Comments Add Comment

सकियो सौराहामा खाना महोत्सव


५ फागुन, रत्ननगर (चितवन) । नेपालकै तेस्रो पर्यटकीय गन्तव्य चितवनको रत्ननगरस्थित सौराहामा यही माघ २९ देखि सुरु ११औँ सौराहा फुड फेस्टिबल (महोत्सव) सम्पन्न भएको छ । गएराति १० बजे फेस्टिबलको समापन गरिएको हो ।

यस वर्ष विगतभन्दा उत्साहप्रद रुपमा फेस्टिबल सम्पन्न भएको रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (क्षेत्रीय रेवान)का अध्यक्ष लालबहादुर भट्ट राजनले जानकारी दिए। उनका अनुसार फेस्टिबलमा एक लाखभन्दा बढी दर्शकले अवलोकन गरेका छन् । करिब रु ५० लाखको कारोबार भएको अनुमान छ ।

प्रेम दिवसका दिन मङ्गलबार सबैभन्दा बढी दर्शक आएको आयोजक समितिका संयोजक नरेश गिरीले जानकारी दिए । ‘प्राकृतिक सौन्दर्य, चितवन सौराहाको विशेषता’ भन्ने नारासहित सौरहामा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रणय दिवसको अवसर पारेर खाना महोत्सव आयोजना गरिएको थियो ।

आयोजना हुन लागेको खाना महोत्सवमा विभिन्न परिकारका नेपाली तथा विदेशी खानासहित स्थानीय थारू समुदायको परिकारमा दर्शक लोभिएका थिए भने दैनिक रुपमा राष्ट्रिय कलाकारले प्रस्तुति दिएका थिए ।

राष्ट्रिय कलाकार तथा गायक राजेशपायल राई, पशुपति शर्मा, बद्रि पँगेनी, प्रजापति पराजुली लगायतले प्रस्तुति दिएका थिए । यो समयमा पर्यटकको मौसम नभएकाले आएका पर्यटकको बसाइ लम्ब्याउने र अन्य पर्यटकलाई पनि आउन प्रेरित गर्ने लक्ष्यसहित महोत्सव आयोजना गरिएको क्षेत्रीय रेवानका महासचिव दीपेन्द्र खतिवडाले जानकारी दिए।

महोत्सव अवधिभरमा रेस्टुरेन्ट तथा होटलमा १५ प्रतिशत छुट तथा साना पर्यटन व्यवसायीद्वारा ३० प्रतिशतसम्म छुट सुविधा दिइएको जनाइएको छ ।

महोत्सवबाट आएको आम्दानीमध्ये केही प्रतिशत अपाङ्ग तथा वृद्धवृद्धालाई सहयोग, खेलमैदान व्यवस्थापन, स्थानीय क्लब तथा उज्यालो सौराहा कार्यक्रममा खर्च गरिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment