+
+

पत्रकार महासंघ दाङमा प्रेस चौतारीको गुटगत लडाईं, प्रियासन र केसी प्यानलसहित चुनावमा

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन १३ गते १३:१७
सविन प्रियासन (वायाँ) र दुर्गालाल केसी

१३ फागुन, घोराही । नेपाल पत्रकार महासंघ दाङ शाखामा नयाँ नेतृत्व चयनका लागि मतदान भएको छ । महासंघको नेतृत्वका लागि एमाले निकट प्रेस चौतारी नेपालका दुई छुट्टाछुट्टै प्यानल चुनावी मैदानमा छन् ।

चौतारीबाट सविन प्रियासन र दुर्गालाल केसीले प्यानलसहित उम्मेदवारी दिएका छन् । प्रियासन एमालेका केपी ओली निकट र केसी माधव नेपाल निकट मानिन्छन् । पत्रकार महासंघ दाङको नेतृत्व हात पार्न एमाले निकट प्रेस चौतारीको गुटगत लडाईंले चुनावी भिडन्त रोचक बनेको छ ।

नयाँ नेतृत्व चयनका लागि २५९ जनाले मतदानमा भाग लिएका छन् ।

कसले जित्ला ?

सविन प्रियासनले दुई कार्यकाल पत्रकार महासंघ दाङको सचिव पदमा रहेर काम गरिसकेका छन् । दुर्गालाल केसी भने पत्रकार महासंघ दाङको पूर्वकोषाध्यक्ष हुन् ।

प्रियासनलाई प्रेस युनियन र प्रेस सेन्टरले समर्थन गरेका छन् । केसीलाई भने पत्रकार महासंघ दाङ शाखाका पूर्वअध्यक्षहरुको समर्थन छ ।

दुबैजना सशक्त उम्मेदवार भएकाले कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

केन्द्रको सर्कुलरविपरित उम्मेदवारी दिएको आरोप 

प्रियासन प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्षसमेत छन् । प्रेस चौतारीले केन्द्रीय पदाधिकारीहरुलाई महासंघको जिल्ला शाखाको चुनावमा नउठ्न सर्कुलर जारी गरेको छ । तर, त्यसविपरित प्रियासनले पत्रकार महासंघ दाङको अध्यक्ष पदमा दाबी गरेपछि विवाद बढेको स्थानीय पत्रकारहरु बताउँछन् ।

दुईपक्षको विवाद बढेपछि प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष राजेन्द्र अर्याल र वरिष्ठ उपाध्यक्ष माधव बस्नेत समेतको टोली दाङ पुगेको थियो । तर, सहमति नजुटेपछि दुर्गालाल केसी र सविन प्रियासनको अलग-अलग प्यानल चुनावमा होमिएको छ ।

‘प्रेस चौतारी दाङका अध्यक्ष टीका बस्नेतले बैठक राख्न आलटाल गरेको र गुटलाई प्रश्रय दिएकाले हामीले छुट्टै बैठक राख्न बाध्य भयौं,’ दुर्गालाल केसी निकट प्रेस चौतारी दाङका एक नेताले भने, ‘हाम्रो भनाई केन्द्रको सर्कुलर सबैले मान्नुपर्छ भन्ने हो ।’

राजनीतिक हस्तक्षेप भएको भन्दै विरोध

नेकपा एमाले दाङ जिल्ला शाखाले प्रियासनलाई पत्रकार महासंघको जिल्ला अध्यक्षमा उठाउने निर्णय गरेको छ । एमाले पोलिटव्यूरो सदस्य भागवत विश्वासी, केन्द्रीय सदस्य एवम् दाङका एमाले इञ्चार्ज मेटमणी चौधरी, एमाले दाङका अध्यक्ष टिकाराम खड्का समेतको संयुक्त बैठकले प्रेस चौतारीको तर्फबाट प्रियासनलाई अघि सार्ने र सर्बसम्मत बनाउन पहल गर्ने निर्णय गरेको थियो ।

एमाले दाङले प्रियासनलाई अघि सार्नु अघि नै प्रेस चौतारी दाङका उपाध्यक्ष संगीत बस्यालको अध्यक्षतामा छुट्टै बैठक बसेर दुर्गालाल केसीलाई अघि सार्ने निर्णय गरेको थियो ।

त्यसलगत्तै पत्रकार महासंघ दाङ शाखाका संस्थापक अध्यक्ष नारायण शर्मासहितका पूर्वअध्यक्षहरुले संयुक्त विज्ञप्ति निकालेर स्वतन्त्र पत्रकारको संस्थामा राजनीतिकरण गरिएको भन्दै विरोध गरेका थिए ।

पत्रकार महासंघ दाङ शाखामा २० सदस्यीय जिल्ला कार्यसमिति, केन्द्रीय पार्षदका लागि २६ र प्रदेशका लागि ३४ जना गरी ८० जना निर्वाचित हुनेछन् ।

प्रदेशका १० पार्षद, केन्द्रमा २ पार्षद निर्विरोध निर्वाचित भइसकेका छन् । केन्द्रीय पार्षदमा शारदा शर्मा र आस्था केसी निर्विरोध निर्वाचित भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?