खासगरी म कवितालाई नै प्रेम गर्ने पाठक हुँ । अरु विधाका कृतिहरु पढे पनि धेरैजसो कविताहरु नै पढेको छु । विगतदेखि समकालीन धेरै कविहरुका कविता रुचाउँछु । त्यसमा पनि पुरानाहरुमा मलाई मन पर्ने कवि भूपी शेरचन नै हो । त्यसपछि गोपालप्रसाद रिमाल र पारिजातका कविता मन पर्छ ।
अहिले नेपाली साहित्यमा आख्यानको बजार अलि बढेको देखिन्छ । कथा, उपन्यास पढ्न अलिकता सजिलो पनि हुन्छ । हामीकहाँ पहिले कोठामा बसेर, गुनेर कथाहरु लेखिन्थ्यो । तर, पछिल्लो समयमा समाज बुझेर, अध्ययन गरेर लेखिने गरेकोले आख्यान यथार्थवादी हुँदै गएको देखिन्छ ।
आख्यानपछि नेपाली साहित्यमा अर्को बजार देखिन्छ, आत्मकथाको । यो दौडमा आत्मकथाभन्दा आख्यान नै अगाडि पाउँछु । किनकि आत्मकथाका पुस्तक पढ्दा मलाई कति कुरा सत्य हो जस्तो पटक्कै लाग्दैन ।
देश बाहिर बसेर लेखेका आख्यानहरु पनि धेरै राम्रा छन् । नीलम कार्की निहारिकाको उपन्यास ‘चीरहरण‘ त्यस्तै गहकिलो लाग्यो । यसपालि मदन पुरस्कार पाउने रामलाल जोशीले पनि ‘ऐना‘ कथासंग्रहमा राम्रै कथा लेखेका हुन् । तर, धेरै चित्त बुझेन । कतिपय कथामा कति ठाउँमा अप्ठेरो पनि लाग्यो । सुदूरपश्चिमाञ्चलतिरको रीति, थिति र संस्कृति नबुझेर पनि मलाई अप्ठेरो लाग्यो होला ।
केही समयअघि पढेको राजन मुकारुङको ‘दमिनी भिर‘ उपन्यास राम्रो लाग्यो । त्यो आख्यानकै ठूलो दस्तावेज हो भन्ने जस्तो लाग्छ ।
आख्यानपछि नेपाली साहित्यमा अर्को बजार देखिन्छ, आत्मकथाको । यो दौडमा आत्मकथाभन्दा आख्यान नै अगाडि पाउँछु । किनकि आत्मकथाका पुस्तक पढ्दा मलाई कति कुरा सत्य हो जस्तो पटक्कै लाग्दैन । कतिपय लेखकहरुले नढाँटी पनि लेखेका होलान् । तर, धेरैले झुटकै खेती गरेका छन् ।
मैले आत्मकथाको पुस्तक धेरैजसोको पढिसकेँ । त्यसमा अधिकांशले आफूलाई फुर्क्याउने र सबभन्दा ठूलो बनाउने गरेको देखिन्छ ।
रुक्माङ्गद कटवालको आत्मकथा चाहिँ अति नै बढी हो । सिङ्गो देश आफैंले चलाएको छु जस्तो गरी लेखेका छन् । त्यस्तो भएपछि पढ्न अल्छी लाग्छ ।
पछिल्ला वर्षहरुमा धेरैजनाको आत्मकथा भटाभट आयो । राजदरबारका सचिव विवेक शाहदेखि पूर्व प्रधानसेनापति रुक्माङ्गद कटवालसम्मले लेखे । यिनीहरुले आफूलाई कत्रो ठूलो देखाउन खोजेको हुन् ! जसले पनि त्यो समयका ठूला मानिएका मान्छेको मसँग सम्बन्ध भयो, मसँग यस्तो र उस्तो गरे, फलानाले यस्तो भन्नुभो भनेर आफ्नै बखान गरेको पाइन्छ । यो सबै आत्मप्रदर्शन बाहेक केही होइन । इमानदारी कत्ति पनि पाइँदैन ।
रुक्माङ्गद कटवालको आत्मकथा चाहिँ अति नै बढी हो । सिङ्गो देश आफैंले चलाएको छु जस्तो गरी लेखेका छन् । त्यस्तो भएपछि पढ्न अल्छी लाग्छ । पहिले–पहिलेको कुरा अलिअलि उनले लेख्न खोजेकै हो, ओखलढुंगा र भोजपुरसम्मको कुरा ठीकै हो । पढ्दा शीतल नै लाग्छ । सामान्य परिवारबाटै आएका हुन् उनी । राजा महेन्द्रले नै उनलाई काठमाडौंमा लिएर आए ।
तर, त्यसपछाडिको क्रममा भने उनले आफूलाई निकै जब्बर रुपमा प्रस्तुत गरेका छन् । पछि मेरो दरबारसँगै सम्पर्क भएन भन्ने जस्ता जुन कुरा उल्लेख गरिएका छन्, त्यो त बिलकुल झुटो हो । त्यसैगरी कसैलाई मन्त्री बनाउन मैले यसो गर्नुपर्यो,ढिस्कानालाई यसो गर्नुपर्यो, उसले यसरी मलाई फोन गर्यो भनेर कामै नलाग्ने कुरा लेखेका छन् ।
पत्रकारहरुले पनि भरमार लेख्न थालेका छन् आत्मकथा । तीमध्ये विजयकुमारको ‘खुसी‘ अलिकता मन पर्यो ।
आत्मकथाको यो भिडमा मलाई जगदीश घिमिरेको ‘अन्तर्मनको यात्रा‘ पढ्दा भने निकै घत लाग्यो । यो किताब त्यसबेला प्रकाशन हुने बित्तिकै पढेको हुँ । उनले आत्मालाप भनेका छन् कितापलाई ।
‘अन्तर्मनको यात्रा‘ स्टान्डर्डको किताब हो । त्यसमा लेखकले आफूलाई त्यति साह्रो फुर्क्याएको देखिँदैन । आफूलाई ठूलो ठानेर लेखेका छैनन् । साँचो कुरा नै लेखेको हो कि भनेर पनि मलाई त्यो मन परेको हो । आफ्नो विषयमा लेख्दालेख्दै जगदीशले त्यसमा विचार पनि राखेका छन्, त्यो राम्रो पाटो हो ।
त्यो पढ्दा जगदीशले गरेका प्रयत्नले निकै छुन्छ । उनले जीवनका गरेका प्रयास साँच्चै सराहनीय पनि हो । एउटा सामान्य साहित्यिक व्यक्तित्वले त्यत्रो ठूलो कुरा लेख्न सक्दैन, एउटा साँच्चैको साहित्यिकले मात्र लेख्न सक्छ । उनको बोलाइ र लेखाइ अत्यन्त मार्मिक तरिकाको छ ।
उनको सोच जीवनलाई बडो प्रेमले र सदुपयोग गरेर बाँच्नुपर्छ भन्ने देखिन्छ । अलिकता आध्यात्मिकता पनि त्यसभित्र घुसेको छ । असल कामको निम्ति दुःख गर्नुपर्छ, जति नै दुःख भए पनि असल कामको परिणाम असल नै हुन्छ भन्ने किसिमको सन्देश पनि त्यसले प्रवाह गर्छ । म उनको लेखन शैलीबाट पनि प्रभावित भएँ ।
मलाई विश्वेश्वरप्रसाद कोइरालाको ‘आत्मवृत्तान्त‘ पनि खुबै चित्त बुझेको हो । उनले लेखेका किताब सबै मन पर्छन् । त्यसमध्ये पनि ‘आत्मवृत्तान्त‘ पढ्दा छक्क लाग्छ, यो मान्छे चाहिँ कस्तो थियो होला भनेर !
पूर्वी नेपालमा एक समय वीपीको सम्निमाले किराँतीको बच्चालाई जंगली बनायो आदि भनेर खुब हल्ला भयो । तर, मलाई त्यो कुरा मन परेन । मैले कुरा यस्तो हो भनेर सम्झाउन खोज्दा कतिपय भाइ र साथीहरु मसँग नै आइलाग्न खोजे ।
उनले किताबमा आफूलाई बढाइँचढाइ गरेको झल्किँदैन । उनको व्यक्तित्व जति छ र अरु मान्छेले जति उनलाई बुझेका छन्,त्यति नै आफूलाई चित्रण गरेका छन् । आत्मवृत्तान्तमा राजनीतिक कुरा छ भन्छन्, तर मैले साहित्य नै बढी पाएँ ।
विपीका ‘नरेन्द्र दाइ‘, ‘मोदीआइन‘, ‘तीन घुम्ती‘ र ‘सुम्निमा‘ उपन्यास पनि पढेको छु । ‘सुम्निमा‘ लाई राई–किराँतीहरुले विरोध जनाएका थिए । तर, मैले त्यो दृष्टिले हेरिनँ उपन्यासलाई । विरोध गर्नुपर्ने कुरा छैन, उनले जे लेख्नुपर्ने थियो, त्यही लेखे भनेर कतिपय विरोधीहरुलाई सम्झाएँ पनि ।
‘सुम्निमा‘ मा अलिकता यौनवादिता पनि छ । एउटा उच्च कुलघरानको मान्छेले सामान्य परिवारको रैनी मान्छेलाई माया गर्नु त्यो नराम्रो कुरा हो र ? त्यसमा यौनको गन्ध त छैन । र पनि यौन भन्ने कुरा त स्वाभाविक र प्रकृतिजन्य कुरा नै हो । त्यस्तो उच्छृङ्खलता त त्यसमा छैन । बरु सुम्निमाले त किराँतीहरुलाई उठायो पो त । किराँतीहरुको सम्झना त्यसरी कुन लेखकले गर्यो त ? राई चेलीलाई पात्रको रुपमा लिए पनि उनले छुद्र रुपमा त प्रयोग गरेका छैनन् । सम्मानपूर्वक र इज्जतको रुपमै लिएका छन् ।
पूर्वी नेपालमा एक समय वीपीको सम्निमाले किराँतीको बच्चालाई जंगली बनायो आदि भनेर खुब हल्ला भयो । तर, मलाई त्यो कुरा मन परेन । मैले कुरा यस्तो हो भनेर सम्झाउन खोज्दा कतिपय भाइ र साथीहरु मसँग नै आइलाग्न खोजे । मैले आफूले जाने–बुझेसम्म बुझाएँ ।
त्योबेला कतिले किताब जलाए पनि । तर, त्यसो होइन । ‘सुम्निमा‘ उपन्यासलाई राईहरुको सम्पत्ति भन्छु म । उच्च वर्गको कुलीन मान्छे, एउटा रैनीलाई पवित्र रुपमा, इज्जत र सम्मानको रुपमा पेश गर्दा हाम्रो छवि बढेको मान्छु ।
(कुराकानीमा आधारित)