Comments Add Comment

नेपाल भर्सेस केन्याः सुनिल धमलाको डेब्यू पक्का, पारसबारे भोलि नै निर्णय

२७ फागुन, काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा शनिबार नेपालले केन्याविरुद्ध मैदान उत्रिँदा सुनिल धमलाले राष्ट्रिय टोलीबाट डेब्यू गर्नेछन् । तर, कप्तान पारस खड्का खेल्ने नखेल्ने अझै अनिश्चित छ ।

पारस खेल्ने नखेल्ने अन्यौल रहेकै बेला नेपाली टोलीका अर्का सदस्य करण केसी पनि अस्पताल भर्ना भएका छन् र, उनले दुबै खेल गुमाउने छन् ।

नेपाल र केन्याको खेल विहान साढे ९ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ । तर, पानीको डर छ ।

शुक्रबार नेपाली टोलीले अन्तिम अभ्यास गरेपनि केन्याली टोलीको अभ्यास पानीले प्रभावित भएको छ । मध्यान्ह साढे १२ बजेतिर उनीहरु मैदान पुग्नासाथ पानी परेको थियो ।

नेपाली टोली घरेलु मैदानको भरपुर फाइदा लिँदै सुखद सुरुवात गर्न आतुर देखिएको छ ।

तर, दुबै टोलीले एकअर्कालाई कमजोर नआँक्ने र जितका लागि खेल्ने बताएका छन् ।

नेपाली टोलीका कप्तान पारस खड्काले शुक्रबार भने, केन्यालाई जति महत्वपूर्ण छ, हामीलाई पनि छ, हामीले यसलाई सहज रुपमा लिएका छैनौं ।’

केन्याली टोलीका कप्तानले पनि नेपाल सहज प्रतिद्वन्द्वी नभएको बताए । यद्यपि घरेलु दर्शकको सामू खेल्नु नेपालका लागि जति सुदख छ, त्यति नै दबाव हुने भन्दै उनले भने, हामी दबावसहित रुपमा खेल्छौं ।’

पारसबारे भोलि नै निर्णय

झण्डै तीन साता अघि मात्र एपेन्डिक्सको शल्यक्रिया गरेका कारण कप्तान पारसले अझै फिट भइसकेका छैनन् । उनले केही दिनदेखि अध्यास गरिरहेका छन् ।

तर, शनिबार खेल्ने नखेल्ने अझै निश्चित भइसकेको छैन । शुक्रबारको अभ्यासपछि उनले भने, मलाई त खेल्न मन छ । तर, सम्भवत भोलि निर्णय लिन्छौं ।’

राष्ट्रिय टोलीका प्रशिक्षक जगट टमाटाले पारस मानसिक रुपमा फिट रहेको बताए । यदि पारस नखेले विकल्पमा कसलाई खेलाउने योजना रहेको उनले बताए ।

तर, कप्तान पारसको अनुपस्थितिले नेपालको सिंगो टिम केही दबावमा पर्ने त त छँदैछ, मिडिल अडरको ब्याटिङमा पनि समस्या आउनसक्छ ।

सुनिलको डेब्यू निश्चित

केन्याविरुद्ध मैदान उत्रँदा नेपाली टोलीबाट सुनिल धमलाले डेब्यू गर्ने लगभग पक्का छ । उनले उपकप्तान ज्ञानेन्द्र मल्लसँग ओपनिङ गर्नेछन् । यू-१९ क्रिकेटबाट आएका उनी पछिल्लो समय निकै लयमा देखिएका छन् ।

शुक्रबारको प्रशिक्षणपछि प्रशिक्षक टमाटाले पनि केन्याविरुद्ध सुनिल खेल्ने संकेत गरे ।

यस्तै अलराउण्डर मेहबुब आलम पनि सम्भवत केन्याविरुद्ध मैदान उत्रिनेछन् । उनी दुई वर्षपछि उनी टोलीमा परेका छन् । प्रशिक्षक टमाटाले भने, उनले जुन प्रदर्शन गरेका छन्, त्यसलाई हेरेरै टिममा ल्याइएको हो । लोअर मिडिल अडरमा उनको रोल छ र, उनको बलमा स्वीङ पनि छ ।’

लोअर अडरमा टमाटासँग विनोद भण्डारी र मेहबुबसँगै दिपेन्द्र सिंह ऐरी विकल्प छन् । दिपेन्द्र यू-१९ र राष्ट्रिय प्रतियोगिताहरुमा आक्रमक ब्याटिङ गर्दै राष्ट्रिय टोलीमा परेका छन् र, डेब्यूको पर्खाइमा छन् ।

करण अस्पताल भर्ना, शनिबार नखेल्ने

केन्यासँगको खेलको अघिल्लो दिन नेपाली टोलीका बलर करण केसी अस्पताल भर्ना भएका छन् ।

पेट दुख्नुका साथै वान्ता भएपछि उनलाई बल्खुस्थितत बयोधा अस्पताल भर्ना गरिएको छ । उनलाई एपेन्डिक्स भएको छ र, तत्काल अपरेशन गर्नुपर्छ ।

अब उनले केन्याविरुद्धको दुबै खेल गुमाउनेछन् । उनको स्थानमा बैकल्पिक टोलीमा रहेका कसलाई खेलाउने भन्ने तय भइनसकेको बताइएको छ । सम्भवत अविनाश कर्णलाई टिममा ल्याइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment