Comments Add Comment

सत्यनिरुपण आयोगका पदाधिकारीको बोर्ड झिकियो, पीडित हेरेको हेर्‍यै


२७ माघ, काठमाडौं । दुई वर्षअघि स्थापना भएको सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारीको बोर्ड बिहीबार कर्मचारीहरुले झिकेका छन् । आयोगको म्याद बुधबारदेखि समाप्त भएकाले बबरमहलस्थित कार्यालयभित्र प्रवेश गर्नासाथ देखिने पदाधिकारीहरुको नाम लेखिएको बोर्ड कर्मचारीहरुले निकालेका हुन् ।

आयोगका पदाधिकारीले सिफारिस गरेको अवस्थामा एकवर्षसम्म आयोगको म्याद थप्न सकिने प्रावधान थियो । विहीबार बस्ने मन्त्रिपरिषद बैठकले आयोगको म्याद थप्ने पदाधिकारीहरुले आशा गरेका थिए । तर, प्रहरी महानिरीक्षक नियुक्तिसम्बन्धी विवादका कारण विहीबार क्याबिनेट बस्न सकेन, जसको कोपभाजनमा सत्य निरुपण तथा मेलमिलाप आयोग पर्न गयो ।

दश वर्षे माओवादी द्वन्द्वकालमा जघन्य मानव अधिकार उल्लंघनका घटनाबारे छानविन गर्न दुईवर्ष अघि गठन गरिएको आयोगले आफ्नो काम पूरा गर्नै नपाई यसको म्याद समाप्त भएको हो ।

आयोगले अन्तिम घडीमा शान्ति मन्त्रालयमार्फत् म्याद थपका लागि सिफारिस पठाए पनि क्याबिनेट नबसेका कारण म्याद थप हुन नसकेको हो ।

विहीबार पनि आयोगको कार्यालयमा केही पीडितहरु आफ्ना गुनासाहरु लिएर आएका थिए । तर, कर्मचारीहरु बोर्डसमेत हटाएर बसेको देखेपछि पीडितहरु किंर्कव्यविमूढ भएर फर्किए ।

यद्यपि अब बस्ने मन्त्रिपरिषद बैठकले माघ २६ गतेको मिति राखेर आयोगको म्याद थप गर्न सक्ने आश्वासन दिएको आयोगका एक सदस्यले अनलाइनखबरलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment