Comments Add Comment

१६ बर्षमै नेपाल च्याम्पियन

santoo-shrestha-2
२४ पुस, काठमाडौं । ‘जब मैले दीप दाइलाई हराएँ, त्यसपछि हो स्वर्ण पदकबारे सोचेको  । नेपाल नम्बर एकलाई त हराएँ भने अरुलाई हराउन किन सक्दिन ? जस्तो लाग्यो’

विराटनगरमा सम्पन्न सातौं राष्ट्रिय खेलकुदको टेबलटेनिसमा क्वाटरफाइनलमा उनले नेपाल नम्बर एक दीप साउनसँग भेट पक्का भएपछि उनलाई आफ्नो यात्रा यत्ति हो भन्ने लागेको थियो । तर, उनले दीपलाई मात्र हराएनन्, स्वर्ण समेत जिते।

यो कथा हो टीटी च्याम्पियन १६ वर्षे किशोर श्यान्टु श्रेष्ठको ।

सातौं राष्ट्रिय खेलकुद अघिसम्म श्यान्टु टेवल टेनिसका एक जुनियर खेलाडी मात्र थिए । तर, सिनियरमा फड्को मारेको पहिलो प्रतियोगितामै उनी नयाँ इतिहास रच्न सफल भए ।

पहिलो पटक राष्ट्रिय प्रतियोगिता खेलेका दोलखाका १६ बर्षीय यी किशोरले पुरुष एकलमा स्वर्ण जितेर उनले सबैलाई आश्चर्यसकित पारिदिए । श्यान्टुले आफू जन्मनुअघि नै साग गेम्स खेलिसकेका एपिएफमा शिवसुन्दर गोथेलाई हराएर उनले स्वर्ण जितेका हुन् ।

santoo-vs-gothe-in-final
पुरूष एकलको फाइनलमा गोथे र श्यान्टु भिड्दै
सेमिफाइनलमा नेपाल आर्मीका अमरलाल मल्ललाई मुस्किलले पराजित गर्दै उनले फाइनलसम्मको ऐतिहासिक यात्रा तय गरे । फाइनलमा थिए नेपाली टीटीका घघडान स्टार गोथे । उनले भने, ‘सिंगल्सको फाइनलअघि टिम इभेन्ट्सको फाइनलमा गोथे सरलाई हराइसकेको थिएा । त्यसमा पनि नेपाल नम्बर एकलाई क्वाटरफाइनलमै हराएको जोश थियो ।’
धेरैले भन्न सक्लान् श्यान्टूको यो जित भाग्यका कारण मात्र होला । तर, होइन, यसको पछाडि लामो कहानी छः

नयाँबजारस्थित प्राइम कलेजमा म्यानेजमेन्टमा १२ पढ्दै गरेका १६ वर्षे किशोर श्यान्टूको प्रतिभा बुझेरै प्रशिक्षक राकेश महर्जनले पुलिस क्लबमा अनुबन्ध गरिदिए ।

र, सातौं राष्ट्रियमा सिनियर टोलीमा परे । सातौंमै महिला एकलमा स्वर्ण जितेकी पुलिसकै नविता श्रेष्ठ उनकी गुरुआमा हुन् । नोवेल एकेडेमीका उत्पादन उनलाई पहिलो पटक नविताले नै ब्याट समाउन सिकाएकी थिइन्, जहाँ उनी टीटी प्रशिक्षक थिइन् ।

tt-champion
नविता र श्यान्टु, अा-अाफ्नो बिधामा स्वर्ण जितेपछि तस्वीरका लागि पोज दिँदै
ब्याट समाउन सिकाएकी गुरुआमासँग च्याम्पियनको रुपमा समानान्तर बसेर फोटो खिचाउन पाउनुलाई श्यान्टु जीवनकै अविस्मरणीय क्षण मान्छन् । ‘म्यामले पहिलादेखि नै भन्नुहुन्थ्यो । एक दिन तँ र म सँगै च्याम्पियन बनेर फोटो खिच्नुपर्छ श्यान्टुले सम्झिए, ठ्याक्कै त्यो दिन आयो, एकदमै खुसी लागेको थियो ।’

श्यान्टुका अनुसार उनी सुरुमा स्वीमिङका पारखी तिए । साथीले टीटीमा चेकब्याट सित्तैमा पाइन्छ भनेपछि अडिसन दिन गए र छनौट भए । यो पाँच बर्ष अघिको मात्र कुरा हो । श्यान्टुले भने, ‘मलाई ब्याट समाउन सिकाएको नविता म्यामले नै हो ।’

त्यतिबेला अन्तर विद्यालयस्तरीय प्रतियोगिता सुरु हुन लागेको रहेछ । दुई पटक इन्टर स्कुलमा खेलेका उनले दुवैमा हारे ।

त्यसबीचमा टीटीका अहिलेका मूख्य प्रशिक्षक शंकर गौतम (जो श्यान्टुका बुबाका साथी पनि हुन्)ले उनको खेल देखे र स्वीमिङ छाडेर टीटी खेल्न सल्लाह दिए । उनैको सल्लाहअनुसार टीटीका तत्कालिन प्रशिक्षक सुशील पौडेलसँग दिनको दुई सिफ्ट प्रशिक्षण लिएका उनले यू-१० राष्ट्रिय प्रतियोगितामा स्वर्ण जिते, जतिबेला उनी सात कक्षामा पढ्दै थिए ।

स्वीमिङ खेल्दा कहिल्यै जित्न नसकेको मेडल टीटीबाट जितेपछि उनलाई लाग्यो, अबको बाटोे यही हो ।

तर, यू-१२ प्रतियोगितामा लगातार तीन पटक पराजित भए । स्वर्ण नआएसम्म खेल्न नछाड्ने अठोट लिएका उनी चौथो प्रयासमा सफल भए । त्यसबीचमा उनलाई उमेरले पनि साथ दियो । ‘त्यसपछि मैले जुनियर प्रतिस्पर्धामा लगभग सबै प्रतियोगिता जितेँ’ श्यान्टुले भने, ‘तर जुनियर राष्ट्रिय प्रतियोगितामा चाहीँ एउटामा दोस्रो भएको थिएँ ।’

santoo-shrestha-5
र, टेबलटेनिसको चेकब्याट समाएको ५ वर्षमा नै उनी नेपालको नम्बर १ बन्न सफल भएका छन् । अब उनको लक्ष्य छ, आगामी सागमा मेडल ।

सातौं राष्ट्रिय खेलकुदको तयारी गर्दा उनले एक महिना पाकिस्तानी प्रशिक्षक आरिफ खानबाट प्रशिक्षित हुने मौका पाए । यसल आफ्नो खेलमा धेरै परिवर्तन पाएको उनले सुनाए । उनले अघि भने, ‘त्यसैले बिदेशबाट प्रशिक्षक ल्याएर होस् या खेलाडीलाई विदेशमा प्रशिक्षणका लागि पठाएर होस्, स्तर सुधारको लागि अतिनै आवश्यक छ ।’

खासमा उनी दाइको प्रेरणामा खेलकुदमा लागेका हुन् । बनिन श्रेष्ठ स्वीमिङमा नेपालको नम्बर दुईसम्म पुगेका खेलाडी हुन् । साग र एशियन युथ च्यान्पियनसीप खेलिसकेका उनी खेल छाडेर पढाइमा ध्यान दिए । ‘तर म चाहीँ खेल्न छाडि्दनँ । मेरो पढाई पनि दाइ जतिको राम्रो छैन, एभरेज हो’ (हाँस्दै ) श्यान्टुले भने, अझै धेरै गर्न बाँकी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment