सन्दर्भ–१
‘नाम बस भएकाले होला गुड्ने नामै लिने रहेनछ हगि !’
‘यहाँको गाडी यस्तै हो हजुर !’ मैले भनेँ, ‘पुरानो बाटोमा ठिमीका व्यापारीहरूको एकलौटी छ, एउटै रुटको गाडी बाहेक चल्नै दिँदैनन् । गाडी पनि थोरै छ ।‘
‘यहाँका बासिन्दा कस्ता त अनि यहाँको प्रशासन ? डेढ दर्जनभन्दा बढी शिक्षासम्बन्धी कार्यालय छन्, यहाँका हाकिमहरू केही बोल्दैनन् ?
‘प्रशासनकै मिलेमतोमा त वर्षौंदेखि ‘सिण्डिकेट‘ चलिरहेको छ । सरर गाडीमा हुइँकिने कार्यालयका हाकिमहरूलाई सेवाग्राही कसरी आउँछन्, के चासो ? म जस्ता यहाँका बासिन्दा यत्रो सास्ती खेपिरहँदा उनीहरू किन बोल्दैनन्, मलाई थाहा छैन ।‘
मनमनै बोलेँ । उनलाई सुनाइनँ ।
शिक्षा विभागमा काम लिएर सानोठिमी आएका उनले १५ मिनेटको कुराइपछि बल्लबल्ल बागबजार जाने गाडी भेटेका थिए । बस्ने ठाउँ त परै जाओस्, खलासीले घचेड्दै कुनामै पुर्याइसकेको थियो । सीधा हुन समेत नमिल्ने गरी उभिएको १० मिनेटभन्दा बढी भइसक्दा पनि गुड्ने नाम नलिएपछि उनी मसँग गफिएका थिए ।
यस्तो सास्ती खेप्नुपर्ने ठाउँको बासिन्दा भनेर उनको व्यङ्ग्यको शिकार बन्न चाहिनँ, ‘म पनि बाहिरकै‘ भनिदिएँ ।
सन्दर्भ–२
‘तिम्रो गाला चड्काइदिऊँ भाइ ! केटी मान्छेलाई हात हालेर झाङलझुङल पार्ने !
‘पछाडि जानु भनेको किन नटेरेको त !’
‘ठाउँ भए पछाडि जान्नथेँ ? भनेजति पैसा तिर्दा नि दुर्व्यवहार खेप्नुपर्ने ।‘
‘यस्ता मान्छेले ट्याक्सी पो चढ्नुपर्छ, अनि कसैले छुँदैन ।‘
खुट्टा टेक्ने ठाउँ थिएन । मान्छे खाँद्न खलासीले देखाएको व्यवहारले आजित भएर महिला कराएकी थिइन् । चर्काचर्की धेरैबेर चले पनि धन्न हात हालिनन् । अरु हाँसिरहेका थिए । हाँसेर आफ्नै सास्तीपूर्ण यात्रामाथि व्यङ्ग्य गरिरहेका थिए वा महिला–खलासी संवादले मनोरञ्जन दिइरहेको थियो, उनै जानून् ।
***
नेपाली बृहत् शब्दकोष अनुसार नरक शब्दको अर्थ– १. धार्मिक सिद्धान्तअनुसार पापी वा दुराचारीहरूलाई मरेपछि सजाय दिइने ठाउँ; नर्क ।
संस्कृत विश्वविद्यालयबाट प्रकाशित संस्कृत नेपाली बृहत् शब्दकोषमा पुराणलाई उद्धृत गर्दै २०, २१ देखि ८६ किसिमका नरक (कुण्ड) का नाम दिइएको रहेछ, पापकर्म अनुसार फरक–फरक नरकको यातना भोग्नुपर्ने । सुन्दै डर र अत्यास लाग्ने !
पाप गर्ने वा दुराचार गर्नेले नरकयात्रा भोग्नुपर्ने कुरा असामान्य भएन । तर, मध्यपुर ठिमी बस्ने विशेषगरी पुरानो बाटो (कोटेश्वर जडिबुटीबाट पेप्सीकोला चोक, सानोठिमी, पुरानो ठिमी हुँदै सल्लाघारी भक्तपुर) भएर यात्रा गर्नेहरूले वर्षौंदेखि दिनहुँ यस्तै यात्रा गरिरहेका छन् ।
माथिका दुई सन्दर्भ त उदाहरण मात्र हुन् । शिक्षा सम्बन्धी काम परेर सानोठिमी जानेले एकाध यस्तो यात्रा गर्नुभएकै होला ।
मन्त्रालय बाहेक शिक्षासम्बन्धी सम्पूर्ण कार्यालय सानोठिमीमै छन् । माउ शिक्षा मन्त्रालय नै यतै सर्ने सुनिँदै छ । शिक्षा विभाग, पाठ्यक्रम विकास केन्द्र, परीक्षा नियन्त्रण कार्यालय र परीक्षा बोर्ड, शिक्षा सेवा आयोग, शैक्षिक जनशक्ति कार्यालय, दूर शिक्षालगायत शैक्षिक नीति र पाठ्यक्रम बनाउनेदेखि परीक्षा लिने, उपाधि दिनेसम्मका कार्यालय यहीँ छन् ।
शिक्षा सामग्री केन्द्र, विश्वविद्यालय अनुदान आयोग, शिक्षा क्याम्पस, सरकारी आदर्श उच्च मावि, गैरसरकारी हर्मन माइनर स्कुल, उच्चमावि लगायतले सानोठिमीलाई शैक्षिक केन्द्र बनाएका छन् । यस्तै सीटीईभीटी, युसेप नेपाल, टीआईटीआई जस्ता प्राविधिक शिक्षाका निकाय यहीँ छन् ।
शान्त र उच्च स्थानका कारण मध्यपुर ठिमी बसोबासका लागि समेत प्राथमिकतामा पर्ने गरेको छ । उपत्यकाका अन्य भाग भरिएपछि अहिले यहाँका उर्वर भूमि मासेर सरकारले घडेरीका लागि ‘प्लटिङ‘ गरिरहेको छ । यति महत्त्वको ठाउँमा दिनमा कति मानिस ओहोरदोहोर गर्छन् होला, सहजै अनुमान गर्न सकिन्छ । तर, सार्वजनिक यातायातको नाममा ९ नम्बरको गाडी । भक्तपुरबाट सानोठिमी, कोटेश्वर हुँदै बागबजार, लगनखेल, नयाँ बसपार्क (गोंगबु) ३ रुटका गाडी चल्छन् ।
सुरु गरौं पहिलो स्टेसन भक्तपुर बसपार्कबाट । भक्तपुर सल्लाघारी, निकोसेरा हुँदै ल्याएर ठिमीमा केहीबेर थन्क्याउने (स्टार्ट नै बन्द गरेर राख्ने) परम्परा वर्षौंदेखि कायम छ । त्यहाँ पुरानो बाटो बस सेवा समितिको शाखा छ । सामान्यतया भक्तपुरबाट काठमाडौं जानेले पुरानो गाडी चढ्ने बाध्यता पर्दैन ।
यो रुट अलि लामो पर्छ । भक्तपुरबाट चढ्नेहरू प्रायः ठिमी सानोठिमी वा पेप्सीकोलासम्मकै हुन्छन् । ठाउँ वा बसको भेउ नपाउनेहरू परे भने मात्र हो, नत्र अरनिको राजमार्गवाला रुट (नयाँ बाटो) कै छोटो र सहज हुन्छ ।
भक्तपुरबाट आएको गाडी ठिमीमा आएर पाँच दश मिनेट रोकिने गर्छ । ठिमीलेलाई लिएर आएको बस पुनः सानोठिमीमा आएर कम्तीमा १०/१५ मिनेट रोक्ने चलन छ । शैक्षिक क्षेत्रको ओह्रालो झरिरहेका देखुञ्जेल गाडी गुड्ने नाम लिँदैन । आएजति हाल्नैपर्ने, गाडीमा खाँद्नै पर्ने । मान्छेलाई इँटा चाङ लगाएजस्तो एक लहर उत्तर फर्कन र अर्को लहरलाई दक्षिण फर्कन लगाइन्छ । एक लहर मुस्किलले उभिन मिल्ने ठाउँमा दुब्ला पातला परे भने त हो मोटाघाटा परे भने साह्रै सास्ती हुन्छ ।
खलासीको निर्देशन अनुसार भनेको ठाउँमा पुगेन र फर्किएन भने यात्रुले दुर्व्यवहार खेप्नुपर्ने हुन्छ । भित्र पुगेर घँचेड्ने, बाहिर झ्यालबाट आधा ज्यान भित्र पसेर यात्रुलाई तान्ने, घोक्र्याउने जस्ता व्यवहार त यहाँका यात्रुलाई पचिसकेको छ । नियमित यात्रु परे भने पहिल्यै कुनामा पुगिहाल्छन् । नयाँ वा कहिलेकाहीँ चढ्ने यात्रु यहाँको चलन बुझ्दैनन् । खलासीको हिंसा खेप्छन्, बिचरा !
‘धेरै नरोकौं न, ‘जाऊँ न !’ भन्ने यात्रुका लागि रेडिमेड जवाफ खान्छन्– ‘ढिलो हुनेले कार किन्नुपर्छ वा ट्याक्सी चढेर जानुपर्छ । लोकल बसमा चढे‘सी यस्तै हो ।‘
यस्तो सुनेपछि यात्रुले के भन्ने ! विवाद गर्न लाग्नुभयो भने ड्राइभर, खलासी झन् तल्लो स्तरको गालीमा उत्रिन्छन् । अरिङ्गालको गोलामा ढुङ्गा हाने जस्तै !
चुल्ठे-मुन्द्रे खलासी कतिपय स्थितिमा हातै हाल्न समेत पछि पर्दैनन् । खलासी बन्न ‘यात्रुलाई राम्रो व्यवहार गर्नुपर्छ‘ भन्ने जान्नुपर्दैन । मानिसलाई पीडा दिएर भरे साहुलाई कति धेरै बुझाउन सकिन्छ भन्ने एक मात्र ध्येय हुन्छ । आम्दानी बढाउन सके आफ्नो गोजी पनि त्यही अनुसार भरिने हो ।
टेक्ने ठाउँ कता हो ? समाउने ठाउँ कहाँ हो ? एउटाले अर्काको खुट्टा कुल्चेको छ । अर्कोको कुहिनोले तेस्रोको चिउँडोमा दनक दिएको छ । बस्नेलाई समेत सुख छैन । कुमले बडेमानको नितम्बको भार थेग्नुपर्छ । त्यसमाथि थोत्रा स्पीकरमा बज्ने अश्लील ‘आइटम‘ गीतले दिक्क पारिरहेको हुन्छ । जाडो महिनामा त तैबिसेक । गर्मीमा त बेहाल हुन्छ । सबै सहनशील हुँदैनन् । एउटाले अर्कोलाई छुस्स छुन हुन्न कराइहाल्छन् । खलासीको रिस सहयात्रीलाई पोख्छन् । कहिलेकाहीँ नियतवश गरिएका यौन दुर्व्यवहार पनि पचाउनुपर्छ ।
भाडामा एकरूपता छैन । चढेपछि १५ रुपैयाँ । सामान्यतया सानोठिमीबाट बबरमहल कटेपछि २० रुपैयाँ लिइन्छ, तर अनुहार हेरेर । नियमित यात्रुलाई पो भाडादर थाहा हुन्छ । नयाँ यात्रु पर्यो, भाडा सोध्यो भने ठगियो भन्ने जाने हुन्छ । बानेश्वरबाट सानोठिमी आएको २० ठटाएको देखेको छु । कार्ड देखाउँदा पनि कोटेश्वरदेखि सीटीईभीटीसम्मको १५ लिएको भेटेको छु ।
यहाँभन्दा धेरै पछि बनेका शहरमा भने जस्ता सुविधाजनक गाडी चल्छन् । एउटा भीड भए अर्कोमा, पहिलोमा चढ्न मन नलागे दोस्रो । छानीछानी सुविधा पाइन्छ । यहाँ भने अझै थोत्रा, साँघुरा पुराना मिनीबस (केहीलाई छोडेर) चल्दै छन् । पहिले–पहिले अन्य समितिका गाडी (माइक्रो, टेम्पो आदि) चलाउन नखोजिएको पनि होइन । चलेको दिनमै फोरेर चकनाचुर पारिन्छ । प्रशासनले केही गर्दैन । व्यवसायीकै पक्षपोषण गर्छ । त्यसैले जोखिम मोल्न कसैले आँट गर्दैन ।
पञ्चायती व्यवस्था समाप्त भई प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्र आएको पनि दशक हुन लागेको छ, पुरानो बाटोको सार्वजनिक यातायात ४६ सालभन्दा अघिको जस्तै छ । दुर्गम जिल्लामा प्रतिपर्धाका आधारमा गाडी चल्न थालिसके । तर, काठमाडौं उपत्यकाको नगरपालिका, राजधानीबाट केही किलोमिटरको दूरीमा रहेको ठाउँको सार्वजनिक यातायातको अवस्था यस्तो छ ।
***
बृहत् नेपाली शब्दकोषले ‘नरक‘को अर्थ अर्को पनि दिएको छ, दुःखसाथ जीवनयापन गर्नुपर्ने ठाउँ; पीडा वा कष्ट हुने हुने ठाउँ ।
यस अर्थले पनि म र म जस्ता हजारौंले दिनहुँ नरकयात्रा गर्दै आएका छौं । यो यात्रा अझै कति वर्ष जारी रहने हो, जिल्ला प्रशासन, मध्यपुर ठिमी नगरपालिका र नौ नम्बरका व्यवसायी बाहेक अरु बेखबर छन् !
(धिताल टेलिभिजनकर्मी हुन् ।)