+
+

माकाजुविरुद्ध केयूमा मोर्चाबन्दी

प्रधानमन्त्रीले भने- माकाजुलाई उपकुलपति नबनाउँदा विश्वविद्यालय ठप्प हुन्छ रे हो ?

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष २४ गते १०:२४
ramkantha-makaju-shrestha
रामकण्ठ माकाजु

२४ पुस, काठमाडौं । ‘रामकण्ठ माकाजुलाई उपकुलपति बनाइएन भने त काठमाडौं विश्वविद्यालयका कर्मचारी, प्राध्यापक सबैले राजीनामा दिएर हिँड्छन् रे त ?’

‘यो कुरा गलत हो हजूर, गलत रिपोर्टिङ भएछ । बरु रामकण्ठ माकाजुलाई उपकुलपति बनाइयो भने सबैले राजीनामा दिन्छन् ।’

‘ए हो, त्यसोभए सरकारले दुई-तीन दिनभित्र यो कुरालाई टुंग्याउँछ ।’

यो सवाल जवाफ हो प्रधानमन्त्री निवास बालुवाटारको । शनिबार साँझ काठमाडौं विश्वविद्यालयका प्राध्यापकहरुको १६ जनाको टोली प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेको थियो । माकाजुलाई फेरि पनि उपकुलपति बनाउने चलखेल सुरु भएको भन्दै प्राध्यापकहरुको छाता संस्था नेपाल प्राध्यापक संघको टोली बालुवाटार पुगेर कुलपतिसमेत रहेका प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गरायो ।

शिक्षामन्त्री धनिराम पौडेल संयोजकत्वको सर्च कमिटीले गत शुक्रबार निवर्तमान उपकुलपति माकाजुसहित पाँच जनाको नाम उपकुलपतिका लागि सरकारलाई सिफारिस गरेको थियो ।

उपकुलपतिका लागि सिफारिसमा परेकाहरुमा माकाजुसहित प्रा. डा. जनार्दन लामिछाने, प्रा. डा. भोला थापा, प्रा. डा. भद्रमान तुलाधर र मनप्रसाद वाग्ले छन् । अब सरकारले यी पाँच जनामध्येबाट एक जनालाई उपकुलपतिमा नियुक्त गर्नेछ ।

यसबीचमा नेपाल प्राध्यापक संघ र काठमाडौं विश्वविद्यालय प्राध्यापक संघले माकाजु विवादित व्यक्ति भएकाले उनलाई उपकुलपतिमा बन्न नदिन अभियान नै चलाएका छन् । सोही अभियान अन्तर्गत नेपाल प्राध्यापक संघ र काठमाडौं विश्वविद्यालय प्राध्यापक संघको संयुक्त टोलीले प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराउँदै प्रा. डा. लामिछानेलाई उपकुलपति बनाउन माग गरेका थिए ।

दुई-तीन दिनमै टुंगो लाग्छः प्रचण्ड

तर, भेटमा प्रचण्डले भनेका थिए- तपाईंहरु लामिछानेलाई बनाउन भन्नुहुन्छ तर मलाई त माकाजुलाई उपकुलपति नबनाएमा केयू नै ठप्प पार्ने चेतावनी पो आएको छ त खास कुरा के हो ?

janardan-lamichhane
प्रा. डा. जनार्दन लामिछाने

जवाफमा नेपाल प्रध्यापक संघका एक पदाधिकारीले काठमाडौं विश्वविद्यालयका प्राध्यापकहरुको भेलाले नै लामिछानेसहित भुपेन्द्रविमल क्षेत्री र कन्हैया झाको नाम सिफारिस गरेको, बालकुमारीमा भएको डीनहरुको भेलाले लामिछाने वा प्रा. डा. भोला थापामध्ये एकजनालाई बनाउन भनेको भन्दै लामिछाने नै सर्बमान्य र उपयुक्त हुने तर्क गरेका थिए । प्राध्यापकहरुले माकाजुको कार्यकालमा विद्यार्थी भर्ना पारदर्शी नभएको, अख्तियार दुरुपयोगमा मुछिएको लगायतका फेहरिस्त नै पेश गर्दै माकाजुलाई उपकुलपति बनाइए आफूहरुले विरोध गर्ने बताएका थिए ।

जवाफमा प्रचण्डले- म सबै पक्षसँग छलफल गरेर २/३ दिनभित्रै टुंगोमा पुग्छु भनेको भेटमा सहभागी एक प्राध्यापकले अनलाइनखबरलाई जानकारी दिए ।

सर्च कमिटीका संयोजक एवम् शिक्षामन्त्री धनिराम पौडेलसमेत लामिछानेप्रति सकारात्मक भए पनि सदस्यद्वय सुरेशराज शर्मा र दमननाथ ढुंगाना भने माकाजुलाई उपकुलपति बनाउनुपर्ने पक्षमा छन् ।

स्रोतका अनुसार केयुका पूर्वउपकुलपति शर्मा र ढुंगानाले माकाजुलाई उपकुलपति नबनाए काठमाडौं विश्वविद्यालयमा कामकाज ठप्प हुने चेतावनी दिँदै आएका छन् ।

केयूका डीनहरुको गोप्य भेला

थाइल्याण्डको एक विश्वविद्यालयले दिने मानार्थ विद्यावारीधीको उपाधि लिन माकाजु हाल बैंककमा छन् । उनी नेपालमा नरहेको बेला काठमाडौं विश्वविद्यालयका डीनहरुको गोप्य भेलाले माकाजुलाई कुनै पनि हालतमा उपकुलपति हुनबाट रोक्ने निर्णय गरेको छ ।

ललितपुरको बालकुमारीस्थित स्कुल अफ म्यानेजमेन्टमा भएको भेलामा केयूका ७ डीनहरुमध्ये ६ जना र रजिष्ट्रार भोला थापा समेत सहभागी थिए । सो भेलाले थापा वा लामिछाने मध्ये एकजना भए मान्य हुने तर, अरु कुनै व्यक्ति नस्वीकार्ने निष्कर्ष निकालेको स्रोतले बतायो ।

भेलामा स्कूल अफ साइन्सका डीन प्रा.डा. मोहन विक्रम ज्ञवाली, स्कूल अफ लका डीन डा. विपिन अधिकारी, स्कूल अफ इन्जिनियरिङका डीन प्रा.डा. भुपेन्द्रविमल क्षेत्री, स्कूल अफ म्यानेजमेन्टका डीन प्रा. सुभास केसी, स्कूल अफ आर्टसका कार्यवाहक डीन प्रा.डा. सन्जयनाथ खनाल, स्कूल अफ एजुकेसनका डीन प्रा.डा. महेश पराजुली सहभागी थिए ।

सो भेलामा स्कूल अफ मेडिसनका प्रा.डा. नगेन्द्र राना भने अनुपस्थित थिए । बयोवृद्ध राना स्वास्थ्यको कारण देखाउँदै भेलामा सहभागी भएनन् ।

माओवादीकै सिफारिसमा उपकुलपति बनेका थिए माकाजु

माकाजुलाई तत्कालीन माओवादीकै सरकारको पालामा उपकुलपति नियुक्त गरिएको थियो । अहिले पनि माओवादी नै सरकारमा भएका बेला माकाजुलाई नबनाउन दबाव परिरहेको छ ।

२१ वर्षसम्म उपकुलपति रहँदै आएका डा. सुरेशराज शर्माले २०६९ साल कात्तिक २४ गते तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको दबावमा राजीनामा दिएका थिए । शर्माको राजीनामालगत्तै तत्कालीन शिक्षामन्त्री दिनानाथ शर्माको संयोजकत्वमा गठन भएको तीन सदस्यीय उपकुलपति छनौट समितिले धुलिखेल अस्पतालका निर्देशक डा. रामकण्ठ माकाजु श्रेष्ठलाई सिफारिस गरेको थियो । सो छनौट समितिको सदस्यहरुमा पूर्वसभामुख दमननाथ ढुंगाना र डा. लोकविक्रम थापा सदस्य थिए ।

सोही समितिको सिफारिसमा सरकारले माकाजुलाई चार वर्षे कार्यकालका लागि उपकुलपति बनाएको थियो । माकाजुको कार्यकाल गत मंसिर २६ गते सकिएपछि हाल काठमाडौं विश्वविद्यालय उपकुलपति विहीन छ । प्रा.डा. भोला थापाले कार्यवाहक उपकुलपतिको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

यो पनि पढ्नुहोस्

केयूको उपकुलपति छान्न नसकेको सरकारलाई प्राध्यापकले दिए तीन विकल्प

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?