Comments Add Comment

महन्थले सुनाए अफ्रिकाको कथा, सम्वन्ध विच्छेद गर्ने उपेन्द्रको धम्की

nc-mao-and-morcha

११ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आहृवानमा बसेको सत्तारुढ कांग्रेस, माओवादी र मधेसी मोर्चाको बैठकको सुरुवात तनावपूर्ण रहृयो । तर, समापन भने केही सहमतिका साथ भएको छ ।

स्थानीय चुनाव घोषणा गर्ने तयारीप्रति आक्रोस बोकेर पुगेका मोर्चाका नेताहरु पनि प्रचण्डको आश्वासन बोकेर फर्किएका छन् ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले स्थानीय चुनावको मिति घोषणाका लागि सहमति मागेका थिए । जसलाई मधेसी मोर्चाका नेताहरुले ठाडै अस्वीकार मात्र गरेनन्, सम्वन्ध विच्छेद गर्ने चेतावनी समेत दिएका छन् ।

एक नेताका अनुसार प्रचण्डले संविधान संशोधन विधेयकमा परिर्माजन गर्नु पर्ने र अहिले नै दुई तिहाई मत पुगिनसकेको भन्दै यसले निश्चित समय लिने बताए । अहिले नै अघि बढ्दा संशोधन फेल हुन सक्ने, जुुन आफूहरुले नचाहेको भन्दै उनले संशोधनको प्रक्रिया अघि बढ्दैगर्छ, चुनावका लागि १०० दिन निर्वाचन आयोगलाई दिनु पर्ने भन्दै सहमति मागेका थिए ।

महन्थले सुनाए अफ्रिकाको कथा

तर, तराई मधेस लोकतान्त्रिक पार्टीका नेता महन्थ ठाकुरले असहमति जनाए । उनले बैठकमा अफ्रिकाको कथा सुनाएका थिए । गोराहरु गएर कालाहरुलाई बाइबल थमाएको र आँखा चिम्म गर्न भनेको र केही समयपछि आँखा खोलेर हेर्दा हातमा बाइबल बाहेक केही बाँकी नरहेको उनको कथाको सार थियो । उनले भनेका थिए, तपाईहरु पनि यस्तै कुरा गर्नुहुन्छ ।’

उनले संविधान संशोधन गरेपछि मा चुनाव घोषणा गर्नु पर्ने आफूहरुको अडान रहेको बताए ।

लगतै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले महन्थको कुरामा सहमति मात्र जनाएनन्, सम्वन्ध विच्छेद गर्ने धम्की दिएका छन् ।

उनले तीन दलबीच सहमति भएकाले सरकार चुनावको मिति घोषणा गरेर अघि बढ्न पनि सक्ने बताए । तर, त्यसो भएकै दिनबाट मधेसी मोर्चाको सम्वन्ध विच्छेद हुने र आफूहरु सबै कुरा विगार्न तिर लाग्ने बताए ।

साथै उनले संविधान संशोधन नभएसम्म कुनै पनि चुनाव हुन नदिने बताएका छन् । मधेसी मोर्चाका अधिकांश नेताहरुको टोन त्यस्तै थियो ।

प्रचण्डको एक घन्टा भाषण

मोर्चाका नेताहरुले सरकार र आफूमाथि नै आशंका गर्न थालेपछि प्रचण्डले फेरि बोले । उनले झण्डै एक घन्टा लामो भाषण नै गरेका थिए ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि आफ्नो राम्रै भएको तर, उनको ‘राष्ट्रवाद’ले देशलाई हित नगर्ने भएपछि आफूले कांग्रेससँग सहमति गरेको उनले बताए । आफूलाई प्रधानमन्त्री पद नभई देशको समस्या समाधान ठूलो भएको र त्यसकै लागि मधेसी मोर्चासँग सहमति गरेको उनले बताए ।

प्रचण्डले शंका नगर्न पटक पटक मधेसी मोर्चाका नेताहरुलाई आग्रह गरेका थिए ।

एमालेसँग गरेको छलफलमा पनि कांग्रेस र माओवादीले मधेसी मोर्चाको प्रतिनिधित्व गरेको भन्दै उनले मोर्चाको सहमति विना सरकारले राजनीतिक निर्णय नलिने बताए ।

प्रधानमन्त्रीको यो आश्वासनपछि बैठकको वातावरण केही सहज बनेको मोर्चाका एक नेताले बताए ।

बैठकमा मधेसी मोर्चाको सहमतिमा मात्र चुनावको मिति घोषणा गर्ने समझदारी भएको छ । साथै संविधान संशोधन विधेयकमा गरिने परिर्माजनबारे छलफल थाल्ने र स्थानीय तहबारे पनि छिट्टै सहमति गर्ने समझदारी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment