Comments Add Comment

स्थान अभावले भैरहवा महोत्सव अनिश्चित, यी हुन सक्छन् वैकल्पिक स्थान

bhairahawa-city

२६ पुस, भैरहवा । भैरहवामा प्रत्येक वर्ष हुने राष्ट्रिय औद्योगिक व्यापार महोत्सव स्थान अभावले लगभग स्थगित हुने अवस्थामा पुगेको छ । आगामी माघ १३ गतेदेखि सिद्धार्थ उद्योग वाणिज्य संघले भैरहवामा गर्ने भनिएको व्यापार महोत्सव आयोजना स्थलको अभावमा लगभग स्थगित हुने भएको हो ।

भैरहवामा रहेको सिद्धार्थ उद्योग वाणिज्य संघ र उद्योग व्यापार संगठनले पालैपालो प्रत्येक वर्ष भैरहवाको सिद्धार्थ रंगशालाको मैदानमा व्यापारिक मेला आयोजना गर्दै आएका थिए । तर यस वर्ष भने स्तरोन्नती भइरहेकाले ठाउँ नपाएर मेला नहुने लगभग निश्चित भएको छ ।

यस वर्षको महोत्सव स्थगित नभएको भन्दै केही समयको लागि मात्र महोत्सवको समय सारिएको सिद्धार्थ उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष कुल प्रसाद न्यौपाने बताउँछन् ।

‘हामीले महोत्सव स्थगित नै गरेको निर्णय गरेका छैनौं । केही ढिला हुने भएको छ’, न्यौपानेले अनलाइनखबरसँग भने, ‘ठाउँ अभावका कारण महोत्सव गर्न ढिलाई भएको हो, स्थलको खोजी भइरहेको छ । एक-दुई महिना भित्र महोत्सव आयोजना गर्न सक्छौँ ।’

siddhartha-cricket-stadium-bhairahawa
सिद्धार्थ रंगशाला

सिद्धार्थ रंगशाला अन्तर्राष्ट्रिय रंगशालाको रुपमा स्तरोन्नती भइरहेका कारण महोत्वस आयोजकलाई भैरहवामा महोत्सव स्थलको अभाव भएको कारण यस वर्ष महोत्सवको नहुने देखिएको छ ।

हुन त भैरहवाको बसपार्क पछाडि ५ विघा १३ कठ्ठा विघा सार्वजनिक जग्गा छ । तर जग्गा समथर नरहेको कारण महोत्सव गर्ने अवस्था छैन ।

यो वर्ष महोत्सव आयोजना गर्ने आयोजकले उक्त जग्गामा महोत्सव आयोजना गर्नका लागि जग्गामा मात्र करिब ३७ लाख ५० हजार रुपैयाँ खर्च लाग्ने दावी गरेको छ । सो जग्गामा लाखौँ रुपैयाँ बराबरको माटो पुरेर समथर बनाउनु परेको कारण लाखौँ रुपैयाँ खर्च गर्नुपर्ने देखिन्छ ।

लाखौँ रुपैयाँ खर्चेर आयोजकले महोत्सव आयोजना गरेपनि दीर्घकालीन रुपमा उक्त जग्गामा महोत्सव आयोजना गर्न पाउँदैन ।

केपी ओली सरकारको पालामा सरकारले नगरपालिकाका विकासको लागि छुट्टाएको ५० करोड रुपैयाँको बजेटअन्तर्गत उक्त बसपार्कलाई स्तरोन्नती गर्नका लागि सिद्धार्थ नगरपालिकाले शहरी विकास मन्त्रालयमा पत्राचार गरेर स्तरोन्नती गर्ने प्रक्रियासमेत अगाडि बढाएको कारण दीर्घकालीन रुपमा उक्त जग्गा प्रयोग गर्न मिल्दैन ।

भैरहवामा हुने महोत्सवले यो क्षेत्रको पर्यटन, कृषि लगायतको प्रवर्द्धनमा धेरै सहयोग पुर्‍याउने गरेको थियो । तर, महोत्सवमा अन्यौलता छाएको कारण कारण पर्यटन, कृषि क्षेत्र लगायतको प्रवर्द्धनमा असर पुग्न सक्ने पर्यटन व्यवसायी बताउँछन् ।

सार्वजनिक जग्गाको अभावमा भैरहवा महोत्सवको लागि मात्र नभई राजनीतिक दलको ठूला-ठूला कार्यक्रम, सभा विभिन्न संघसंस्थाले आयोजना गर्ने मनोरञ्जनात्मकलगायतका कार्यक्रम समेत प्रभावित हुने भएको छ ।

विगतमा भैरहवाको सिद्धार्थ रंगशालामा महोत्सव मात्रै नभएर राजनीतिक दलका सभाहरु पनि आयोजना हुने गरेका थिए । तर, अब भैरहवामा महोत्सवको लागि मात्र नभई ठूला सार्वजनिक कार्यक्रमहरु आयोजनास्थलको अभावका कारण संकटमा परेको छ ।

भैरहवामा महोत्सव आयोजना गर्नका लागि सिद्धार्थ उद्योग वाणिज्य संघ संघका निवर्तमान अध्यक्ष विष्णु शर्मा र उद्योग व्यापार संगठनले संगठनको निवर्तमान अध्यक्ष मनिष जोशीको संयोजकत्वमा छुट्टाछुटै भैरहवा बहुउद्देश्यीय मण्डप खोजी कार्यसमिति समेत गठन गरेको छ ।

यो समितिले स्थानिय तहमा विभिन्न सरकारी निकायसँग छलफल गरी सम्भावित जग्गाहरुको बारेमा स्थानिय प्रशासनलाई अवगत समेत गराएको बुझिएको छ ।

पहिलोः बसपार्क पछाडिको जग्गा

भैरहवा बसपार्क पछाडि ५ विघा १३ कठ्ठा जग्गा छ । उक्त जग्गाको सिद्धार्थनगर नगरपालिकाको स्वामित्वमा रहेको छ ।

तर, उक्त जग्गा समथर नरहेको कारण तत्काल सो स्थानमा कुनै ठूला मेला, महोत्सव लगायतका सार्वजनिक कार्यक्रम गर्ने अवस्था छैन ।

यदि उक्त जग्गामा भैरहवाका विभिन्न संघसंस्था, संगठन, राजनीतिक दल लगायतका भैरहवाबासी मिलेर जग्गामा माटो पुरेर समथर गराउने हो भने उक्त जग्गामा तत्काल यो वर्षको लागि महोत्सव आयोजना गरेर सदुपयोग गर्न सकिन्छ ।

तर, उक्त जग्गा साढे ३७ लाख रुपैयाँ खर्चेर एकपटकको लागि मात्र महोत्सव आयोजना गर्नुको अर्थ नरहेको संघका पदाधिकारीहरु बताउँछन् ।

दोस्रोः भैलुभुज कार्यालयको जग्गा

यस्तै दोस्रो विकल्पको रुपमा भैरहवा लुम्बिनी भूमिगत सिचाई व्यवस्थापन डिभिजन नम्बर ६ (भैलुभुज) जग्गा रहेको छ । साढे ८ विघा क्षेत्रफल रहेको यस कार्यालयको जग्गालाई पनि सार्वजनिक कार्यक्रम गर्नका लागि सदुपयोग गर्न सकिन्छ ।

bhailubhuj1
भैलुभुज कार्यालय

यस कार्यालयको प्रांगण भित्र रहेको जग्गामा कार्यालय भवन, कर्मचारी निवास र गोदामहरु रहेका छन् । यो कार्यालयले भूमिगत सिचाईं प्रणालीहरुको मर्मत सम्भार एवम् व्यवस्थापन गरी सिँचाईको लागि पानी उपलब्ध गराउने कार्य गर्दै आएको छ ।

विगतमा यो एउटा परियोजना थियो र परियोजना सकिएपछि अहिले यो डिभिजनमा परिणत भएको छ । यो कार्यालय भैरहवाको अञ्चलपुरस्थित रहेको छ ।

यस कार्यालयको जग्गा भैरहवा-बुटवल सडकखण्ड अन्तर्गत पर्दछ भने कुनै पनि सार्वजनिक कार्यक्रमको लागि शहरमै रहेको यो जग्गा पनि उपयुक्त देखिन्छ ।

तेस्रोः विमानस्थल पछाडिको जग्गा

त्यस्तै सबैभन्दा उत्तम विकल्पको रुपमा यो तेस्रो विकल्प रहेको देखिन्छ । सिद्धार्थ नगरपालिकाको स्वामित्वमा रहेको वार्ड नम्बर १० दोगहरीमा (विमानस्थल पछाडि) रहेको ११ विघा सार्वजनिक जग्गा छ ।

उक्त ११ विघा जग्गा एउटै प्लटको छ । यो जग्गा सदुपयोग नहुँदा चौपाया चरणस्थल मात्र बन्न पुगेको छ ।

ठूलो क्षेत्रफलमा रहेको यो जग्गा व्यवस्थित गरेर ठुल्ठूला मेला महोत्सव, राजनीतिक दलका सभा, सम्मेलन लगायत विभिन्न किसिमका सार्वजनिक कार्यक्रमहरु गर्नका लागि निकै उत्तम विकल्प रहेको देखिन्छ ।

महोत्सव, सभा लगायतका सार्वजनिक कार्यक्रमको आयोजना गर्नका लागि ५/६ विघा जग्गा प्रयाप्त हुन्छ । भैरहवा शहरमा पार्क समेत नरहेको अवस्थामा केही जग्गालाई ओगटेर यसमा पार्कस्थल समेत निर्माण गर्न सकिन्छ ।

बाँकी अन्य जग्गामा पर्यटन, कृषिलगायतका क्षेत्रलाई प्रवर्द्धन गर्ने संरचनामा बनाएर सदुपयोग गर्नसमेत सकिन्छ । यो जग्गा निकै उत्तम विकल्पको रुपमा रहेको छ ।

चौथोः कृषि फार्मको जग्गा

gahu-khetjpg
गहुँबाली अनुसन्धान कार्यालयको जग्गा

चौथो विकल्पको रुपमा भैरहवा-बुटवल सडकखण्डस्थित पडसरी १ मा रहेको राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यालयको (कृषि फार्म) जग्गा रहेको छ ।

यो कार्यालय भैरहवा बजारदेखि दुई किलोमिटरको दुरीमा पर्दछ । यो एक कृषि कार्यालय हो । यहाँ गहुँ सम्बन्धी अनुसन्धान हुने गर्छ ।

यो कार्यालयको स्वामित्वमा रहेको जग्गामा कर्मचारी आवास, कार्यालय, प्रयोगशाला र बाँकी सबै खेतीयोग्य जग्गा हुन् । तर यस कार्यालयको स्वामित्वमा कुल ५२ विघा जग्गा छ ।

यसबाट ५/७ विघा मात्र जग्गा पाइएमा मेला, महोत्सव, सभा लगायत ठूला सार्वजनिक कार्यक्रमहरु सजिलै गर्न सकिने देखिन्छ ।

पाँचौः माछा फार्मको जग्गा

त्यस्तै पाँचौ विकल्पको रुपमा भैरहवा-बुटवल सडकखण्ड अन्तर्गत पडसरी ५ स्थित ठुटिपिपलमा रहेको मत्स्य विकास केन्द्र (माछा फार्म) को जग्गा रहेको छ ।

यो केन्द्रको कुल साढे ३४ विघा जग्गा रहेको छ । यस केन्द्रमा विभिन्न प्रजातीका माछा, भुराको पालन तथा बिक्री वितरण गर्ने, किसानहरुलाई तालिम दिने लगायतको कार्य हुँदै आएको छ ।

matsya-bikas-kendra-bhairahwa
मत्स्य विकास केन्द्र

यो केन्द्र नगरपालिकाको सिमानादेखि २ किलोमिटर र भैरहवा बजारदेखि ३ किलोमिटरको दुरीमा पर्दछ । यस केन्द्रको जग्गामा कार्यालय र र बाँकी अन्य जग्गा माछा पोखरीहरु रहेका छन् । यस केन्द्रको पनि ५/७ विघा जग्गा पाइएमा सार्वजनिक कार्यक्रमहरु गर्ने सकिने देखिन्छ ।

छैठौँः जग्गा साटासाट गर्ने

र, अन्त्यमा छैठौं विकल्पको रुपमा जग्गा साटासाट गरेर विगतकै स्थानमा सार्वजनिक कार्यक्रमहरु गर्न सकिन्छ । तर, यसमा केही अप्ठ्यारा छन् ।

विगतमा सजिलैसँग सिद्धार्थ रंगशालाको मैदानमा हुँदै आएको मेला महोत्सव, राजनीतिक दलको सभा लगायतका कार्यक्रमलाई पुनः त्यही स्थनमा निरन्तरता दिनको लागि अन्तर्राष्ट्रिय स्तरमा स्तरोन्नती भइरहेको क्रिकेट मैदानको लागि सिद्धार्थनगर नगरपालिकको स्वामित्वमा रहेको विमानस्थल पछाडिको ११ विघा जग्गा दिन सकिन्छ । र, सिद्धार्थ रंगशालाको जग्गा नगरपालिकालाई दिन सकिन्छ ।

यसले गर्दा पुनः रंगशालामा सार्वजनिक कार्यक्रमको लागि प्रयोग गर्न सकिन्छ । र, ११ विघा जग्गा अन्तर्राष्ट्रिय क्रिकेट मैदानको लागि निकै लाभदायक पनि हुनेछ ।

तर, अहिले सिद्धार्थ रंगशाला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा स्तरोन्नती भइरहेको कारण यसमा रकम समेत खर्च भइसकेको कारण विमानस्थल पछाडिको जग्गामा यस मैदानलाई लगेमा अन्तर्राष्ट्रिय रंगशालाको रुपमा स्तरोन्नती गर्नका लागि अहिलेसम्म भएको खर्च बालुवामा पानी हालेसरह हुने छ ।

यदि भैरहवाका विभिन्न संघसंस्था, संगठन, राजनीतिक दलहरु हामीले मात्र किन गर्ने भन्ने सोच राखेमा भैरहवामा सार्वजनिक कार्यक्रमको लागि जग्गा अभाव नै रहिरहनेछ ।

तसर्थ, सार्वजनिक कार्यक्रम गर्नका लागि विभिन्न संघसंस्था, संगठन, राजनीतिक दल लगायत सबै भैरहवाबासी एकजुट भएर उपयुक्त जग्गाको व्यवस्था गर्नुपर्ने आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment