Comments Add Comment

एसएलसीको सट्टा हुने माध्यमिक शिक्षा परीक्षा चैत ३ बाट (तालिकासहित)

५ लाख ३८ हजार १८२ परीक्षार्थी सहभागी हुने

३० फागुन, काठमाडौं । एसएलसी परीक्षा प्रणाली हटेपछि पहिलो पटक हुन लागेको माद्यमिक शिक्षा परीक्षा यसपटक आगामी चैत ३ गते बिहीबारबाट सुरु हुँदैछ ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले सोमबार पत्रकार सम्मेलन गरेर माद्यमिक शिक्षा परीक्षाको कार्यतालिका सार्वजनिक गरेको हो । कक्षा १२ को परीक्षाको नाम एसएलसी हुने गरी शिक्षा ऐनमा संशोधन भएपछि यस वर्षदेखि कक्षा १० सम्मलाई माद्यमिक शिक्षा परीक्षाको रुपमा लिन सुरु गरिएको हो ।

परीक्षा विहान ८ बजेबाट ११ बजेसम्म सञ्चालन हुनेछ । पहिलो दिन चैत ३ गते बिहीबार अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । त्यसैगरी चैत ४ गते अनिवार्य नेपाली, चैत ६ गते अनिवार्य गणित, चैत ७ गते अनिवार्य विज्ञान, चैत ८ गते स्वास्थ्य जनसंख्या तथा वातावरण शिक्षा, चैत ९ गते संस्कृततर्फ अनिवार्य संस्कृत भाषा, चैत १० गते ऐच्छिक गणितको परीक्षा संचालन हुनेछ ।

विभिन्न प्राविधिक विषयसमेत गरी चैत १४ गतेसम्म परीक्षा सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले जनाएको छ ।

परीक्षा नियन्त्रक अम्विकाप्रसाद रेग्मीले परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएकी हुन् । उनले परीक्षाका लागि आवश्यक प्रश्न पत्र, उत्तरपुस्तिका, लगायत परीक्षा सञ्चालनका लागि आवश्यक सम्पूर्ण सामग्री सम्बन्धित जिल्लामा पुर्‍याइसकिएको समेत जानकारी दिइन् ।

यस वर्षको परीक्षामा ५ लाख ३८ हजार १ सय ८२ जना परीक्षार्थी परीक्षामा सहभागी हुनेछन् । परीक्षाका लागि १ हजार ९ सय २३ केन्द्रको व्यवस्था गरिएको छ । परीक्षा नियन्त्रक रेग्मीले परीक्षाका लागि १ हजार ९ सय २३ जना केन्द्राध्यक्ष, २ हजार ६ सय ४६ सहायक केन्द्राध्यक्ष, २२ हजार ४ सय ६१ निरीक्षक, ११ हजार ७ सय १६ सहयोगी र २८ हजार ८ सय ४५ जना सुरक्षाकर्मी गरी ६७ हजार ५ सय ९१ जना जनशक्ति परिचालन हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment