Comments Add Comment

ल्याक्मी फेसन विकमा नेपाली ट्रान्स मोडल अञ्जली

anjali-lama-2‘मोर देन थर्टी न्यूज एजेन्सी इन इन्डिया, कभरेज माई न्यूज एन्ड इट्स स्टिल गोइङ अन ।’

अञ्जली लामाले हालै फेसबुकमा राखेको स्टाटस हो यो । भारतीय अनलाइन र पि्रन्टहरुमा उनले पहिलो ट्रान्स-मोडलको को रुपमा ल्याक्मी फेसन विकको र्‍याम्प नाप्ने चर्चा छ ।

यतिबेला अञ्जली मुम्बईमा छिन्, एउटा सुखद अवसरको व्यग्र पर्खाइमा । उनी ‘ल्याक्मी फेसन विक’ मा सहभागिता जनाउन मुम्बई पुगेकी हुन् । आउँदो माघ १९ बाट सुरु हुने फेसन विकमा ‘पहिलो ट्रान्सजेन्डर मोडल’ को रुपमा र्‍याम्पमा उत्रँदैछिन् ।

‘मोडलिङको दुनियाँमा छिर्न चाहनेको लागि यो एउटा प्रवेशद्वार हो’ अञ्जलीलाई भन्छिन्, ‘म अहिले त्यही मोडमा छु ।’

यो त्यही प्लेटर्फम हो, जसमार्फत दीपिका पादुकोण, मलाइका अरोरा, अर्जुन रामपाल जस्ता बलिउडकर्मीले आफ्नो यात्रा सुरु गरेका थिए । भारतकै प्रसिद्ध यो फेसन विकमा बलिउडकर्मी तथा सुपरमोडलको उपस्थिति रहने गर्छ ।

यसपालि ल्याक्मी फेसन विककै आकर्षणको रुपमा ट्रान्स मोडल अञ्जलीलाई प्रस्तुत गरिएको छ । ‘पहिलो पटक ट्रान्स-मोडलले सहभागिता जनाएको कुराले चर्चा पाएको छ’ ५ फिट ८ इन्च अग्ली अञ्जली भन्छिन्, ‘यो मेरो निम्ति खुसीको कुरा हो ।’

उनले नेपालमा पनि मोडलिङ गरेकी छिन् । केही म्युजिक भिडियो खेलेकी छिन् भने र्‍याम्पमा पनि उत्रिएकी थिइन् ।

 

को हुन् अञ्जली

नुवाकोटको एउटा ग्रामीण परिवारमा जन्मिएकी हुन् अञ्जली । त्यसबेला उनी छोरा थिए । नाम, नवीन लामा । तर, उमेर बढेसँगै क्रमशः उनमा छोरीको प्रवृत्ति हावी हुँदै गयो । घाँस-दाउरा गर्न भन्दा घरधन्दामा रमाउन थाले । छोरीकै पहिरनमा सजिन रहर लाग्न थाल्यो ।  एसएलसी सकेर पढ्नका लागि काठमाडौं आएर पशुपति क्याम्पसमा भर्ना भए ।

त्यही समयमा उनलाई बोध भयो ‘म केटा होइन, केटी हुँ ।’ अन्ततः १९ वर्षको उमेरमा उनले आफूलाई छोराबाट छोरीमा रुपान्तरण गरे । नवीन लामा अञ्जली बने ।

anjali-lama-3

‘सानोमा अरुले छोरी जस्तै भन्दा खुसी लाग्थ्यो’ अञ्जलीले अनुभूति सुनाइन् । तर, उनले तीतो अनुभव पनि निकै बटुल्नुपर्‍यो । आफ्नो स्वभाव र चालढाल केटाको जस्तो नभएकाले साथीहरुले समेत ‘हाँसोको पात्र’ बनाउँथे । ‘कतिले होच्याएर बोल्थे, कतिले जिस्काउँथे,’ उनी सम्भिmन्छिन् ।

काठमाडौं आएपछि उनी केटाहरुसँगै कोठा साझेदार गरेर बसे । साथीहरु अरु केटीसँग प्रेम गर्थे, पत्र लेख्थे । उनलाई भने आफ्नै रुम पार्टनर केटा मन पथ्र्यो ।

‘क्याम्पस पढ्दै गर्दा मैले म जस्तै केटाको रुपमा जन्मिएकाहरु केटीको पहिरनमा सजिएर हिँडेको देखें’ अञ्जलीले सुनाइन्, ‘उनीहरुको बारेमा सोधीखोजी गर्दै ब्लु डाइमन्ड सोसाइटीमा पुगेँ ।’

त्यसपछि उनको पहिरन बदलियो, मेकअप बदलियो । आखिरमा थाइल्यान्डमा गएर ४ हजार डलरमा कृत्रिम स्तन बनाइन् । त्यहीँबाट उनले आफूलाई पूर्णतः महिलामा रुपान्तरण गरिन् ।

अञ्जलीको परिवार खेती किसानीमा आश्रति छ । उनको चार भाइ छन् । उनकै जीवनमा आधारित एक वृत्तचित्र समेत बनेको छ ।

प्रयास सार्थक भएको छ

अञ्जली लामा, ट्रान्सजेन्डर मोडल

भारतकै प्रमुखमध्येको एक फेसन इभेन्ट ‘ल्याक्मी फेसन विक’ मा सहभागी हुँदै हुनुहुन्छ, कस्तो अनुभव गरिरहनुभएको छ ?

– खुसी छु । एउटा नेपाली र त्यसमा पनि एउटा ट्रान्सजेन्डरको रुपमा मैले जुन अवसर पाएको छु, त्यो मेरो अथक प्रयास र संघर्षको प्रतिफल हो । सम्भवतः यो फेसन विकमा पहिलो पटक नेपाली सहभागी भएको हो । कुनै पनि ट्रान्सजेन्डरले त यसअघि भाग लिएकैथिएन भनेर आयोजकले भनिरहेका छन् ।

भारतीय मिडिया खासगरी अनलाइनमा तपाईंलाई हाइलाइट गरिएको रहेछ नि ?

सबैमा ट्रान्सजेन्डर सम्बन्धी एक किसिमको कौतूहलता रहेछ । ल्याक्मीले हरेक संस्करणमा यस्ता पृथक् खालको मोडललाई प्रस्तुत गरिरहेको छ । त्यही सिलसिलामा यसपालि ट्रान्सजेन्डरले सहभागिता जनाउने भएकाले चर्चा भएको हो ।

कसरी अवसर पाउनुभयो ?

ल्याक्मी फेसन विकको लागि मैले अघिल्लो वर्ष पनि कोसिस गरेकी थिएँ । सफल हुन भने सकिनँ । तर, म कुनै कुरामा छिटै हार खाँदिन । एक पटक नभए अर्को पटक प्रयास गर्छु । त्यसै अनुसार यसपालि पनि प्रयास गर्ने उद्देश्यले मुम्बई आएकी थिएँ । डिसेम्बरमा यसको अडिसन हुन्छ भन्ने थाहा थियो । अडिसनमा भाग लिएर छनोट पनि भएँ ।

अडिसन दिनकै लागि मुम्बई जानुभएको हो ?

हो, मैले यसको लागि ठूलै चुनौती पनि मोलेकी छु । ब्लु डाइमन्ड सोसाइटीको जागिर छाडेर म आफ्नो करिअरकै लागि मुम्बई आएकी हुँ ।

anjali-lama-1

गत वर्ष किन छनोटमा पर्नुभएन ?

सायद मेरो पर्फमेन्स राम्रो थिएन होला । त्यही कुरालाई यसपालि सुधारेर प्रस्तुत भएँ । उहाँहरुले छनोट गर्नुभयो ।

छनोट प्रक्रिया कस्तो हुँदो रहेछ ?

त्यहाँ भारतीय मोडलसँगै अरु थुप्रै देशका मोडल प्रतिस्पर्धा गर्दा रहेछन् । यसपालि सय जनाभन्दा बढी प्रतिस्पर्धी थिए । त्यसमध्ये अन द स्पट पाँच जनालाई छनोट गरिन्छ । हाम्रोमा जस्तो आज अडिसन दिने र भोलि या हप्तादिनपछि नेम लिस्ट निकाल्ने नभई तत्कालै छनोट गर्दा रहेछन् । यही प्रक्रियाबाट छानिएका पाँच जनामध्ये म पनि परेँ ।

फेसन विक हुने दिन नजिकिँदै जाँदा मुटुको चाल कत्तिको बढ्दै छ ?

पक्कै पनि धेरै व्यग्र हुँदै छु । किनभने यो ठूलो इभेन्ट हो । यसमा सहभागी हुने कुराले म जति खुसी छु, उत्तिकै नर्भस पनि । बलिउड सेलिबि्रटी तथा भारतीय सुपर मोडलसँगै एउटै र्‍याम्पमा हिँड्न पाउनु चानचुने कुरा पनि त भएन ।

यो ठाउँमा पुगेर तपाईं आफ्नो विगतलाई कसरी सम्झनुहुन्छ ?

नेपाल जस्तो मुलुकमा म नुवाकोटमा किसान परिवारमा जन्मिएकी हुँ । त्यो पृष्ठभूमिबाट यो स्थानसम्म पुग्नु एउटा उपलब्धि हो भन्ने ठानेकी छु । यसका लागि धेरै संघर्ष पनि गरेँ । हाम्रो जस्तो पछौटे समाजमा ट्रान्सजेन्डरको रुपमा स्थापित हुनु नै कति गाह्रो कुरा थियो । त्यो अवस्थावाट गुजि्रएर म यहाँसम्म आइपुगेकी छु । मलाई के लाग्छ भने, निरन्तरको संघर्षले मान्छेलाई सफलता नजिक पुर्‍याउँछ । हरेश खान हुन्न ।

यो प्लेटर्फमवाट तपाईंले के अपेक्षा के छ ?

मैले ठूलो सपना देखेकी छैन । किनभने ट्रान्सजेन्डर भएकोले धेरै अवसर पाइन्छ भन्ने पनि छैन । हुन त ल्याक्मी फेसन विकमा सहभागी भइसकेपछि हरेक मोडललाई स्थापित हुन गाह्रो पर्दैन भनिन्छ । मेरो हकमा पनि त्यस्तै हुन्छ भन्ने छैन । मेरो खास अपेक्षा पनि छैन । यसमा सहभागी हुन पाउनु नै मेरो लागि खुसीको कुरा हो ।

तस्बिर: अञ्जली लामाको फेसबुक पेजबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment