+
+
Shares

दरबारमार्गको लामो लाइनदेखि ३१ आउटलेटसम्म : केएफसीको १७ वर्षे यात्रा

पछिल्लो समय थुप्रै स्वदेशी तथा विदेशी फुड ब्रान्डहरूले व्यवसाय विस्तारका लागि फ्रेन्चाइज मोडल अपनाउन थाल्नुमा केएफसीले बसालेको व्यावसायिक अभ्यासले पनि आधार तयार पारेको देखिन्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ९ गते १३:३०

९ मंसिर, काठमाडौं । सन् २००९ मा काठमाडौं दरबारमार्गस्थित अन्नपूर्ण कम्प्लेक्समा ‘केएफसी’ को पहिलो आउटलेट खुलेपछि त्यसको बाहिर उपभोक्ताको लामो लाइन लागेको थियो ।

त्यो भिड एउटा नयाँ अन्तर्राष्ट्रिय फुड ब्रान्डप्रतिको आकर्षण मात्र थिएन, नेपाली उपभोक्ताले नयाँ स्वाद र फरक अनुभव कति उत्साहसाथ स्वागत गर्छन् भन्ने संकेत पनि थियो ।

दरबारमार्गको त्यही एक स्टोरबाट सुरु भएको केएफसी (केन्टकी फ्राइड चिकेन) यात्रा यतिबेला १७औं वर्षमा प्रवेश गरेको छ । नेपालमा देवयानी इन्टरनेसनल नेपाल प्रालिले सञ्चालन गर्दै आएको केएफसीको सञ्जाल यो अवधिमा देशभरि ३१ आउटलेटसम्म विस्तार भइसकेको छ ।

१७ वर्षपछि पछाडि फर्केर हेर्दा गर्व, खुसी र कृतज्ञताको अनुभूति हुने केएफसी एन्ड पिज्जा हट नेपालकी मार्केटिङ म्यानेजर लुनिभा सिंह बताउँछिन् ।

‘सन् २००९ मा दरबारमार्गमा पहिलो केएफसी स्टोर सञ्चालनमा आउँदा नेपाली उपभोक्ताले देखाउनुभएको उत्साह र माया हाम्रो यात्राको सबैभन्दा अविस्मरणीय सुरुवात हो,’ सिंह भन्छिन्, ‘एउटा स्टोरबाट सुरु भएको यात्रा देशका विभिन्न सहर र समुदायसम्म पुग्नुमा ब्रान्डमाथि विश्वास गर्ने ग्राहक, समर्पित कर्मचारी, साझेदार तथा सम्पूर्ण नेपाली उपभोक्ताको ठूलो योगदान छ ।’

१७औं वार्षिकोत्सवमा १७ रुपैयाँमै ‘हट एन्ड क्रिस्पी बकेट’

१७ वर्षे यात्राको खुसियाली उपभोक्ताहरूसँग साट्न केएफसीले २४ र २५ नोभेम्बर २०२६ (८ र ९ मंसिर) मा विशेष वार्षिकोत्सव अफर सञ्चालन गरेको छ ।

केएफसी एन्ड पिज्जा हट नेपालकी मार्केटिङ म्यानेजर सिंहका अनुसार १७औं वार्षिकोत्सवका अवसरमा सुरुमा आएका १७ जना ग्राहकले ८ पिसको ‘हट एन्ड क्रिस्पी बकेट’ मात्र १७ रुपैयाँमा प्राप्त गर्न सक्नेछन् । साथै, उनीहरूले २५० एमएलको पेप्सी क्यानसमेत पाउनेछन् ।

यदि १७ रुपैयाँको उक्त अफर छुटे पनि ग्राहकले ८ पिसको बकेट मात्र १ हजार १ सय ९९ रुपैयाँमा लिन सक्ने सिंहले जानकारी दिइन् । यसमा ग्राहकले ५० प्रतिशत बचत गर्न सक्नेछन् ।

देशभरि रहेका केएफसीका सबै आउटलेटमा उपलब्ध यो अफर ‘डाइनिङ’ र ‘टेक–अवे’ दुवै सेवामा मान्य रहने कम्पनीले जनाएको छ ।

उपत्यकामा २०, मोफसलमा ११ आउटलेट

सन् २००९ मा दरबारमार्गबाट सेवा थालेको केएफसीले अहिले काठमाडौं उपत्यकाभित्र मात्रै २० आउटलेट सञ्चालनमा ल्याएको छ ।

उपत्यकाभित्र दरबारमार्ग, नक्साल, नक्साल फुडपार्क, महाराजगञ्ज, महाराजगञ्ज (फुडकोर्ट), सामाखुसी, बौद्ध, बीबीएसएम बौद्ध, लबिम, कलंकी, काठमाडौं मल, आइप्लेक्स, थिमि, सीतापाइला, गोल्फुटार, सातदोबाटो, ग्वार्को, पेप्सीकोला, कोटेश्वर र चन्द्रागिरिमा केएफसीका आउटलेट छन् ।

यस्तै उपत्यका बाहिर ११ आउटलेट विस्तार भएका छन् । जसमा पोखरा, चिप्लेढुंगा, बीबीएसएम पोखरा, भरतपुर, कुरिनटार, बुटवल, नेपालगञ्ज, वीरगञ्ज, इटहरी, बीबीएसएम विराटनगर र बिर्तामोड छन् ।

काठमाडौं बाहिरका सहरहरूमा भएको विस्तारलाई कम्पनीले आफ्नो विकास यात्राको महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएको छ ।

मोफसलका सहरहरूमा पनि केएफसीप्रति उपभोक्ताको उत्साह र आकर्षण निकै सकारात्मक देखिएको छ । विशेषगरी परिवार, साथीभाइ र युवापुस्तामाझ केएफसीसँग जोडिएको अनुभव र स्वादप्रतिको रुचि बढ्दै गएको कम्पनीको निष्कर्ष छ ।

‘केएफसीको अनुभव अब ठूला सहरहरूमा मात्र सीमित छैन,’ सिंह भन्छिन्, ‘विभिन्न सहरका उपभोक्ताले पनि अन्तर्राष्ट्रिय स्तरको स्वाद, गुणस्तर र सेवाको अनुभव आफ्नै सहरमा गर्न चाहनुहुन्छ, त्यसैले हाम्रो विस्तार स्टोरको संख्या बढाउने उद्देश्यमा मात्र सीमित छैन, स्थानीय समुदायसँग जोडिने, रोजगारी सिर्जना गर्ने र सहज रूपमा गुणस्तरीय सेवा उपलब्ध गराउने हाम्रो लक्ष्य हो ।’

केएफसीको मुख्य विशेषता भनेको विश्वव्यापी रूपमा स्थापित स्वाद, मौलिक ‘रेसिपी’ र गुणस्तरप्रतिको प्रतिबद्धता हो । अन्तर्राष्ट्रिय मापदण्ड र गुणस्तर कायम राख्दै नेपाली उपभोक्ताको स्वाद, खानपानको बानी र उपभोग गर्ने तरिकालाई पनि उत्तिकै महत्त्व दिँदै आएको कम्पनीले जनाएको छ ।

नेपाली बजारमा उपभोक्ताको रुचि फरक–फरक छ । कोही साथीभाइसँग बसेर चिकेनको स्वाद लिन रुचाउँछन् भने कोही परिवारसँग बसेर भोजन साटासाट गर्न चाहन्छन् ।

यही उपभोक्ता संस्कृति ध्यानमा राखेर केएफसीले विभिन्न समूह र अवसर सुहाउँदो बकेट, कम्बो, मिल र विभिन्न अफर प्रस्तुत गर्दै आएको छ ।

उपभोक्ताको प्रतिक्रिया र बजारको ‘ट्रेन्ड’ का आधारमा समय–समयमा नयाँ उत्पादन, सीमित अवधिका अफर तथा आकर्षक मिल विकल्पहरू ल्याउने गरिएको कम्पनीले जनाएको छ ।

केएफसीको मौलिक पहिचान कायम राख्दै नेपाली उपभोक्तालाई सान्दर्भिक र सन्तोषजनक अनुभव प्रदान गर्नु नै आफूहरूको मुख्य प्रयास रहेको व्यवस्थापनको भनाइ छ ।

३१ आउटलेटमा ४ सय बढीलाई रोजगारी

केएफसीको १७ वर्षे नेपाल यात्रामा आउटलेट विस्तारसँगै जोडिएको अर्को बलियो पाटो स्वदेशी जनशक्ति र स्थानीय आपूर्ति प्रणालीको उपयोग हो ।

ब्रान्डको सफलता पसलको संख्यामा मात्र होइन, त्यसले स्थानीय अर्थतन्त्र र रोजगारी सिर्जनामा पुर्‍याएको योगदानमा पनि मापन हुन्छ ।

केएफसीका अनुसार देशभरि सञ्चालनमा रहेका ३१ वटै आउटलेटमा हाल ४ सय बढी नेपाली युवाले प्रत्यक्ष रोजगारी पाइरहेका छन् । किचन अपरेसनदेखि ग्राहक सेवा, स्टोर व्यवस्थापन, बिक्री, भण्डारण, आपूर्ति तथा प्राविधिक र प्रशासनिक जिम्मेवारीसम्म नेपाली जनशक्ति नै खटिएका छन् ।

अन्तर्राष्ट्रिय ब्रान्डको कार्यप्रणालीभित्र रहेर काम गर्दा युवापुस्ताले सेवा क्षेत्रमा प्रवेशमात्र पाएका छैनन्, व्यावसायिक रेस्टुरेन्ट व्यवस्थापनको सिपसमेत निखार्ने अवसर पाएका छन् ।

आतिथ्य सत्कार, समयपालना, सरसफाइ, ग्राहक व्यवहार र गुणस्तर नियन्त्रण जस्ता पक्षमा नेपाली जनशक्तिको दक्षता बढाउन यसले सघाएको छ ।

फ्रेन्चाइज मोडेल र गुणस्तरीय सेवाको व्यावसायिक अभ्यास

नेपालमा केएफसी भित्रिनुलाई एउटा विदेशी फास्टफुड ब्रान्ड खुल्नुका रूपमा मात्र हेर्न मिल्दैन । यसले नेपाली रेस्टुरेन्ट तथा हस्पिटालिटी क्षेत्रमा व्यावसायिक ब्रान्डिङ, फ्रेन्चाइज मोडेल, व्यवस्थित सेवा प्रवाह र कडा गुणस्तर नियन्त्रणको पद्धति समेत भित्र्याएको छ ।

एउटै ब्रान्डका नाममा फरक–फरक सहरमा आउटलेट चलाउँदा स्वाद, स्वच्छता र सेवामा एकरूपता जोगाउनु सबैभन्दा चुनौतीपूर्ण मानिन्छ ।

तर, अन्तर्राष्ट्रिय फ्रेन्चाइज प्रणालीमा चल्ने भएकाले केएफसीले कच्चापदार्थ छनोट र भण्डारणदेखि भान्साको तयारी, कर्मचारी तालिम र ग्राहकसम्म परिकार पुग्दाको हरेक चरणमा एउटै ‘फुड सेफ्टी’ र गुणस्तर मापदण्ड लागु गर्दै आएको छ ।

केएफसीले स्थापित गरेको यही व्यवस्थित कार्यशैलीले नेपालको रेस्टुरेन्ट बजारमा फ्रेन्चाइज व्यवसायप्रतिको आकर्षण समेत बढाएको छ ।

पछिल्लो समय थुप्रै स्वदेशी तथा विदेशी फुड ब्रान्डहरूले व्यवसाय विस्तारका लागि फ्रेन्चाइज मोडल अपनाउन थाल्नुमा केएफसीले बसालेको व्यावसायिक अभ्यासले पनि आधार तयार पारेको देखिन्छ ।

केन्टकीको सडकछेउदेखि दरबारमार्गसम्म : केएफसी इतिहास

नेपालमा १७औं वार्षिकोत्सव मनाइरहेको केएफसीको विश्वव्यापी इतिहास भने झन्डै एक शताब्दी पुरानोे छ ।

सन् १९३० मा आर्थिक मन्दीका बेला अमेरिकाको केन्टकी राज्यस्थित कोर्बिनमा ४० वर्षीय हार्ल्यान्ड स्यान्डर्स (कर्नेल स्यान्डर्स) ले सडकछेउको एउटा सर्भिस स्टेसन र मोटेलबाट यात्रुहरूलाई फ्राइड चिकेन खुवाउन सुरु गरेका थिए ।

सन् १९३९ मा उनले ११ वटा जडीबुटी र मसलाको गोप्य मिश्रण अर्थात् ‘ओरिजिनल रेसिपी’ र प्रेसर फ्रायरमा पकाउने प्रविधिलाई पूर्णता दिए, जुन आज पनि केएफसीको मुख्य पहिचानका रूपमा कायमै छ ।

१९५० मा सेतो सुटमा सार्वजनिक पहिचान बनाएका स्यान्डर्सले  १९५२ मा अमेरिकाको युटा राज्यस्थित सल्ट लेक सिटीमा पहिलो ‘केन्टकी फ्राइड चिकेन’ (केएफसी) फ्रेन्चाइज खोले ।

त्यसको पाँच वर्षपछि १९५७ मा केएफसीको विश्वचर्चित ‘बकेट’ प्याकेजिङको सुरुवात भयोे । १९६४ मा ६ सयभन्दा बढी स्टोरको सञ्जाल विस्तार गरिसकेपछि उनले कम्पनी लगानीकर्ताको समूहलाई बिक्री गरे र जीवनभरि केएफसीको ब्रान्ड एम्बेसडरका रूपमा सक्रिय रहे ।

हाल ‘यम ! ब्रान्ड्स’ अन्तर्गत सञ्चालित केएफसी १ सय ४९ देश तथा क्षेत्रमा झन्डै ३४ हजार आउटलेट सहित विश्वकै लोकप्रिय चिकेन रेस्टुरेन्ट चेनमध्ये एक बनेको छ ।

त्यही विश्वव्यापी यात्रा २००९ नोभेम्बर २५ मा नेपाल आइपुगेको हो । यम ! ब्रान्ड्सको आधिकारिक फ्रेन्चाइजका रूपमा देवयानी इन्टरनेसनल नेपाल प्रालिले काठमाडौं दरबारमार्गमा पहिलो आउटलेट सञ्चालनमा ल्याएपछि नेपालमा अन्तर्राष्ट्रिय स्तरको ‘क्विक सर्भिस रेस्टुरेन्ट’ (क्यूएसआर) संस्कृतिको नयाँ अध्याय सुरु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?