Comments Add Comment

संसदमा पुग्यो थ्रेसहोल्ड विवाद, साना दलले भने-लोकतन्त्रको घाँटी निमोठ्न खोजियो

रुक्मिणीको प्रश्न-२५ ओटा साना दलका भोटर नेपाली नागरिक होइनन् ?


२० माघ, काठमाडौं । संसदमा विचाराधीन राजनीतिक दल सम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमा राष्ट्रिय दलको मान्यता पाउनको लागि ३ प्रतिशत मत ल्याउनुपर्ने गरी थ्रेसहोल्ड राख्न लागिएको भन्दै साना दलले विरोध गरेका छन् ।

व्यवस्थापिका संसदको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै साना दलका सांसदहरुले थ्रेसहोल्ड राख्नु संविधान विपरित र लोकतन्त्रको पनि बिपरित हुने दावी गरे ।

उनीहरुले मुलुक बिगि्रनुमा साना दल होइन, ठूला दल नै जिम्मेवार रहेको आरोप समेत लगाए ।

नेपाल मजदुर किसान पार्टीकी अनुराधा थापा मगरले ठूला दल राष्ट्रियताको सवालमा भन्दा पनि थ्रेसहोल्ड राख्नमा केन्दि्रत रहेको आरोप लगाइन् । उनले संविधानमै नभएको प्रावधानलाई निर्वाचन कानुनमा राख्न लागिएको बताइन् ।

थापाले भनिन्, ‘ठूला दल मुलुकको सिमाना मिचिँदा बोल्दैनन् तर, साना दलको अस्थित्व समाप्त पार्न मिल्छन् । थ्रेसहोल्ड राखेर लोकतन्त्रको घाँटी निमोठ्न खोजिएको छ ।’

तराई मधेस सद्भावना पार्टीका महिन्द्र राय यादवले थ्रेसहोल्ड जस्तो राष्ट्रिय चासोको विषयमा छलफल नगरि जबर्जस्ती ३ प्रतिशत राख्न खोजिएको भन्दै आपत्ति जनाए । उनले थ्रेसहोल्ड राख्नुअघि गम्भिर रुपमा छलफल हुनुपर्ने बताए ।

त्यस्तै थरुहट पार्टीकी रुक्मिणी चौधरीले थ्रेसहोल्ड संविधान विपरित र लोकतन्त्र विपरित रहेको बताइन् । उनले भनिन्, ‘संविधानमा थ्रेसहोल्ड कहाँ छ ? साना कांग्रेस, एमाले, माओवादीका लागि साना दल घाँडो भएको हो भने, ३ र ५ प्रतिशत किन ? ७० देखि १०० प्रतिशत थ्रेसहोल्ड राख्नुस् ।’

उदाइरहेका साना दललाई शुरुमै मृत्यु दिन थ्रेसहोल्ड राख्न खोजिएको भन्दै उनले २५ साना दलले तीन दलका शीर्ष नेतालाई भेटेर असहमति जनाइसकेको बताइन् । सांसद चौधरीले भनिन्, ‘२५ दलका भोटरको अस्थित्व छैन ? ३ पार्टीका भोटरमात्र नागरिक हुन् ? यसबारे जवाफ चाहियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment