२८ माघ, काठमाडौं । क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) र जेभियर इन्टरनेसनल कलेजले तेश्रो हिसान खेलकुद सप्ताहअन्तर्गत बास्केटबल उपाधि जितेका छन् ।
बसुन्धारास्थित ऋत एकेडेमीको कोर्टमा भएको प्रतिस्पर्धात्मक ब्वाइज फाइनल सीसीआरसीले जेभियरलाई ४०-३९ को झीनो अन्तरले पराजित गर्यो । सीसीआरसीको जितमा राहुल कुश्वाले ११ अंक योगदान गरे ।
सीसीआरसीले लगातार तेश्रो क्वाटरमा अग्रता हासिल गर्दै जितको आधार खडा गरेको थियो । सीसीआरसीले पहिलोमा ७-६, दोश्रोमा ९-७ र तेश्रोमा १४-१३ को सामान्य अग्रता लिएपनि जितका लागि पर्याप्त भयो । जेभियरले अन्तिम तथा चौथो क्वाटरमा १३-१० को अग्रता बनाएपनि जित हात पार्न सकेन ।
गर्ल्सको उपाधि भिडन्तमा भने सफलता पाएको जेभियरले नासा इन्टरनेसनल कलेजलाई ३१-२७ ले हरायो । जेभियरकी कर्मा छुटिङ शेर्पाले ११ अंक जोडिन् ।
पहिलो र दोश्रो क्वाटरमा क्रमशः ५-७ र ४-६ ले पछि परेपनि बाँकी दुई क्वाटरमा जेभियरले अग्रता हासिल गर्दै उपाधि सुनिश्चित गरेको थियो । जेभियरले तेश्रो क्वाटरमा १४-७ को महत्वपूर्ण अग्रता बनायो र त्यही अग्रता नै जितको आधार बन्यो । जेभियर चौथोमा पनि ८-७ ले अगाडि रह्यो ।
ब्वाइजमा सीसीआरसीका मनीष केसी र गर्ल्समा फाइनलकी सर्वाधिक स्कोरकर्ता कर्मा ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए ।
बास्केटबलको ब्वाइजमा २८ तथा गल्र्समा ९ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । बास्केटबलसंगै हिसान खेलकुद सप्ताह सम्पन्न भएको छ ।
माघ १६ गतेदेखि सुरु हिसान खेलकुद सप्ताहमा बास्केटबलअघि ब्वाइज भलिबल, टेबलटेनिस, ब्याडमिन्टिन, बुद्धिचाल, फुटसल र टग अफ वार सम्पन्न भएका थिए ।
प्रतिक्रिया 4