Comments Add Comment

प्रचण्डः दायाँ रडि्कँदा पनि खुकुरीको धार, बायाँ पनि खुकुरी !

बाबुराम भन्छन्- प्रधानमन्त्री दबावमा हुनुहुन्छ !


१५ माघ, काठमाडौं । शनिबार दिउँसो टुँडीखेलमा आयोजित सोनाम ल्होछार मनाउने कार्यक्रममा तामाङ भेषभुषा झल्कने टोपी लगाएर माओवादी नेताहरु प्रचण्ड, मोहन वैद्य र डा. बाबुराम भट्टराई तीनैजना मञ्चमा देखिए ।

कार्यक्रममा माओवादी नेता वैद्यले सांस्कृतिक पर्वको महत्वबारे चर्चा गर्नुबाहेक खासै राजनीतिक भाषण गरेनन् । केही पछाडि बोलेका डा. बाबुराम भट्टराईले चाँहि प्रधानमन्त्री प्रचण्डको नाम लिएरै भने-‘प्रधानमन्त्रीज्युलाई दबाव परेको जस्तो छ, एकथरिले संविधान संशोधन प्रस्ताव थन्क्याएर चुनावको मिति घोषणा गर्नुपर्छ भनिरहेका छन्, अर्काथरिले संविधान संशोधन नगरी चुनाव घोषणा गर्न पाइन्न भनिरहेका छन् ।’

नयाँ शक्तिका नेतासमेत रहेका पूर्वप्रधानमन्त्री भट्टराईले यसरी दुईखाले कुरा गरेर मुलुकलाई बन्धकमा राख्न नहुने बताए । उनले भने- ‘यसरी चल्नेवाला छैन, नेपाललाई यसरी बन्धक बनाएर राख्न पाइँदैन ।’

‘दायाँ रडि्कँदा पनि खुकुरी, बाँया पनि खुकुरी’

प्रधानमन्त्री प्रचण्डले चाँहि आफू दोधारमा भन्दा पनि खुकुरीकै धारमा रहेको औंल्याए । प्रधानमन्त्रीले ल्होछारको शुभकामना दिने क्रममा टुँडीखेलबाट भने- ‘अघि बाबुरामले भनेको जस्तो अप्ठ्याराहरु छन् । सजिलो छैन । थोरै दायाँ रडि्कँदा पनि खुकुरीको धार, बाँया पनि खुकुरीको धार छ ।’

तर, यस्तो खुकुरीको धारलाई सामना गरिने प्रधानमन्त्रीले बताए । उनले भने- ‘नेपालमा एकात्मकताको अन्त्य र संघीयताको स्थापना, समावेशी समानुपातिकको स्थापनाको नेतृत्व गर्ने हामी हौं, यी सबै चुनौती सामना गरिनेछ ।’

प्रधानमन्त्री प्रचण्डले भने- ‘संविधान कार्यान्वयनमा जटिलता छन्, त्यहाँ अवसर पनि हुन्छ । र, मैले भन्दै आएको छु कि मधेस पहाड, हिमाल मिलेर जानुपर्छ ।’

संघीय लोकतान्त्रिक गणतन्त्रमा सबैले अपेक्षा गरे अनुसार अधिकार प्राप्त भएको छैन भन्दै प्रधानमन्त्री प्रचण्डले अगाडि थपे- ‘मैले संविधानको स्वीकार्यता बढाउन संशोधनको प्रक्रिया अघि बढाएको छु र परिर्माजनका क्रममा तामाङ समुदायको अधिकार बढाउने विश्वास दिलाउन चाहन्छु ।’

उनले भने- ‘संविधानमा सीमा र कमजोरी छ । तर, गतिशील दस्तावेजका रुपमा परिमार्जन गर्दै जाने हो । र, यो दोस्रो संशोधनले स्वीकार्यता बढाउने र चुनावमा जाँदा सिंगो देश चुनावमा जाने विश्वास छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment