Comments Add Comment

संशोधन प्रस्ताव पेश भए सरकारको समर्थन फिर्ताः कमल थापा

'शुभचिन्तकले भने- ७ दिन पर्खिएको भए प्रधानमन्त्री हुने अवसर आउने थियो'

३० फागुन, काठमाडौं । उपप्रधान एवम् स्थानीय विकासमन्त्री कमल थापाले संविधान संशोधन प्रस्ताव संसदमा निर्णयार्थ पेश भए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका छन् ।

उनले संशोधन प्रस्तावको पक्षमा आफ्नो पार्टी नरहेको दोहोर्‍याए ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै थापाले भने, ‘हाम्रो पार्टी संशोधन प्रस्तावको विपक्षमा छ । यो प्रस्तावलाई पारित गराउनको लागि सरकारले सदनमा निर्णयार्थ पेश गर्‍यो भने हामी त्यतिखेर सरकारबाट बाहिरिएर, सबै मन्त्रीहरुले राजिनामा दिएर प्रस्तावको विपक्षमा मतदान गर्छौं ।’

राप्रपाका अध्यक्ष समेत रहेका मन्त्री थापाले आफ्नो पार्टीको संविधान संशोधन प्रस्तावबारे पूर्ववर्ती अडानमा कुनैपनि परिवर्तन नभएको जिकिर गर्दै भने, ‘प्रस्तावबारे पहिला जे अडान थियो, अहिलेपनि त्यही छ ।’

मधेस केन्द्रित दलहरुको माग पूरा गर्नको लागि आफू मन्त्री भएको दिनदेखि नै वार्ता तथा छलफललाई अघि बढाइसकेको दाबी समेत थापाले गरे । ‘म मन्त्री भएको दुई दिन भयो, तर मैले मन्त्री भएकै दिनदेखि मधेश केन्दि्रत दलहरुको माग पूरा गर्नको लागि विशेष तयारी गरिसकेको छु, उहाँहरुसँगको छलफल तथा वार्तालाई तिव्रता दिएको छु,’ उनले भने ।

‘शुभचिन्तकले भने- प्रधानमन्त्री हुने अवसर आउने थियो’

उनले आफूहरु चुनावको सुनिश्चितताको लागि मात्रै सरकारमा सहभागी भएको स्पष्ट पारे । प्रधानमन्त्री प्रचण्डको विशेष आग्रहमा आफू सरकारमा गएको उनले दाबी गरे ।

‘पुष्पकमल दाहाल प्रचण्डजी प्रधानमन्त्री भएदेखि नै हामीलाई सरकारमा आउन आग्रह गर्नु भएको थियो, तर हामीले अहिले आवश्यक छैन भनेर भनेको थियौं,’ उनले भने, ‘अहिले सरकारको स्थायित्वमाथि गम्भिर प्रश्न चिन्ह खडा भएकाले र चुनावको सुनिश्चितता र संविधान कार्यान्वयनको लागि हामी सरकारमा सहभागी भएका हौं ।’

मन्त्री थापाले आफूलाई शुभचिन्तकहरुले ७ दिनमात्रै पर्खिएको भए प्रधानमन्त्री हुने अवसर आउने थियो भनेरसमेत भनेको जानकारी पनि दिए । तर, आफूलाई सत्ताको लोभ नभएको जिकिर गर्दै उनले आफूहरुको सहभागिताले प्रचण्ड सरकारलाई नैतिक बल पुगेको विश्वास व्यक्त गरे ।

मधेशी मोर्चालाई भर्‍याङ बनाएर तपाई सत्ता पुग्नुभयो भन्ने आरोप छ नि भन्ने पत्रकारको जिज्ञासामा थापाले भने, ‘यो विल्कुल गलत कुरा हो, यो सरकारको स्थायित्वमा प्रश्न चिन्ह आउने भएकोले राप्रपा बाध्य भएर सरकारमा सहभागी भएको हो ।’

थापाले अब बैशाख ३१ गते नै निर्वाचन हुनेमा कसैले पनि कुनै शंका तथा उपशंका गर्न नहुने बताए । उनले लामो समयपछि स्थानीय तहको निर्वाचन हुन गैरहेकाले आन्दोलनरत मधेस केन्द्रित दलहरुलाई पनि चुनावमा सहभागि गराउनुपर्ने बताए । त्यस्तै उनले निर्वाचन आयोगले दिएको निर्देशन बमोजिम तोकिएकै मितिभित्र कर्मचारी खटनपटन मन्त्रालयले गर्ने बताए ।

राप्रपा संघीयता विरोधी भए पनि संघीय मामिला तथा स्थानिय विकास मन्त्री किन बनेको भनेर पत्रकारले सोधेको प्रश्नमा थापाले मुलुकमा संघीयता अघि बढिसकेकाले  अब यसलाई फर्काउन नसकिने प्रतिक्रिया दिए । संघीयतामा मुलुक अघि बढिसकेकाले अब आफूहरु चुप लागेर बस्न नसक्ने बताउँदै उनले भने, ‘कमण्डलु बोकेर पशुपतिमा जाने कुरा त आउँदैन नि, राजनीति त गर्नैपर्‍यो नि ।’

उनले राप्रपा कुनै पनि हालतमा नफुट्ने जिकिरसमेत गरे । ‘यो पार्टी अब कसैले चाहेर पनि फुटाउन र टुटाउन सक्दैन । पार्टी एक ढिक्का भएर अघि बढ्छ । डा. प्रकाशचन्द्र लोहनीले हिजो यहीँ रिपोर्टर्स क्लब नेपालबाट पार्टी परित्याग गरेको घोषणालाई मैले त्यति महत्व दिएको छैन ।’

उनले भने, ‘तर लोहनीले पार्टी परित्याग गरेको खबरले मलाई दुःखी तुल्याएको छ । उहाँहरुले ठीक ढंगले बुझ्न सक्नुभएन ।’

उनले डा. लोहनीले आफूमाथि लगाएका सबै आरोपहरु कपोकल्पित, असत्य र निराधार भएको स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment