+
+

आयल निगमको बेवास्ताले पूर्वी नेपालमा तेलको चरम अभाव

 ध्रुव भट्टराई ध्रुव भट्टराई
२०७३ फागुन १६ गते १८:३०


१६ फागुन, विराटनगर । केहि दिनयता देखिएको इन्धन अभावले पूर्वी नेपालका सर्वसाधारणले सास्ति खेप्नु परेको छ । बेलाबखत मात्र पेट्रोल पम्पमा पेट्रोल डिजल वितरण हुँदा लामो समय लाइनमा बसेर तेल हाल्नुपर्ने बाध्यता उपभोक्ताहरुमा छ ।

कतिपय पेट्रोलपम्पमा डिजल छैन, पेट्रोल छैन लेखेर टाँसेको हेरेर उपभोक्ता फर्कनु पर्ने बाध्यता पनि छ । पूर्वी नेपालका बजारमा यसरी इन्धन अभाव भइरहँदा नेपाल आयल निगम क्षेत्रीय कार्यालयले भने इन्धनको कुनै अभाव नभएको दावी गरेको छ । सर्वसाधारणले भने आयल निगमको बेवास्ताले तेल अभाव भएको अारोप लगाएका छन् ।

आयल निगम विराटनगरका क्षेत्रीय प्रमुख दिनेशकुमार यादवले बिहीबार र शुक्रबार मात्रै दिनभर २० लाख लिटर डिजेल र १० लाख लिटर पेट्रोल कोशी र सगरमाथा अञ्चलका डिलरहरुलाई पठाइएको जानकारी दिए ।

उनले आइतबार पनि कार्यालयबाट २ लाख लिटर डिजेल तथा १ लाख ५० हजार लिटर पेट्रोल डिलरहरुलाई वितरण गरिएको जनाए । निर्वाचनको घोषणा भएसँगै मधेसी मोर्चाले आन्दोलनको घोषणा गरेपछि यतिबेला नियमितभन्दा बढी इन्धनको माग देखिएको पम्प सञ्चालकहरु बताउँछन् ।

पेट्रोलियम डिलर्स एशोसियसन कोशीका उपाध्यक्ष अरबिन्द शर्माले दैनिक मेची र कोशीलाई ८ लाख लिटर इन्धनको आवश्यक रहेको बताए । तर निगमले मागको अनुपातमा एक तिहाई पनि वितरण गर्न नसकेकाले इनधनको अभाव सिर्जना भएको वताए ।

‘निगमले प्रयाप्त मात्रामा जबसम्म वितरण गर्न सक्दैन तबसम्म यो समस्या हट्दैन,’ उनले भने । उनले पछिल्लो समय नाकाबन्दीको हुने त्रासकै कारण माग बढेको अनुभूति रहेको पनि बताए ।

उनले भने, ‘यतिबेला उपभोक्ता र उद्योगहरुले समेत बढी किनेर भण्डार गर्ने गरेकाले माग बढेको देखिन्छ । यससँगै भारतमा भन्दा नेपालमा प्रतिलिटर २० रुपैयाँ सस्तो भएका कारण पनि इन्धनको कालोबजारी भइरहेको पाइन्छ ।’

यता उपभोक्ताहरुले भने पम्पहरुले नै कृत्रिम अभाव देखाएर कालोबजारी गरिरहेको आशंका गरेका छन् । बजारमा देखिएको इन्धनअभाव चाँडै सहज हुने भन्दै मोरङका प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइरालाले पम्पहरुको अनुगमन र भारततिर जाने कालोबजारी रोकिने बताए ।

‘हामीले आजैबाट अनुगमनको कामलाई अगाडि बढाएका छौं अब इन्धनको अभाव चाँडै अन्त्य हुने छ,’ प्रजिअ कोइरालाले भने ।

एक साताअघि नेपाल आयल निगम क्षेत्रीय कार्यालय विराटनगरभित्र एकजना कर्मचारीमाथि सेवाग्राहीले ढुंगा प्रहार गरेका थिए । त्यसको विरोधमा कर्मचारीहरुले चार दिन काम ठप्प पारेका थिए । जसले बजारमा इन्धन अभाव भएको थियो ।

बिहीबार अभियुक्तलाई कारवाही गर्न सहमति भएपछि निगमले नियमित रुपमा इन्धन वितरण गरेको छ तर बजारमा इन्धनको अभाव जारी रहेकाले उपभोक्ता भने मारमा पर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?