Comments Add Comment

अष्ट्रेलियामा हिमाली मन

सिड्नी । अष्ट्रेलियामा भएको नेपाली समुदायले आफ्नो सँस्कृति, रिती रिवाज जिउँदो राखेको छ । यहाँ आइपुगेका नेपाली जनजातीले आफ्नो सँस्कृति, परम्परा र नाचगानलाई जोगाएका छन् ।

गत शनिबार मनाइएको शेर्पा ल्होसारमा यस्तै एक साँस्कृतिक जमघट थियो जहाँ सिड्नीबाट निकै टाढा बसोबास गर्ने शेर्पा समुदायका वृद्धवृद्धाहरु पनि आइपुगेका थिए । अष्ट्रेलियामा भएका करिब दुई सय परिवार नेपाली शेर्पा कार्यक्रममा पुगे । अष्ट्रेलियामै हुर्केका शेर्पा युवा युवती शेर्पा लोकलयमा नाँचेनन् मात्रै शेर्पा पोशाकको सुन्दर समायोजन पनि गरे ।

कार्यक्रमको मञ्चको सिरानमा गौतम बुद्धको मूर्ति सजाएर राखिएको थियो । अष्ट्रेलियाको पहिलो भित्री बस्ती गोल्वनबाट आइपुगेका तिब्बती मूलका अष्ट्रेलियन धर्मगुरुले त्यहाँ पूजापाठ गरे ।

उक्त दिनको विशेष शेर्पा साँस्कृतिक समारोहमा उपस्थित भएका दोलखाको जिरी गाउँ विकास समितिका पूर्वअध्यक्ष नोर्बु शेर्पाले अनलाइनखबरसँग भने, ‘अष्ट्रेलियामा आएर संघर्ष गर्दै स्थापित हुनै गाह्रो छ । यहाँ त स्थापित भएर आफ्नो चाडबाड मनाउनु गर्वको कुरा हो ।’ उनले सात समुद्रपारी आएर पनि आफ्नो सँस्कृति, चाडबाड मनाउन पाउँदा आफूलाई भाग्यमानी सम्झिन्छन् ।

अष्ट्रेलियाको हिमाली भेग, स्नोई माउन्टेनभन्दा पर बस्ने वोङचु शेर्पा उमेरले साठी कटे । तर, उनमा आफ्नो सँस्कृति, नाँचगाचप्रतिको रुची झन् ताजा छ । सिड्नीबाट घण्टौं टाढाको हिमाली भेगबाट उनी ल्होसार मनाउन एक हप्ताको विदा लिएर आए । ल्होसारको औपचारिक कार्यक्रमका दिन सबैभन्दा बढी नाच्नेमा उनै थिए ।

यो कार्यक्रममा मुख्य वक्ता अरुण तामाङ थिए । उनले शुभकामना दिँदै आफ्नो सँस्कृति बचाउन लाग्नुपर्ने बताए ।

त्यस्तै अर्का जनजाती नेता गणेश तामाङले नेपालमा आदिवासी जनजातीको पहिचान मेटिने खतरा बढेकाले झन् सतर्क हुनुपर्ने बिचार राखे ।

कार्यक्रममा नेपालको पूर्वीउत्तर भेगको लिम्बुवानका चित्र तुम्बाहाम्फे, पश्चिम नेपालको थाकका सुदीप गौचन र तमुवानका लक्ष्मण गुरुङ पनि यो हिमाली चाड मनाउन आइपुगे ।

२०४६ सालमा नेपालमा जनआन्दोलन चलिरहँदा समुद्र सतहदेखि सगरमाथासम्म पैदलमार्च गरेका तेन्जिङ शेर्पा त्यतिबेला नै अष्ट्रेलियन पर्यटकको संगतमा थिए । उनी सगरमाथाको टुप्पोमा पुगेका छैनन् तर आठ हजार मिटरलाई पैतला मुनि बनाएका छन् । उनी सिड्नीमा हरेक वर्ष मनाइने शेर्पा पर्वमा निकै रमाउँछन् । भन्छन्, ‘यो हाम्रो जीवन हो ।’

कार्यक्रमको व्यवस्थापनमा लागेका छिरिङ शेर्पा अर्को आयोजना गरिने ल्होसारका लागि लावा नियुक्त भएका छन् । उनीसँगै फुरी शेर्पा, तेन्जी शेर्पा, सोनाम शेर्पा पनि लावा बनाइएका छन् । उनीहरुको जिम्मेवारी अर्को वर्ष भव्यतापूर्वक ल्होसार मनाउनु हो ।

शेर्पा केदुङ अष्ट्रेलियाका अध्यक्ष न्वाङ शेर्पाले आफ्नो मौलिक सँस्कृति बचाउन सबै जुटेकोमा धन्यवाद दिए । यो वर्ष हिमाली शेर्पा पोशाकमा उत्कृष्ट पुरुष लाक्पा शेर्पा र महिला डोल्मा शेर्पालाई सम्मानित गरियो ।

अष्ट्रेलियामा हिमाली मनको प्रिय चाड ल्होसारका सबै कार्यक्रमहरु यो वर्ष समापन भएका छन् । अर्को वर्ष फेरि सिड्नी रमाउने छ शेर्पा, तमु, तामाङ आ-आफ्नौ ल्होसारमा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment