Comments Add Comment

भारतीय भन्सार नाकामा रोकिएका ट्यांकर नेपाल भित्रिए, इन्धन अभाव नहुने

८ चैत, बाँके । भारतीय भन्सारले अनलाइन सेवामा समस्या देखिएको भन्दै रुपैडिहामा रोकेका पेट्रोलियम पदार्थ बोकेका १४० ट्यांकर नेपाल भित्रिएका छन् । अनलाइनमा समस्या आएपछि ट्यांकरसँगै फलफूल र तरकारी बोकेका दर्जन बढी ट्रक पनि दुई दिनसम्म सीमामै रोकिएका थिए ।

नेपालगन्ज भन्सार कार्यालयका अधिकृत शरदकुमार केसीले पेट्रोलियम पदार्थ बोकेका ट्यांकर भारतीय भन्सारमा अनलाइन सेवा सञ्चालन भएपछि बिहीबार राति नेपाल भित्रिएको बताए । भारतले भन्सारमा अनलाइन प्रविधि लागू गरेपछि विभिन्न समयमा नाकामा समस्या हुँदै आएको उनले बताए ।

भारतको बहराइच नजिकै अप्टिकल फाइबरमा समस्या आएर अनलाइन दर्ता नभएपछि ट्यांकरसँगै अन्य मालबाहक ट्रकहरु रुपैडिहामै रोकिएका थिए । रु १० लाखभन्दा बढी ‘इनभ्वाइस’को सामानलाई भन्सार ‘क्लियर’ गराउन भारतीय भन्सारका डेपुटी कमिस्नरको अनुमति लिनुपर्छ ।

गए राति मात्रै इन्धन आयात नभएको भए नेपालगञ्ज आसपासको क्षेत्रमा इन्धन अभाव हुनसक्ने देखिएको थियो । नेपाल आयल निगम इन्धन डिपो नेपालगञ्जका प्रमुख अभिषेककुमार ठाकुरले सबै ट्यांकर नेपाल भित्रिएकाले इन्धन अभाव नहुने बताए ।

यो क्षेत्रमा निगमले डिजेल र पेट्रोल गोन्डाबाट, एटीएफ इलहावाद र एलपी ग्यास मथुराबाट आयात गर्दै आएको छ । डिपो प्रमुख ठाकुरका अनुसार निगमको डिपोमा एक हप्तालाई पुग्ने डिजेल र तीन दिनलाई पुग्ने गरी पेट्रोल भण्डारण क्षमता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment