Comments Add Comment

गोरखाका स्वास्थ्यचौकीमा सिटामोल पनि छैन, निःशुल्क पाइने औषधि पनि किन्न बाध्य

Medicine

५ माघ, गोरखा । माग अनुसार उपलब्ध गराउन नसक्दा गोरखाका अधिकांश स्वास्थ्यचौकीमा औषधि अभाव भएको छ । औषधिजस्तो अत्यावस्यक सामाग्री अभाव भएपछि बिरामी मारमा परेका छन् ।

बिरामीलाई निःशुल्क उपलब्ध गराउन सरकारले जिल्ला जनस्वास्थ्य कार्यालयलाई औषधि पठाउने गर्छ । तर कार्यालयले पर्याप्त मात्रामा औषधि पुर्‍याउन नसक्दा जिल्लाका अधिकांश स्वास्थ्यचौकीमा औषधि अभाव देखिएको हो ।

‘हाम्रोमा त सिटामोल पनि छैन,’ सिम्जुङ्ग स्वास्थ्यचौकीका इन्चार्ज बलराम पोखरेलले भने ‘अलि अलि औषधि वालुवा बर्थिङ सेन्टरसँग मागेर काम चलाएपनि अधिकांश बिरामीलाइ रित्तै फर्काउनुपरेको छ ।’

औषधि अभावका कारण प्रभावकारी सेवा दिन नसकेको पोखरेलको भनाइ छ । ‘जनस्वास्थ्य कार्यालयसँग औषधि माग गरेको पनि तीन महिना भइसक्यो तर औषधि आएको छैन, हेल्थपोष्टमा आएका बिरामीहरुलाइ औषधि छैन भन्दा हेल्थपोष्ट किन खोल्नु पर्‍यो ? भनेर रिसाएर जान्छन्,’ पोखरेलले भने ।

औषधि अभाव भएपछि सिम्जुङ्गका स्थानीयहरु चार घण्टाको पैदल हिडेर भच्चेकको स्वास्थ्यचौकी र जौवारीको प्राथमिक स्वास्थ्य केन्द्रमा सेवा लिन जान बाध्य छन् ।

healthpost
भुकम्पले क्षति गरेपछि अस्थाई टहरा र टेन्टमा संचालन हुदै आएको सौरपानी गाविसमा रहेको सौरपानी स्वास्थ्यचौकी । तस्विर सौजन्य /अनिता पनेरु

गोरखाको सौरपानी र ताकुमाझ लाकुरीवोट गाविसको स्वास्थ्यचौकीहरुमासमेत औषधिको चरम अभाव भएको छ । अतिआवश्यक औषधिहरु केही मात्रामा रहेपनि अधिकांश औषधि नभएको सौरपानी स्वास्थ्यचौकी इन्चार्ज अनिता पनेरुले बताइन् । ‘निशुल्क वितरण गर्नुपर्ने औषधि पनि किनेर खानुस् भन्नुपरेको छ, सरकारले दिन्छु भनेर हेल्थपोष्ट रोखेको छ तर दिँदैन भन्दै बिरामीहरु रिसाउँछन्,’ पनेरुले भनिन् ।

जिल्लामा तीन वटा प्राथमिक स्वास्थ्य केन्द्र र ६४ वटा स्वास्थ्यचौकीहरु रहेका छन् । तर अधिकांश स्वास्थ्यचौकीहरुमा औषधि अभाव छ । औषधि अभावका कारण प्रभावकारी सेवा प्रवाह हुन सकेको छैन । निःशुल्क पाउने औषधिहरु किनेर खान सेवाग्राहीहरु बाध्य छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालयले प्रत्येक स्वास्थ्यचौकीमा ३५ किसिमका औषधिहरु निःशुल्क वितरणका लागी पठाउने गर्छ । तर माग अनुसारको औषधि उपलब्ध गराउन नसक्दा अभाव भएको हो । अहिले झाडापखालाको औषधि मेट्रो, सिटामोल, एमोक्सासिलिन, भिटामिन ‘बी’, आइरन चक्की लगायतका अतिआवश्यक औषधिहरु जिल्लामा अभाव भएको जनस्वास्थ्य कार्यालयका खिलानाथ सिंखडाले बताए ।

माग अनुसार औषधि पुर्‍याउन नसकेको जनस्वास्थ्य कार्यालयको स्वीकारोक्ति 

स्वाथ्यचौकीहरुको माग अनुसार औषधि पठाउन नसकेको जिल्ला जनस्वास्थ्य कार्यालय गोरखाले स्वीकारेको छ । कार्यालयमै औषधि अभाव भएका कारण माग अनुसार पठाउन नसकिएको जिल्ला जनस्वास्थ्य कार्यालयका हेल्थ असिस्टेन्ट नानीबाबु दानीले बताए ।

‘माग गरे अनुसार औषधि पठाउन नसकेपनि अलि अलि गरी पठाइरहेका छौं,’ दानीले भने । औषधि खरिदका लागि यस बर्ष कुनै पनि टेन्डर परेको छैन । ‘दुइ महिना अघि औषधि खरिदका लागि मन्त्रालयले ३० लाखको टेन्डर खोलेको थियो तर रित नपुगेर टेन्डर परेन,’ हेल्थ असिस्टेन्ट दानीले भने ‘एक हप्ता अघि फेरि औषधि खरिदका लागी बोलपत्र आब्हान गरिएको छ, १५ दिनको म्याद भएकाले टेन्डर हाल्ने क्रम जारी छ ।’

टेन्डर नपरेका कारण पनि औषधि अभाव भएको दानीले बताए । जिल्लामा बार्षिक एक करोड ६२ लाखको औषधि आवश्यक रहेपनि मन्त्रालयबाट जम्मा ३३ लाख प्राप्त हुँदा समस्या भएको कार्यालयले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment