Comments Add Comment

१० लाख मूल्य बराबरको सुकुमेल चोरीमा संलग्न तीनजना पक्राउ


१७ फागुन, विराटनगर । झण्डै साढे १० लाख मूल्य बराबरको सुकुमेल चोरीमा संलग्न तीन जनालाई मोरङ प्रहरीले पक्राउ गरी सार्बजनिक गरेको छ ।

यही फागुन १४ गते मध्यराती हेमकरण दुगडको विराटनगर- १८ स्थित सिद्धासिद्धी इन्टरप्राइजेज र अर्यन्त मंगलम इन्टरप्राइजेजको सामान राखेको श्रीयान्स इन्टरनेशनल प्रा.लि.को गोदामबाट ४० किलोग्रामका २७ कार्टुन अर्थात् १ हजार ८० किलोग्राम सुकुमेल चोरी भएको थियो ।

चोरी भएको सुकुमेलसहित प्रहरीले विराटनगर २२ का ५१ वर्षीय अस्लाम मियाँ, ४६ वर्षीय फिरोज आलम र ५० वर्षीय सकुल मियाँलाई पक्राउ गरी सोमबार सार्बजनिक गरेको हो । इलाका प्रहरी कार्यालय रानीले पत्रकार सम्मेलन गरी उनीहरुबाट बरामद १० लाख २६ हजार मूल्य बराबरको सुकुमेल समेत सार्वजनिक गरेको छ ।

प्रहरीले खोजतलासका क्रममा उनीहरुकै घरलगायत विभिन्न स्थानबाट सुकुमेल बरामद भएको जनाएको छ ।

मिलेमतोमा चोरी

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक सन्दिप भण्डारीका अनुसार हतियार देखाई लुटिएको उजुरी परेपनि घटनाको प्रारम्भिक अनुसन्धानबाट मिलेमतोमा चोरी भएको पाइएको छ ।

पक्राउ परेकाहरुमाथिको अनुसन्धानका क्रममा यसमा अन्य मानिसहरुको समेत संलग्नता रहेको पाइएको उपरीक्षक भण्डारीले बताए । उनले चोरीमा संलग्नहरुको पहिचान भइसकेकाले उनीहरुलाई पनि चाँडै प्रहरीले नियन्त्रणमा लिन सफल हुने बताए ।

चोरीमा महिलाहरुको समेत संलग्नता देखिएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment