Comments Add Comment

तानसेन नगरपालिकाको बजेट १४ करोड

२६ पुस, पाल्पा । तानसेन नगरपालिकाले आगामी वर्षका लागि १४ करोड बढी बजेट सार्वजनिक गरेको छ । आर्थिक वर्ष ०७४/७५ का लागि पुँजीगततर्फ १३ करोड, १४ लाख ७२ हजार ७१६ र चालुतर्फ १ करोड ५२ लाख विनियोजन गरिएको छ ।

tansen-nagarpalikaसोमबार आयोजित तानसेन नगरपालिकाको २० औं नगर परिषदमा कार्यकारी अधिकृत अनिल पौडेलले आर्थिक वर्ष ०७४/७५ को १४ करोड ६६ लाख ७२ हजार ७ सय १६ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरे ।

परिषद्ले सन् २०१८ भित्र तानसेन नगरलाई शून्य फोहरयुक्त नगरपालिका घोषणा गर्ने, प्लास्टिकमुक्त नगरलाई नेपालमै नमूना नगरपालिका बनाउने, तानसेनलाई प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने लक्ष्य लिएको छ ।

यसैगरी ऐतिहासिक तथा सांस्कृतिक सहरको रुपमा विकास गर्ने, पर्यटकीय आकर्षणको रुपमा रहेको श्रीनगर पार्कलाई व्यवस्थितरुपमा सञ्चालन गर्ने, गौडे पुलदेखि होलाङ्दीसम्म सडकलाई चार लेनको बनाउने जस्ता महत्वाकांक्षी योजना पनि अघि बढाइएको छ ।

तानसेन नगरपालिकाको हलमा भएको कार्यक्रममा तानसेन प्रमुख अतिथि एवम् स्थानीय विकास अधिकारी रामप्रसाद पाण्डेले पाल्पाका पर्यटकीय स्थलहरुको संरक्षण, प्रवर्द्धन गर्न सकिए तानसेनको विकास हुने बताए । जिल्लाको आन्तरिक स्रोत कम भएकाले चाहे जति बजेट तानसेन नगरपालिकालाई विनियोजन गर्न नसकिएको पनि उनले बताए ।

कार्यक्रममा पूर्वसांसद कुलप्रसाद नेपालले तानसेनको विकासको गती पछि परेको भन्दै नगरपालिकाको प्रस्तावित नीति, बजेट तथा कार्यक्रम छिटो-छरितो र पारदर्शी हिसाबमा कार्यान्वयनमा ल्याउनु पर्नेमा जोड दिए ।

कार्यक्रमका वक्ताहरुले तानसेन नगरपालिकाले विगतका तुलनामा पछिल्लो समय केही राम्रा कामहरु गर्न सफल भए पनि अझ प्रयाप्त नभएको भन्दै टुँडिखेल मैदान स्तरोन्नती, सडक, सवारी साधन पार्किङको व्यवस्थापन, खानेपानी, सरसफाई, शिक्षा, स्वास्थ्य, पर्यटकीय क्षेत्रको विकास लगायतको क्षेत्रमा नगरपालिकाले ध्यान दिनुपर्नेमा जोड दिए ।

परिषद्ले उत्कृष्ट काम गर्ने कर्मचारी विष्णु पौडेल, मनोहरलाल शाक्य, रुपा शाक्य, मङ्गलबहादुर भाट, राजु महर्जन, धनबहादुर सारु, लोकमान श्रेष्ठ, दिलबहादुर दमाई, तथा उत्कृष्ट करदाता पाल्पाली छे र सरसफाइतर्फ कैलाशनगर युवा क्लबलाई सम्मानित पनि गरेको छ ।

-सुवास विश्वकर्माबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment