Comments Add Comment

अनुदानको चामल सदरमुकाममै थन्कियो, दुर्गमका डिपो रित्तै

chamal-rice-gorkha

१९ पुष, गोरखा । सरकारले गोरखाको उत्तरी दुर्गम सात गाविसका लागि उपलब्ध गराएको अनुदानको चामल सदरमुकाममै थन्किँदा लक्षित जनता महंगोमा चामल खरिद गर्न बाध्य भएका छन् ।

नेपाल सरकारबाट चालु आर्थिक बर्षमा सिर्दिवासमा तिन हजार र माछाखोलामा दुइ हजार क्विन्टल चामल कोटा स्वीकृत भएको छ ।

तर ६ महिना पुग्दासमेत हालसम्म २६९ क्वीन्टल मात्र चामल ढुवानी भएको छ । बंगलादेशबाट अनुदानमा आएको ३५ सय क्विन्टल चामल संस्थानमा स्टक रहेको नेपाल खाद्य संस्थान शाखा कार्यालय गोरखाका प्रमुख टेकप्रसाद रेग्मीले बताए ।

ठेक्का आह्नान गरेपनि स्वीकृत नहुँदा अहिलेसम्म चामल ढुवानी गर्न नसकिएको संस्थानका प्रमुख टेकप्रसाद रेग्मीले जानकारी दिए ।

चामल ढुवानी नभएपछि अहिले सिर्दीबास, उहिया, कासिगाउँ, केरौँजा, ल्हो, प्रोक लगायत सामागाउँ, बिही, चुम्चेत छेकम्पार लगायतका गाविसका स्थानियहरु महँगो मूल्य तिरेर स्थानीय बजारबाट चामल किन्न बाध्य छन् ।

दुर्गम भेगका स्थानीयका लागि सरकारले गुम्दाको माछाखोला र सिर्दीबासमा डिपो राखेर चामल बिक्री गर्दै आएको थियो । डिपो मार्फत उसिना चामल प्रति केजी ३१ रुपैयाँका दरले उपभोक्ताले किन्न पाउनेछन् । त्यस्तै सोना मंसुली भने माछाखोला डिपोबाट प्रति केजी ४२ रुपैयाँ र सिर्दिवास डिपोबाट प्रति केजी ४५ रुपैयाँमा स्थानियले खरिद गर्न पाउँथे ।

तर अहिले डिपोमा एक दाना चामल नभएको माछाखोला डिपोका बालानन्द बस्यालले बताए । चामल नभएपछि महँगो मूल्य तिरेर बजारबाट चामल किन्न बाध्य भएको स्थानीयहरुको गुनासो छ ।

‘दुइ पल्ट ठेक्का आव्हान गरेपनि ठेकेदारले सम्झौता गर्न आएनन्,’ संस्थानका प्रमुख रेग्मीले भने ‘ढुवानी गर्ने बाटो सहज नहुँदा सम्झौता गर्न ठेकेदारले आनाकानी गरेका छन् ।’

तर सोमवार आव्हान गरिएको टेन्डर स्वीकृत भएको उनले बताए । ‘तेस्रो पटक बल्ल टेन्डर स्वीकृत भएको छ, अबको केही दिनमा सम्झौता भएर चामल ढुवानी हुन्छ,’ रेग्मीले भने ।

माछाखोलामा रहेका प्रगति निर्माण सेवासँग टेन्डर स्वीकृत भएको र अवको १५ दिनभित्र चामल ढुवानी हुने उनले दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment