Comments Add Comment

जीवनसाथी खोज्दै सांसद रामहरि, एक्लोपनमा आपत छैनः ऋचा

जोडी देख्दा राजेशपायलको मन लोभिन थाल्यो

३ फागुन, काठमाडौं । ‘भ्यालेन्टाइन्स डे’ ले प्रेम व्यक्त गर्ने चाडकै रुप लिइरहँदा प्रेमजोडीहरु यतिबेला उत्साही देखिन्छन् । पहिल्यै जोडी बाँधिसकेकाहरु यो दिनलाई विशेषरुपमा बनाउने योजनामा छन् भने कोही यही दिनबा प्रेम-जीवन सुरु गर्ने सुरमा छन् । यस्तोबेला बिजोडीहरुको मनमा प्रेमका बारेमा कस्ता भक्काना फुटिरहेका होलान् ?

उमेरले नेटो काटे पनि विवाह नगरेका ‘एकल’हरुले ‘प्रेम दिवस’ का दिन मनको भावना कोसँग फुकाउँछन् ? हामीले केही त्यस्ता पात्रहरुलाई लिएका छौं ।

जीवनसाथी खोज्दैछुः सांसद रामहरि खतिववडा

एक्लो जीवनमा रहेका कतिपयलाई जब प्रणय दिवस आउँछ, तब जोडीको आवश्यकता एकदम प्रबल भएर आउँछ । यस्तै मनस्थितिमा रहेछन् कांग्रेसका सांसद रामहरि खतिवडा ।

 

४७ वर्षीय अविवाहित सांसद खतिवडा सबैलाई माया दिइरहेको र सबैबाट पाइराखे पनि त्यसले मात्रै नधानेको महसुस गर्छन् । व्यक्तिगत जिन्दगी हेर्दा उनी अब जीवनसाथी नबनाई नहुने निष्कर्षमा पुगेका छन् ।

‘यो वर्षदेखि साथी खोज्दैछु, स्पेशल माया बेग्लै हुँदोरहेछ । म, त्यो मायाको खोजीमा छु’ खतिवडाले अनलाइनखबरसँग भने ।

मान्छेहरु जोडी बाँधेर हिँडेको देख्दा खतिवडा लोभिन्छन् र आफ्नो बेला जान लाग्यो भनेर चिन्तित हुन्छन् ।

‘खासगरी जीवनसाथी विना जिन्दगी अलि अव्यवस्थित र अधकल्चो हुने रै’छ’ सांसद खतिवडा भन्छन्-‘साथी जुटाउन कोसिस गर्दै छु ।’

बा-आमालगायत परिवारका सदस्य एवं साथीभाइसँग केही हदसम्म खतिवडाको केयरिङ/सेयरिङका कुरा हुन्छन् । तर, सबैलाई आफ्ना सबै भावना व्यक्त गर्न नसक्दा कति कुरा उनको मनमै गुम्सिएर बसेका छन् ।

एक्लोपनले आपत पारेको छैनः ऋचा शर्मा

अभिनेत्री ऋचा शर्मालाई भने सांसद खतिवडालाई जस्तो एक्लोपनले आपत पारेको छैन । सिङ्गल भएर आफ्नो कुरा कसलाई सेयर गर्ने भनेर टेन्सन नरहेको उनी बताउँछिन् । आफ्नी दिदीसँग उनी भावनात्मकरुपमा नजिक छिन् ।

‘अमेरिकामा बस्ने दिदीसँग निकै नजिक छु, हरेक कुरा उसलाई भनिरहेकी हुन्छु,’ ऋचाले अनलाइनखबरसँग भनिन्- ‘आमासँग त्यति कुरा गर्न सक्दिनँ, जति दिदीसँग गर्न सक्छु ।’

ऋचा दुःखका बेला दिदीसँग रुन्छिन् पनि । पार्टनरसँग बरु यसरी धित मारेर रुन र सबै कुरा भन्न नसकिएला भन्ने उनलाई लाग्ने गरेको छ ।

यति भएर पनि पार्टनरसँगको प्रेमको छुट्टै महत्व रहेको ऋचा स्वीकार्छन् । आमा र हजुरआमाले जीवन एक्लै चल्दैन भनेर अनुभव बटुलेरै भनेको होला जस्तो उनलाई लाग्छ ।

उनी भन्छिन्, ‘फेमिली बनाउन त कसलाई मन लाग्दैन र ! फेरि माइती भनेको आखिरमा माइती नै हो । सधैं बसिराख्नु राम्रो मानिँदैन ।’ केटी मान्छेलाई आमा बन्न निश्चित उमेरको सीमा हुने भएकाले पनि उनी सजग छिन् । तर, मानसिक, शारीरिक र आर्थिक लगायत सबै कुरामा तयार भएपछि मात्र विवाह गर्नुपर्ने उनको मान्यता छिन् ।

राजेश पायल भन्छन्- बेलाबेला काउकुती लागिहाल्दो रै’छ

गायक राजेश पायल राईलाई भने प्रेमको अर्थ अझै पनि बुझ्न नसकिरहेको जस्तो लाग्छ । ‘प्रेम के हो भन्ने थाहा पाएको भए त लभ परिसक्थ्यो होला, बिहे भइसक्थ्यो होला’, राईले अनलाइनखबरसँग भने ।

अहिलेसम्म आफूले एक्लोपनमै इन्जोय गरिरहेको राजेश बताउँछन् । सामाजिक, पारिवारिक र शुभचिन्तकका साथमा उनी रमाइरहेका छन् । तर, दिनभरिको कामबाट थाकेर साँझपख घर पुग्दा उनको यो अडान भत्किन्छ । उनी भन्छन्- बेलाबेला काउकुती लागिहाल्दो रै’छ ।

कतै बाटोमा जोडीहरु गुजुल्टिएर हिँड्दा राजेशमा पनि रहर उम्लिएर आउँछ, तर, आफू त्यसरी हिँड्न सक्ने समय छैन भनेर चित्त बुझाउँछन्

‘कोठामा यसो सँगै सुस्केरा हाल्ने र एक गिलास तातोपानी दिने मान्छे हुँदैन, आफू यति पपुलर भए पनि प्रेमिका नहुँदा कस्तो जीवन बाँचिँदैछ भने जस्तो पो हुन्छ’, राजेशले गुम्सिएको मन खोल्दै भने- पार्टनर भए जीवन अलि व्यवस्थित हुन्थ्यो होला ।’

कतै बाटोमा जोडीहरु गुजुल्टिएर हिँडिरहँदा र जिस्किरहँदा राजेशपायलमा पनि रहर उम्लिएर आउँछ । तर, आफू त्यसरी हिँड्न सक्ने समय छैन भनेर उनी चित्त बुझाउँछन् ।

पछिल्ला वर्षहरुमा भने राजेशपायललाई जोडी बाँध्न परिवारबाट निकै प्रेसर आउन थालेको छ । परिवारका काइँला छोरा उनले बिहे नगर्दा आफूमुनिका भाइको बाटो रोकेको जस्तो भएको छ ।

उनले हाँस्दै सुनाए- ‘खासमा मैले बाटो रोकेको हैन, बिहे गर्नुमा संयोग पनि जोडिएको हुन्छ । अहिले सिग्नल नमिलेर रोकिएको हुँ ।’

प्रेम गर्न नजान्नेहरु एक्लोपनको शिकारः पत्रकार भुवन केसी

पत्रकार भुवन केसीलाई प्रेमका बारेमा सोध्दा सुरुमा उनी अलि तर्किए । सधैं पत्रकारिताकर्मकै दौडधुपमा रहने उनले भने, ‘यो त मेरो क्षेत्राधिकारभन्दा बाहिरको कुरा पो पर्‍यो !’

तर, विस्तारै उनी खुल्दै गए ।

एक्लो भए पनि आफूलाई कहिले पनि प्रेमको खाँचो नभएको उनले बताए । ‘प्रेमका लागि जोडी नै बाँध्नुपर्छ भन्ने अहिलेसम्म महसुस भएको छैन’, यसको राज खोले, ‘किनकि म त संयुक्त परिवारमा बस्छु, साथीभाइसँग पनि आत्मीय सरसंगत हुन्छ ।’

प्रेमलाई विपरीत लिंगीबीचको कुरामा मात्रै सीमित गरेकोमा भुवनलाई चित्त बुझ्दैन । परिवारका सदस्य, साथीभाइ र अग्रज-कनिष्ठबीच पनि प्रेम र सद्भाव हुने भएकाले यसलाई बृहत् रुपमा हेर्नुपर्ने उनको धारणा छ ।

पत्रकार केसीले अहिलेसम्म आफ्नो सरसंगतिमा भएका मान्छेहरुसँगै सेयरिङ/केयरिङका कुरा गर्दै आएका छन् । योसँगै समाजले प्रेमको ट्याग भिराउने पाटो पनि टारेर टार्न नसकिने प्रस्ट्याए, ‘प्रेमका विविध आयाम मध्ये अब श्रीमान्-श्रीमतीबीचको पाटोमा प्रवेश गर्न बाँकी छ, त्यतातिर अब प्रवेश गर्नुपर्छ ।’

केसीको अनुभवले भन्छ, आफू बिजोडी भए पनि प्रेम पाउनलाई प्रेम गर्न जान्नुपर्छ । हामीकहाँ मान्छेले प्रेमको अपेक्षाचाहिँ गरे, तर प्रेम गर्न जानेनन्, फलस्वरुप एक्लोपनको शिकार भए ।

केसीले समाजशास्त्रीय नजर केलाए, ‘प्रेम गर्न नजान्दा यहाँ धेरैजना परिवारबाट, साथीभाइबाट, बुढापाका र बच्चाहरुबाट पाउने प्रेमबाट वञ्चित रहेका छन् ।’

केसीका सँगैका कति साथीले २०/२० वर्षमै घरजम गरिसकेका छन् । अहिलेको समयमा केसी ३५ वर्षको उमेरलाई जोडी बाँध्ने ठीकैको बेला मान्छन् । उनलाई साथीभाइ र आफन्तले घरबार गर्न जोड दिइरहँदा अब भने सोच्नुपर्ने महसुस गर्न थालेका छन् ।

जोडी कहिले बाँध्ने भन्नेमा आफ्नो स्वतन्त्रता मात्रै भनेर बस्न नहुने उनको धारणा छ, ‘समाज र साथीभाइको कुरा पनि सुनेर त्यहीअनुसार अगाडि बढ्न जरुरी हुन्छ उनी भन्छन्- ‘अर्को कुरा, सही समयमा सही निर्णय गर्न सकिएन भने पनि समस्या हुन्छ, मेरो सही समय छिटै आउँछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment