Comments Add Comment

सरकारलाई ‘नागरिक अगुवा’ को धम्की- चुनावमा गएर त हेर्नोस्

मधेसी र जनजाति भन्छन्- हामी कमजोर छैनौं

१७ फागुन, काठमाडौं । डा. सुन्दरमणि दीक्षित नागरिक आन्दोलनमा चर्चित अनुहार हुन् । मंगलबार नयाँ बानेश्वरको इन्द्रेणी फुडल्याण्डमा नयाँशक्ति पार्टीले आयोजना गरेको कार्यक्रममा डा. दीक्षितको भाषण कुनै क्रान्तिकारी नेताको भन्दा कम थिएन ।

डा. दीक्षितले संविधान संशोधन नगरी चुनावमा नजान नेताहरुलाई कडा शब्दमा चेतावनी दिए ।

डा. दीक्षितले भने- ‘संविधान संशोधन पनि नगर्ने, चुनावमा पनि जाने भनिँदैछ । गएर हेर्नुहोस् त । गएर हेर्नुहोस् मात्रै । यो म नेताहरुलाई चेतावनी गर्छु- बी केयरफूल ! यो मुलुकलाई बचाउनु छ भने यस्तो मुख्र्याइँ चाहिँ नगर्नोस् । संविधान संशोधन नगरिकन अगाडि जानुभयो भनेदेखि खतरा छ । भयंकर खतरा छ । साहै्र ठूलो खतरा आउन सक्छ । त्यसैले खबरदार !’

कार्यक्रममा बोल्दै लिम्बुवान नेता कुमार लिङदेनले पनि त्यस्तै चेतावनी दिए । उनले भने- ‘पेल्ने त पेल्ने नै होला, तर पनि केही त हुन्छ । जति सजिलो गरी पेलेर जान खोज्दै हुनुहुन्छ, त्यति सजिलो छ जस्तो लाग्दैन ।’

दीक्षित र लिम्बुलेजस्तै चेतावनी अर्का नागरिक अगुवा बिजयकान्त कर्णले पनि दिए । कार्यक्रममा उनले भने- ‘मधेसी, जनजातिहरुलाई समान अधिकार नदिइकन चुनाव गरियो भने, बझियोस् ज्ञानेन्द्रले चुनाव गरेका थिए, वीरेन्द्रले पनि चुनाव गरेका थिए । यस्ता चुनावहरु हामीले धेरै देखेका छौं । चुनाव गर्दै जानोस्, त्यसको परिणामका लागि तयार रहनुहोला ।’

डा. बाबुराम भट्टराईको आतिथ्यमा आयोजित ‘संविधान संशोधन र निर्वाचन’ विषयक अन्तरक्रियामा नागरिक समाजका अगुवा दमननाथ ढुंगाना लगायत विभिन्न व्यक्तिहरुको उपस्थिति थियो । कार्यक्रममा एमालेका विजय पौडेल र कांग्रेसका तर्फबाट डा. मिनेन्द्र रिजाल, एनपी साउद लगायतले बोलेका थिए ।

कार्यक्रममा डा. दीक्षित, पूर्वराजदूत कर्ण र विद्रोही नेता लिम्बूबाट व्यक्त उग्र भाषणको सार यस्तो थियोः

खबरदार ! चुनावमा गएर त हेर्नोस् !
-डा. सुन्दरमणि दीक्षित

अहिले देश एकदमै यस्तो परिस्थितिमा पुगेको छ कि अब अगाडि के हुन्छ भन्ने कुरा चाँहि एकदम अन्धकार छ । टोटल अन्धकार छ । यस्तो अवस्था आज मुलुकमा छ कि नेपालमा बसोबास गर्ने नेपालीले भन्नुपरेको छ कि म नेपाली हुँ । प्रुफ दिनु परिरहेको छ कि म नेपाली हुँ भनेर । यो दुःखलाग्दो कुरा हो कि हैन ?

मुख्य प्रश्न छ, चुनावमा जाने कि नजाने ? जाने त पक्का भइसक्यो । उतापट्टि तयारी भइरहेको छ, संविधान संशोधनको विषयमा । अब संशोधन पहिले कि चुनाव पहिले ? कुखुरा पहिले कि अण्डा पहिले भन्ने कुरा लिएर हाम्रा प्रधानमन्त्री अन्योलमा हुनुहुन्छ । ओलीजी कहाँ पुग्नुुहुन्छ, पहिले चुनाव भन्नुहुन्छ, यता जानुहुन्छ, हैन संशोधन गर्छु ।

छक्काउने पनि हद हुन्छ । हुँदा हुँदा आज बिहान प्रधानमन्त्रीले के भन्दिनु भो भनेदेखि अब चुनाव गरिहालौं, अनि संशोधन गरौंला । के यो कसैलाई बेवकुफ बनाउने कुरा हो यो ? चुनाव गरिसकेपछि संशोधन गर्ला कसैले ? त्यो चान्सै छैन । यो त सुरुदेखि नै धोका हो । हामीले भनेकै छौं यो कुरा ।

मधेस आन्दोलित छ । एकदम आन्दोलित छ । थरुहट आन्दोलित छ । र, गठबन्धनमा मैले देख्छु, पूरा जनजातिहरु आन्दोलित छन् । यस्तो विधि आन्दोलनको वीचमा अहिले चुप लागेर बसेका भएता पनि अब अगाडि बढ्न खोजे भनेदेखि नतिजा के ल्याउला त्यसले ?

यहाँ एमालेका नेता भन्नुहुन्छ, यो संविधान संशोधन गर्‍यो भनेदेखि मुलुक विखण्डनमा जान्छ । संशोधन नगरिकन चुनावमा गयो भने के विखण्डनमा जाँदैन होला त ? सप्पैले यो बुझ्नुहोस् है कुरा ।

अहिले मधेसमा भएका थरुहटमा भएका र जनजातिमा भएका मध्यमार्गी धारका नेताहरु जो छन्, उनीहरुको आवाजलाई हामीले थिचेर, किचेर अगाडि बढ्यौं र मुलुकभरि चुनाव गराउँछु, मधेस, थरुहट र जनजातिकोमा पछि हेर्दै जाऔंला भन्ने सोच गर्‍यो भने त्यो एरियाबाट मध्यमार्गका नेताहरु सप्पै असफल ठहरिन्छन् । अनि अहिले तयार भएका शक्तिहरु बुर्लुक्क ज्वालामुखीजस्तो उठे भनेदेखि अनि के मुलुक बिखण्डनमा जाँदैन ? कस्तो सोचाइ हो यो ?

हामीले नेताहरुले राज्य गर्ने नीति जानेका छन् भन्ठानेका थियौं, यहाँ हेर्दाखेरि त राजनीति हैन, शोषण नीति हो यो । आफ्नो स्वार्थको मात्रै नीति छ यहाँ त । त्यसैले यत्रो मुलुकमा असन्तोष भएको बेलामा पेलेर चुनाव गर्न जानुहुँदैन । चुनाव गरेन भने संविधान खत्तम हुन्छ भनिँदैन । संविधान के सधैं रहन्छ र ? संविधान त ०१७ सालमा पनि गएकै थियो । पछि ज्ञानेन्द्रले पनि हटाइदिएकै थियो । त्यसैले जनता प्रमुख हो, संविधान होइन ।

जनतालाई कसरी एक बनाउने ? यतातिर चाँहि कसैले सोचेकै छैन । सबैलाई समृद्ध गर्ने कि नगर्ने त्यो सोच्नु छैन, तर जसले जे सुकै भनोस्, हामी संविधान संशोधन पनि नगर्ने तर चुनावमा पनि जाने भनिँदैछ । गएर हेर्नुहोस् त । गएर हेर्नुहोस् मात्रै । यो म नेताहरुलाई चुतावनी गर्छुः बी केयरफूल । यो मुलुकलाई बचाउनु छ भने यस्तो मुख्र्याइँ चाहिँ नगर्नोस् ।

संविधान संशोधन नगरिकन अगाडि जानुभयो भनेदेखि खतरा छ । भयंकर खतरा छ । साहै्र ठूलो खतरा आउन सक्छ । त्यसैले खबरदार ! संसदमा संशोधन आउन पनि दिन्न, संशोधनमा बहस पनि नगर्ने अनि पेलेर चुनावमा जान्छु भन्नुभो भनेदेखि त्यो मुलुक र जनताका लागि हैन तिमीहरुले त्यो आफ्ना लागि गरेका हौं ।

पेलेर चुनावमा जान सक्छन् जस्तो लाग्दैन
– कुमार लिङदेन, लिम्बुवान नेता

हामीले विभिन्न पुस्तामा आ-आफ्नो ठाएँबाट लडाइँ लड्दै आइएको छ । र, अहिले हामीलाई के लागिरहेको छ भने यो स्थानीय चुनावचाहिँ केन्द्र रहने, अनि स्थानीय चुनाव गर्ने र प्रान्तलाई बाइपास गर्ने भन्ने लागेको छ । यो होइन भनेर कसले हामीलाई विश्वास दिने त ? हामी कसरी आश्वस्त हुने ? हामीलाई शत प्रतिशत त्यही लागिराखेको छ कि प्रान्तको कुरा चाहिँ बाइपास गर्ने र प्रान्त सिद्धियो भन्नेतिर लागिराखेको छ ।

हामीले भन्न खोजेको के हो भन्दा आजको युरो के ले बन्यो ? आजको युरोप आधुनिक भनिएका धर्म संस्केतिले बनेको होइन । आजको युरोप पुनर्जागरणले बनेको हो । पहिलेको कुरा जागृत भएपछि युरोप बन्यो । त्यस्तै नेपाल पृथ्वीनारायण शाहभन्दा यताको कुराले नेपाल डुबायो । अब नेपाल केही बन्छ भने पृथ्वीनारायण शाह भन्दा पहिलेको सोचाइमा जानुपर्छ । देश त थियो नि । नेपाल कसैले गोजीमा बोकेर ल्याएको होइन । त्यसकारणले पृथ्वीनारायण शाहभन्दा पहिलेको अवस्थाको त्यो विचारलाई जागृत गर्न सकियो भने त्यो पुनर्जागरणले यो नेपाल बनाउँछ ।

जस्तै लिम्बुवान, मधेस, थरुहट भनियो भने चीन, जापान, अमेरिकाले पनि कम्तिमा त्यो त एउटा सभ्यता हो नि त । लिम्बुवान एउटा सिभिलाइजेशन हो । मधेस सिभिलाइजेसन हो । कम्तिमा चाइना पनि मधेसको त्यो सिभिलाइजेशनसँग मिलेर काम गर्न उत्सुक हुन्छ कि ? अमेरिका पनि तमुवानको सिभिलाइजेसनसँग मिलेर अलिकति उत्सुक भएर जान्छ र त्यसले देशमा एउटा परिवर्तन ल्याउँछ कि ? भनेको त अब गाविस सरकारमा पो आयो कुरा ।

गाविस सरकार बनाएर के गर्ने ? नागरिकता दिएर के गर्ने ? पासपोर्ट दिएर के गर्ने ? पासपोर्ट उमालेर खाने ? प्रान्त भर्सेज गाविस लानु भो उहाँहरुले ।

हामीले भन्न खोजेको कम्तिमा १०/१२ वटा सिभिलाइजेसनल प्रान्तहरु भए भने त्यसैमा टेकेर एएटा नयाँ संघीय राष्ट्रवाद उजागर गर्न सकेर एउटा नयाँ नेपाल बन्छ कि ? यति भएपछि त कांग्रेस र एमालेका साथीहरुले हात उठाउनुपर्ने हो । बर्बाद हुनका लागि यहाँभन्दा तल केही छ ? केही छैन नि त । हात उठाउनुपर्ने हो । तर, उहाँहरु हात उठाउने पक्षमा हुनुहुन्न । जबरजस्ती, देश सबै नसिद्धिएसम्म हात उठाउनेवाला हुनुहुन्न ।

लिम्बुवानलाई हिजो त्यस्तै बेवास्ता गरिएको थियो, थिचियो । थरुहटलाई थिचियो, मधेसलाई थिचियो । दलितलाई दलित बनाइयो । अब पनि दलितहरु दलितै भएर रहने ? नयाँ प्रोग्राम खै ? राई लिम्बुहरुको भाषामाथि जुन अन्याय अत्याचार भयो, त्यो त्यत्तिकै रहने ? त्यसमा खोई त नयाँ विकल्प ? नयाँ प्रस्ताव खोई ? जस्तो- १० प्लस १ प्रदेशको कुरा आयो नि । यसलाई सम्वोधन हुनुपर्छ ।

अब यो भएन भने भोलि के हुन्छ, पेल्ने त पेल्ने नै होला, तर पनि केही त हुन्छ । हामी कमजोर भएर यो अगाडि बढेको हो । हामी लिम्बुवान, थरुहट, मधेस, जति पनि छौं, हामी नमिलेर मात्रै हो, तर हामी आशावादी छौं, अहिले अलि मिल्ने क्रममा छौं । र, जति सजिलो गरी पेलेर जान खोज्दै हुनुहुन्छ, त्यति सजिलो छ जस्तो लाग्दैन ।

लिम्बुवानमा मधेस र थरुहटको जस्तो स्थिति छैन । त्यहाँ जे पनि हुन्छ । किनभने वल्लो घर र पल्लो घर एउटै आँगन भएर बसिराखेका छौं । त्यसको म प्रेसिडेन्ट हुँ । मैले हरेक निर्णयहरु धेरैपटक सोचेर गर्छु । किनभने त्यहाँ एकचोटि केही भयो भने त सिद्धियो नि त । मधेसमा, थरुहटमा त एकखालमा मानिसहरु झ्याप्पै झ्याप्पै बसेका हुन्छौं । तर, पूर्वतिर, पहाडतिर विभिन्न खालमा मान्छे एउटै आँगन बनाएर बसेका छौं । त्यहाँ एकचोटिमात्रै ब्यालेन्स खुस्कियो भने त सिद्धियो नि । त्यसले गर्दा कमजोरजस्तो ठानिएको होला, तर त्यो होइन । हामी देशका बारेमा बहुत चिन्तित भएर अगाडि आएका छौं ।

अब संविधान संशोधन गरौं । भोलि गर्नैपर्ने भएकाले १० प्रदेश प्रान्त किन नगर्ने ? २०६ वटा हड्डी प्रकृतिले भाँचिदिएको छ र त हामी हिँड्न सकेका छौं । ओलीजीहरुले भनेजस्तै २०६ वटै हड्डी एकै ठाउँ प्याक भएर जाने हो हिँड्न सक्छौं । प्रत्येक पटक दुर्घटना भएर हड्डी भाँचिन्छ । भाँच्नुभन्दा पहिल्यै भँचाउने सिद्धान्त नै संघीयता हो । फुट्नु भन्दा पहिल्यै फुटाइयो भने कहाँनेर जोड्ने भन्ने पूर्वतयारी हुन्छ नि । त्यही हो संघीयता ।

आन्दोलनचाहिँ अवश्य हुन्छ है । आन्दोलन अवश्य हुन्छ । त्यति सजिलै अहिलेको स्थितिमा पेलेर जान्छन्, मलाई त्यस्तो लाग्दैन । यति पनि कुरा नबुझ्नेहरुले कसरी यो देशको नेतृत्व गरिरहेका छन्, मलाई अचम्म लाग्छ ।

बन्दुक बजारमा किन्न पाइन्छ
– विजयकान्त कर्ण, पूर्वराजदूत

केपी ओलीजीले चारबुँदे भारत सरकारलाई बुझाउनुभयो । हामी संविधान यसरी संशोधन गर्छौं भन्ने त्यही बुँदाहरु पछि क्याबिनेटबाट निर्णय गरेर मधेसी पार्टीहरुलाई पनि दिनुभो । हामी यो यो तरिकाले संविधान संशोधन गर्छौं र आन्दोलनरत दलहरुको मागलाई सम्वोधन गर्छौं । अहिले यसै गरी उल्टो बाटो हिँडेर जनताको आवाजलाई नसुन्ने हो भने हामीले आन्तरिक एकतालाई कसरी सुदृढ गर्छौं भन्ने प्रश्न गम्भीर छ ।

हामीले जुन संघीयता, समावेशिताका जुन कुराहरु गरेका छौं, तर यहाँ मधेसी जनता आन्तरिक उपनिवेशमा छन् । पहाडका शासकहरुबाट, २५० वर्षदेखि राजा र राणाहरुबाट र अहिले पार्टीहरुबाट त्यस्तो काम भइरहेको छ । त्यस्तो उपनिवेशबाट मक्ति खोजेको हो । यसलाई यसरी बुझियो भने शायद राम्रो होला । यदि उपनिवेशबाट मुक्ति दिइएन भने लिबरल फोर्सेजहरुलाई डेमोक्रेटिक तरिकाले अघि बढ्न दिइएन भने पृथकतावाद जन्मन्छ ।

डा. बाबुारम भट्टराईले ४० बुँदे माग लिएर सिंहदरबार जाँदाखेरिको घटना र त्यसपछि १० वर्षपछि फर्केर आउँदाखेरिको विषय सम्झाउन चाहन्छु । यो संविधान ‘जिरो सम गेम’ (शून्य परिणामको खेल) हुन सक्दैन । त्यसैले संविधानलाई मधेसी, आदिवासी जनजाति, दलित र महिलाहरुले पनि स्वीकार गरौं भन्नका लागि समानतालाई आधारभूत आधार बनाइएन भने यो संविधानलाई स्वीकार गर्ने अवस्था हुन सक्दैन ।

मधेसी जनतालाई केही व्यीक्तहरुले ४/५ जना मान्छे भन्छन् । ४/५ लाख पो मान्छेहरु ६/६ महिनासम्म सडकमा आएका हुन् । नेपाल इतिहासमा मधेसले गरेको आन्दोलनजस्तो आजसम्म भएकै छैन । राजा ज्ञानेन्द्रले सत्ता हातमा लिँदाखेरि रत्नपार्कमा २/४ सय मान्छे, कार्यकर्ता जम्मा गरेर नेकपा एमाले र कांग्रेसको जुलुस मैले ममफुली आन्दोलन देखेकै हो । नेकपा माओवादी त्यो बेलामा आन्दोलनमा नआएको भए राजा ज्ञानेन्द्रले नै शासन गरिरहन्थे कि भन्ने मलाई लाग्छ । अर्काको आन्दोल न चाहिँ ४/५ जनाको, आफ्नो आन्दोलनचाहिँ धेरै ठूलो ? मैले ममफुली आन्दोलन महिनादिनसम्म चलेको देखेको छु । त्यसपछि राजाको शासनमा गएका पार्टीहरु पनि देखेको छु ।

टीकापुर घटनाको कुरो यहाँ चल्यो । टीकापुरमा म एउटा वक्ता थिएँ । म यहाँहरुलाई जानकारी गराउँछु, त्यहाँ कसैले पनि पहाडेहरुको घरमा आतंक गर, आक्रमण गरेर भनेका थिएनन् । त्यहाँ थारुहरु आफ्नो अधिकारका लागि जम्मा हुँदाखेरि शासकहरु साह्रै चिन्तित भएका थिए । र, त्यहाँ एउटा नाटक गरेर प्रहरीहरुको आफैंले हत्या गराए । आजको दिनमा २ हजार थारुहरु भारतमा गएर बस्नुुपरेको अवस्था छ । त्यहाँ प्रहरीमाथि हिंसा भयो भन्ने राजनीतिक दलहरुले आफैं ०४६ सालमा कालीमाटी र टेकुमा प्रहरीको हत्या गर्नेमाथि आजसम्म मुद्दा चलेकै छैन । ५७ जना थारुमाथि मुद्दा चलाउने, तर एमाले र कांग्रेसका नेताले कालीमाटी र टेकुमा प्रहरीको हत्या गर्दा मुद्दा किन नचलेको ?

लोकतन्त्रमा यदि लोकतान्त्रिक तरिकाले जनतालाई अधिकार दिनुभएन भने जनताले अर्कोबाटो लिन्छ । हत्या गर्ने खाली प्रहरीसँग मात्रै बन्दुक छ भन्ने होइन, बन्दुक बजारमा पनि पाइन्छ । मैले झिँगा मारें होला, मैले त्यस्तो काम गरेको छैन । म त्यसको समर्थक पनि होइन । तर, ती गर्नेहरुलाई रोक्न सक्ने म क्षमता पनि राख्दिनँ ।

नेताहरुले जनताको आन्दोलनलाई माखे आन्दोलन भन्ने, बिहार र युपी जाउ भन्ने, आफ्नै मान्छेलाई ४/५ जनाको आन्दोलन भन्ने र भर्खर नागरिकता लिएकाहरु भन्ने ?

बैरगनियाँ भन्दा २० किलोमिटर पश्चिममा जन्मेका माधव नेपाल कसरी नेपालका नागरिक भए ? भारतको बिहारमा जन्मेकाहरु, बिहारमा घर भएकाहरु, हिजोका दिनमा युपी बिहारमा रहेका मान्छेहरु यहाँ आएर आफूलाई यहाँको पुस्तौनी भन्ने ? यहाँका शासक भयौं भन्ने ? र, मधेसमा वर्षौंदेखि बसिरहेका मधेसीलाई चाहिँ विदेशी देख्ने ? यो चश्मा उतारिएन भने म एउटा कुरो यहाँहरुलाई बताइदिन्छु- मधेसी जनता अहिले जुन किसिमको अवस्थामा पुगिरहेका छन्, मधेसी जनताले माखे साङ्लो देख्नेहरुलाई जवाफ दिने हेक्का राख्छन् । त्यसैले समावेशी आधारमा संविधानको संशोधन गरेर मधेसीहरुलाई, जनजातिहरुलाई समान अधिकार नदिइकन चुनाव गरियो भने, बझियोस् ज्ञानेन्द्रले चुनाव गरेका थिए, वीरेन्द्रले चुनाव गरेका थिए । यस्ता चुनावहरु हामीले धेरै देखेका छौं । चुनाव गर्दै जानोस्, त्यसको परिणामका लागि तयार रहनुहोला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment