भत्किएको घरले नयाँ स्वरुप पाउनेछ केही दिनमा ।

हुनसक्छ, पचास वसन्त काटेका पराजुलीले आफ्नो नङ्ग्रा खियाएको त्यो ऊर्जाबाट प्रभावित हुँदै आसपासका छिमेकीले पनि होस्टेमा हैंसे गरेर घर बनाउनेछन् ।
पार्टी छोडेपछि पराजुली चुपचाप आफ्नो गाउँमा छन् । सिकर्मी तालिम लिएका छन् । राष्ट्र निर्माणको सपना टुटे पनि गाउँ निर्माणको सपना अझै बाँकी छ ।

विद्रोही बनेर पुरानो राज्यसत्ता ध्वस्त बनाउन युद्धमोर्चामा कहिले सिपाही त कहिले कमिसार भई भूमिका निर्वाह गरेका उनी माओवादी धारामा विचलनसँगै विसर्जन भएपछि पार्टी छाड्नुपरेको बताउँछन् । ०५८ देखि नै पार्टीमा विचलन सुरु भएको र बाबुराम भट्टराईसम्म आइपुग्दा माओवादी विचारधारा नै विसर्जन भएको उनको बुझाइ छ ।

‘न हिजो झैं पार्टी छ, न त माओ विचारधारा नै रह्यो’, उनी भन्छन्, ‘अनि माओवादीमा कसरी रहने, कार्यकर्ता र जनतालाई के भन्ने ?’

नेतृत्व स्वयं भ्रममा परेपछि जनताको तहमा माओवादी खोज्नुपर्ने अवस्था आएको उनले औंल्याए । ‘कसैको बलिदानी र त्यागले होइन, कमरेडहरु हामी थियौं र त भयौं भन्ने भ्रममा पर्नुभो उहाँहरु’, उनले भने ।

पछिल्लो समय बाबुराम नेतृत्वको नयाँ शक्तिमा लागे पनि उनी सक्रिय छैनन् । जनतामा गएर भन्ने कुरा नै केही नभएपछि राजनीतिमा निष्क्रिय बनेको उनी बताउँछन् । ‘पर्ख र हेरको अवस्थामा छु, केही समयपछि राजनीतिमा सक्रिय हुनेछु’, उनी भन्छन्, ‘कुन रुपमा सक्रिय हुने त्यसबेलै थाहा हुनेछ ।’

वैकल्पिक राजनीतिक बाटोका निम्ति समय पर्खिएर बसेको उनले सुनाए ।

को हुन् ध्रुव पराजुली ?

०५२ सालमा माओवादी विद्रोहको सुरुवातदेखि नै उनी पूर्णकालीन सदस्य बने । नेतृत्वप्रति अगाढ विश्वास त छँदै थियो, अर्कातिर मुक्ति र स्वाधीनताको सपनाले कमरेड सन्तोषका रुपमा भूमिगत बनाएको थियो उनलाई ।

युद्धमोर्चा र पार्टी संगठन मोर्चाको विभिन्न जिम्मेवारी वहन गर्दै उनी काठमाडौं पूर्वका धेरै जिल्लामा पुगे । सिन्धुलीमा जनसेनाको दोस्रो डिभिजन कमिसार बनेर मोर्चा सम्हालेका उनी सिन्धुपाल्चोक, काभे्र, दोलखा, रामेछाप, सोलुखुम्बु, भोजपुर, खोटाङ, संखुवासभा, तेह्रथुम, पाँचथर, लगायतका विभिन्न जिल्लामा पार्टी संगठन इञ्चार्ज भएर पनि जिम्मेवारी वहन गरे ।

कहिले फौजी कमिसार बनेर त कहिले पार्टी नेतृत्व सम्हालेर उनी काठमाडौं पूर्वका बीसभन्दा बढी जिल्लामा पुगे । ‘पूर्वका प्रत्येक जिल्लामा जनताका घरघरमा पुगेको छु, भात खाएको छु’, उनी इतिहास सम्झन्छन्, ‘मुक्ति, स्वतन्त्रता र स्वाधीनताका लागि लडेकै हो, नेतृत्वले माओवादी आन्दोलन नै विघटन गरेपछि के गर्नु ?’

जीवनको ऊर्जाशील उमेर राजनीतिमा बिताए उनले । १५ वर्षकै कलिलो उमेरबाट विद्यार्थी राजनीतिमा होमिएका उनी नेकपा मसाल हुँदै ०५२ देखि नै युद्धमा होमिएका मान्छे हुन् । उनी आज माओवादीमा छैनन् । तर, विगतप्रति कुनै पश्चात्ताप पनि छैन ।

माओवादी प्रवृत्ति पुराना दलको जस्तै भइसके पनि क्रान्तिको इतिहास आफ्ना लागि सधैं गर्वको विषय बनिरहने उनी बताउँछन् । ‘माओवादी छाडे पनि त्यो इतिहास मेरा लागि सधैं गर्वको कुरा हुनेछ,’ उनी भन्छन् ।

सँगैको साथी सिंहदरवारमाथि

सँगसँगै युद्धमोर्चामा हिंडेकाहरु पटकपटक क्याबिनेटका कुर्सीमा पुगे । उनीभन्दा धेरैपछि माओवादी बनेकाहरुले चिल्ला गाडी चढ्नेसम्म हैसियत बनाए । उनका सहयोद्धा अग्नि सापकोटा पटकपटक मन्त्री बनिसकेका छन् ।

उनीभन्दा ‘जुनियर’ हैसियतका माधव सापकोटा (सुबोध), सरल सहयात्री, युवराज दुलाल -शरद) लगायतकाले पार्टी शान्ति प्रक्रियामा अवतरण भएपछि आर्थिक हैसियत अस्वाभाविक रुपमा उठाए ।

जुनियरहरु प्राडो-पजेरोमा सवार भइरहँदा पराजुलीको आर्थिक हैसियत ०५२ को जस्तो पनि छैन । सम्पत्तिका नाममा संघर्षले बनाएको लामो राजनीतिक विरासत भन्दा केही छैन उनीसँग ।

पटकपटक कालको मुखबाट जोगिएको एउटा ज्यान छ । सम्झनामा खुला आकाशमुनि पराल ओछ्याएर रात कटाएका क्षणहरु छन् । छ त केवल युद्धको त्यही इतिहास छ । त्यस बाहेक केही छैन उनीसँग ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?